मुख्य समाचार :


गोर्खाल्याण्डको ‘वान् पोइण्ट’ एजेण्डा लिएर युवा मोर्चाले जुलूस निकाल्ने

 कालेबुङ, २ दिसम्बर|
गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरिसकेको छ| युवा मोर्चाले शुरू गर्ने आन्दोलनलाई विपक्षी खेमाबाट  शंकाको दष्टिले हेरिए पनि आन्दोलनमा 'गोर्खाल्याण्ड राज्य' जोडिएकोले प्रायः सबैले नै आन्दोलनलााई समर्थन जनाएको छ| गोर्खाल्याण्डलाई पार लगाउने जिम्मेवारी अब युवा मोर्चाले लिएको छ| फलस्वरूप दार्जीलिङ पहाडमा अहिले युवा मोर्चा धेरै सक्रिय देखिन थालेको छ| मयावतीको सरकारले उत्तर प्रदेशलाई अवध प्रदेश, पूर्वाञ्चल, पश्‍चिमाञ्चल अनि बुन्देलखण्ड गरी चारवटा राज्यमा विभाजन गरिने प्रस्ताव विधानसभामा पारित गरेपछि नै यता दार्जीलिङको युवा मोचालाई फेरि तताउने काम भएको हो| छुट्टै राज्य गोर्खाल्याण्डको वान् पोइण्ट एजेण्डा लिएर ११ दिसम्बरमा युवा मोर्चा महकुमा समितिले कालेबुङमा जुलूस निकाल्ने भएकोे छ| ४ दिसम्बरमा युुवा मोर्चाले प्रत्येक जोन, शाखा, प्रशाखा अनि वार्डका प्रतिनिधिहरूसँग बैठक पनि गर्ने भएको छ| आज पनि युवा मोर्चाले कालेबुङका २३ जना नगरपार्षदहरूसँग पार्टी कार्यलयमा बैठक गर्‍यो| युवा मोर्चाले नगरपार्षदहरूसँगको आजको बैठकलाई घरेलु बैठक बताएको छ|
यद्यपि युवा मोर्चा महकुमा समितिका प्रचार-प्रसार सचिव विनिय घिसिङले युवा मोर्चाको आन्दोलनबारे पनि नगरपार्षदहरूलाई अवगत गराएको बताएका छन्| ११ दिसम्बरमा कालेबुङ नगरमा युवा मोर्चाको अगुवाइमा निकालिने जुलूसमा अन्य मोर्चा समर्थकहरूले पनि समर्थन जनाउने तामङले बताए| अबको गोर्खाल्याण्ड आन्दोलनलाई युवा मोर्चाले नेतृत्व दिने भएको छ| युवाहरूको विचारधारा, कार्यप्रणाली अनि आन्दोलनको रूपरेखाले नै गोर्खाल्याण्डको मागलाई कहॉंसम्म पुर्‍याउने हो भन्ने कुरा तय गर्छ|  गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति आफैले गोर्खाल्याण्डको आन्दोलन नगरेर युवाहरूलाई आन्दोलनको बागडोर सुम्पिनुले अहिले जनसाधरणले मोर्चाभित्रै थुप्रै शंकाहरू गर्न थालेका छन्| एकातिर विधानसभा चुनाउको लगत्तैपछि १८ सितम्बरमा जीटीएको निम्ति त्रिपक्षीय सम्झौता भयो| देशमा छुट्टै राज्य बनिने परिस्थिति नभएकै कारण जीटीएकै माध्यमबाट राज्य हुने मोर्चाले घारणा व्यक्त गरिरहेको भएपनि अहिले मायावतीको निर्णयले मोर्चालाई दोधारमा पारेको राजनैतिक पर्यवेक्षकहरू ठान्छन्| एकातिर विस्तारै देशमा छुट्टै राज्यहरू हुनसक्ने सम्भावनाहरू अघि आइरहेको छ भने जीटीएको हस्ताक्षरपछि मोर्चा विपक्षीहरूको आलोचनाको शिकार बन्न थालेको छ| भागोपले गोर्खालीग, क्रामाकपा, गोरानिमो अनि गोरामुमो सीलाई लिएर गोर्खाल्याण्ड टास्क फोर्स गठन गरिसकेको छ भने चॉंडै दिल्लीबाट राष्ट्रियव्यापी कार्यक्रम गर्ने पनि घोषणा गरिसकेको छ| यस्तो अवस्थामा मोर्चाले आफै आन्दोलन नगरेर युवा मोर्चालाई आन्दोलन गर्न लगाएको हो अथवा मोर्चाकै निर्देशनमा आन्दोलन भएको हो सो अझसम्म स्पष्ट नभएपनि युवा मोर्चाको आन्दोलनले जीटीए, जीएण्डएटीए, छैटौं अनुसची, युटी आदिलाई पछि राखेर अघि बढ्ने हो होइन सबैको नजर युवा मोर्चाको आन्दोलनमा नै आएर थामिएको छ| तर युवा मोर्चाको आन्दोलनलाई भने जनसाधरणले झट्ट विश्‍वास गर्न सकिरहेको छैन| किन भने मोर्चाको केन्द्रिय समितिले अहिलेसम्म पनि जीटीएकै वकालत गरिरहेको छ|  मायावतीको निर्णयपछि राजनैतिक परिस्थिति नै परिवर्तित हुँदै गइरहेकोले जनताको चाप अनि विपक्षको आलोचनाकै कारण छुट्टैराज्यको मुद्दा मोर्चालाई उठाउन कर लागेको तर आफूले भने जीटीएमा कुरा ठामठिम मिलाएकोले युवा मोर्चालाई अघि लगाएको मात्र त होइन भन्ने शंका मोर्चामाथि व्यापक छ|


0 comments: on "गोर्खाल्याण्डको ‘वान् पोइण्ट’ एजेण्डा लिएर युवा मोर्चाले जुलूस निकाल्ने"