मुख्य समाचार :


मानव तस्करीको जञ्जाल व्यापकरुपले फैलिएको आशंका


बाघको मुखबाट फुत्किइन् कालेबुङकी द्रौपदी

मनोज वोगटी
कालेबुङ, ३० नोभेम्बर|
जब मैले आफूलाई पूर्णरुपले होस्मा पाएँ, त्यसबेला आफूलाई नै दिल्लीमा पाएँ| सिलगढी गएकी म कसरी दिल्लीमा पुगें, किन मलाई दिल्ली लगियो यदि दिल्लीको ती दिदीहरूले नखुलाएकी भए, म कहॉं बेचिन्थें-यसो भनिन् एक चेलीबेटी बेचविखन गर्ने एजेन्टको प्रचेष्टा दिल्लीमा विफल पारेर कालेबुङ फर्किएकी द्रौपदी(कल्पित नाम)ले| कालेबुङको एक दुर्गम स्थानकी द्रौपदी १३ नोभेम्बरको दिन सिलगढी झरेकी थिइन् तर तिनले आफूलाई १५ नोभेम्बरको दिन दिल्लीमा पाइन्| दिल्लीमा नै तिनले थाहा पाइन्, तिनलाई दिल्ली बेच्न  लगिएको थियो| यो कुरा एजेन्ट कै स्वास्नी अनि एजेन्टकै घरमा बसेकी एक अर्की महिलाले द्रौपदीलाई नबताएकी भए द्रौपदी आफ्नो घर आइपुग्ने थिइनन्| डुवर्सकी सामाजिक कार्यकर्ता राजु नेपालीको साथमा हिजो बेलुकी कालेबुङ आइपुगेकी द्रौपदीले आफू बेचिनबाट जोगिएको कथा खोलिन्|

तिनले पत्रकारहरूसित भनिन्, राजा चौधरी नामक व्यक्ति गाउँमा आइरहन्थे| तिनी कुनै बोर्डको शिक्षक रहेको सुनाउँथे| गाउँमा वेरोजगारहरूलाई रोजगार दिने अनि अशिक्षितहरूलाई शिक्षित बनाउने काम गरिरहेको बताउँथे| मलाई एचएस गर्नु थियो| तिनै मान्छेले मलाई ओपनबाट एचएस गर्न सक्ने सुझाव मात्र दिएनन्, आफूले यसबारे काम गरिरहेको पनि बताए| यस अघि केही युवाहरूलाई पनि तिनले ओपनबाट नै परीक्षा गराएका थिए| तिनले गाउँमा नै एउटा स्कूल पनि खोलेका थिए तर १५ दिनमा नै स्कूल बन्द गरियो| गाउँलेहरूले विभिन्न आरोप लगाएकोले स्कूल बन्द गरिदिएको तिनले बताएका थिए| मलाई एचएसको निम्ति आवश्यक कागजपत्र बनाउन सिलगढी बोलाए| सिलगढी झरें र तिनलाई भेटें| भोक लागेकोले खाने कुरा खाएँ| तिनले कोकोकोला खुवाए| त्यसपछि मलाई राम्ररी केही थाहा  छैन|

दिल्लीमा नै मेरो राम्ररी होस् खोेलियो| तिनले के पनि बताइन् भने तिनलाई कहॉं जॉंदैछु भन्ने कुरा थाहा थिएन तर तिनलाई रेलमा चढेको थाहा छ अनि रेलमा कोहीसित बात गरेको पनि थाहा छ तर के बात गरियो, किन रेलमा चडियो त्यो थाहा छैन| तिनले भनिन्, म केटाकेटी जस्तै भएको थिएँ| दिल्ली पुगेर मलाई चौधरीले एउटा घरमा लगे| मलाई दुइजना महिलाहरूसित सुताइयो| २४ घण्टापछि मात्र मलाई आफू दिल्लीमा रहेको थाहा भयो| जब म महिलाहरूसित सुतें तब मलाई ती महिलाहरूले राजा चौधरीको उद्देश्य ठीक नरहेको अनि आफूहरू पनि ठगिएको बताइन् अनि मलाई 'भाग' भन्न थालिन तब मैले नआत्तिइ योजना बनाए-तिनले भनिन्| तिनी अनुसार दुइ महिलामा एकले तिनलाई चौधरीको स्वास्नी भनेर बताएकी थिइन् अनि अर्को तिनको घरमा किरायामा बस्ने| जुनदिन द्रौपदीलाई दिल्ली पुर्‍याइयो  तब राजा चौधरी मातेर लट्टु थिए| दिल्ली रेलवे स्टेशनदेखि घर पुग्दासमेत राजा चौधरी र तिनको स्वस्नीबीच झगडा भयो| दुइ महिला उनीहरूलाई लिन स्टेशन पुगेकी थिइन्|

त्यो झगडा विहानीपखसम्म चल्यो| झगडा के को निम्ति भइरहेको छ भन्ने कुरा द्रौपदीलाई थाहा थिएन| राजा चौधरीलाई कोठामा थुनेर सुताएर ओछ्यानमा फर्किएकी किरायामा बस्ने महिला अनि राजाकी स्वास्नीले द्रौपदीलाई 'किन दिल्ली आएको?' भनेर सोधिन्| त्यसबेला द्रौपदी छॉंगाबाट खसिन्| राजाको उद्देश्य ठीक नरहेको अनि आफूलाई पनि यसरी नै झुक्काएर बिहे गरेर दिल्लीमा राखेको खुलाएपछि त्यसबेला नै द्रौपदीलाई राजासित कुराकानी गर्न मुनासिव लागेन| त्यतिबेला नै पुलिस बोलाउने धम्की द्रौैपदीले दिइन् तर दुइ महिलाले घरमा त्यसो नगरीदिने अनि बाहिर नै पुलिस बोलाएर पक्राउ गर्ने सुझाव दिएपछि द्रौपदीले महिलालाई घरको फोन नम्बर दिएर बिहान आफूहरूलाई 'फलो' गर्ने निर्देश दिइन्| विहान राजालाई 'म घर फर्किन्छु' भनेर रोइकराइ गरेपछि राजाले तिनलाई सिलगढी पुर्‍याइदिन रेलवे स्टेशन पुर्‍यायो| जुन प्लेटफार्म पुर्‍याइयो त्यहॉंबाट सिलगडीको रेल लाग्दैन थियो| जब रेलवे स्टेशन उनीहरू पुगे तब महिलाहरूले द्रौपदीको घरमा फोन गरिदिए|

द्रौपदीले बताए अनुसार तिनी केहीसमय दिल्ली बसेर फर्किएकी हुन् अनि तिनको दाजु भाउजु दिल्लीमा नै थिए| घरको परिवारले दाजु भाउजुलाई बहिनी स्टेशनमा त्यो अवस्थामा पुगेको कुरा फोनबाट बताएपछि दाजु-भाउजु पुलिस लिएर स्टोशन पुगे अनि दिल्ली पुलिसले राजा चौधरीलाई कारागारमा थुनिदिए| डुवर्सका राजु नेपालीलाई दिल्लीबाट नै यस घटनाबारे फोन आयो अनि तिनी दिल्ली पुगे| तिनले द्रौपदीलाई तिनको दाजु भाउजुको सरसल्लाहमा कालेबुङ लिएर फर्किए| यो थियो द्रौपदीको कथा तर यो कथाभित्र पनि धेरैवटा यस्ता ठॉंउहरू छन्, जहॉंबाट द्रौपदीलाई पनि शंका गर्न सकिन्छ| किन भने सिलगढी पुगेकी द्रौपदीले आफ्ना लुगाफाटा बोकेको ठूलो व्याग बोकेकी थिइन्| कुराकानी गर्दा तिनले सिलगढी एकदिनको निम्ति गएको बताएकी थिइन् तर तिनको व्यागले तिनी एकदिनको निम्ति गएको थिइनन् कि भन्ने शंका उपार्जन गरेको छ|

यस घटनाभित्रको 'खास' रहस्य अर्कै केही हुन सक्छ तर द्रौपदी आफैले आफूलाई एचएसको कागज बनाउन सिलगडी बोलाएकोले तिनी सिलगडी झरेकी अनि खाना खाइकेपछि तिनलाई राजा चौधरीले कोकोकोला खुवाएपछि भने तिनी रेलमा चडिन्| राजु नेपाली अनुसार मानव तस्करहरूले यस्ता युवतीहरूलाई पूर्णरुपले बेहोस् पार्ने कुरा खुवाउँदैन| अर्धमात दिने, जसमा केही होस् त रहन्छ तर पूर्ण होस् नरहने भएकोले युवतीहरूले सुद्धि हराउँछन्| द्रौपदीसित पनि यस्तै भएको हुनसक्छ| राजा चौधरीले यस अघि पनि एक युवतीलाई यसरी नै लगेका थिए तर पछि युवती फर्किइन्| ती युवतीसित पनि द्रौपदीको कुराकानी भएको हो| युवतीले घरमा आमा विरामी रहेकोले फर्किएको बताएकी थिइन्| एचएसको कागजपत्र बनाइदिन्छु भन्ने राजाले द्रौपदी कालेबुङबाट सिलगढी गइरहेको बेला त्यस युवतीको साटोमा 'तिमीले काम गर्नुपछ'पनि भनेका थिए|

सिलगढीमा पुगेर पनि राजाले त्यो कुरा दोहोर्‍याएका थिए| खाना खॉंदै गर्दा पनि राजाले एक ठाउँ यसको निम्ति जानुपर्छ भनेका थिए| द्रौपदी भन्छिन्, म त्यही कुराको निम्ति राजाको पछि लागेर गएँ की? भन्ने पनि लागिरहेको छ| रेलभरि मलाई केही कुराको सुद्धि भएन| द्रोपदीले नबताए पनि के पनि शंका गर्न सकिने ठॉंउ बनिएको छ भने द्रौपदीलाई राजाले 'बिहे गर्ने' बचन दिएर सिलगढी बोलाएका थिएनन्? जब  द्रौपदीले राजा बिवाहित रहेको कुरा थाहा पाइन्| त्यसै कारण राजाबाट बॉंच्न तिनले यस्तो कथा बनाएकी  त होइन? किन भने द्रौपदीको कुराले  कता कता मेल खाइरहेको छैन|

द्रौपदीलाई नै विश्‍वास गर्नु हो भने तिनी बेचिनबाट भने बॉंचिन्| किन भने तिनलाई राजाको स्वास्नी र एक महिलाले राजाले केटीहरू बेच्ने काम गर्ने गरेको खुलाएकी द्रौपदीले नै बताएकी छन्| राजाको नाममा थानामा प्राथमिकी नगरेपनि द्रौपदीले राजा जेलबाट छुटेर नआएको राम्रो बताउँछिन्| तिनले भनिन्, म ठगिएँ| राजाले नचिनेको ठाउँ कँही छैन| द्रौपदीको गाउँलाई नै राजाले विश्‍वासमा लिइसकेका छन्| द्रौपदीले भनिन्, मलाई मेरो दाजुले राजा चेलीबेटी बेच्ने गिरोह एक एजेन्ट रहेको थाहा लागेको बताए| यस्ता गिरोहको जञ्जाल सिलगढी, कालेबुङ, दार्जीलिङ अनि सिक्किमसम्म नै व्यापक रहेको पनि दिल्लीमा नै थाहा पाएँ| द्रौपदीको घटनाले कुनै पनि नौलो मान्छेले कसरी आफ्नो उद्देश्य पुरा गर्न गाउँलाई नै विश्‍वासमा लिने कार्य गर्छ अनि चेलीबेटीलाई बेच्ने योजना बनाउँछ भन्ने कुराको खुलासा भएको छ|
 


0 comments: on "मानव तस्करीको जञ्जाल व्यापकरुपले फैलिएको आशंका"