मुख्य समाचार :


पूर्वघोषित नगराध्यक्षले भरे नामाङ्कन पत्र

कालेबुङ, १४ नोभेम्बर|
गोर्खा जनमुक्ति मोर्चा चुनाउको मैदानमा उत्रिसकेको छ| कालेबुङमा नगरपालिका चुनाउलाई लिएर मोर्चा समर्थकहरूमा हर्षको लहर छाएको छ|
 आन्तरिकरुपमा पार्टीको टिकटलाई लिएर धेरै कलह चलेको भए पनि मोर्चाले त्यसलाई प्रकटमा ल्याएको छैन| नगरपालिका चुनाउको निम्ति मोर्चाले केवल उम्मेदवारहरू मात्र होइन वार्ड कमिटी पनि तयार गरिसकेको छ| पार्टीको टिकट पाएका मम्मेदवारहरूमा २१ जनाले नामाङ्कन पत्र भरिसकेका छन् भने आज मोर्चाबाट पूर्वघोषित नगराध्यक्ष एलबी परियारले पनि नामाङ्कन पत्र भरे| परियार मोर्चाका स्टडी फोरमका कर्मठ सदस्य हुन्| मोर्चाले जीटीएको सम्बन्धमा राज्य र केन्द्र सरकारसित जति पनि बैठकहरू गर्‍यो, त्यसमा परियारको सहभागिता प्रमुख रहेको थियो| तिनले मदन तामङ हत्याकाण्डको बेला पार्टीबाट राजिनामा समेत दिएका थिए भने पछिबाट मोर्चा कार्यकर्ताहरूको  करकापमा पार्टीमा फर्किएको तिनले घोषणा गरेका थिए|
 मोर्चाले गोर्खाल्याण्डको आन्दोलन भन्दै गर्दा तिनले जीटीएको कुरा त्यसबेला गरेेका थिए| तिनले भनेका थिए, छुट्टै राज्य अहिले नै सम्भव छैन, यसकारण कुनै पनि व्यवस्थामा सम्झौता गरिनु नै उत्तम निर्णय हुने छ| परियार पूर्व आईपीएस पनि हुन् भने अब तिनी डब्ल्युबीसीएस स्तरका ेअधिकारीको अधीनमा बस्ने छन्| यस अघि तिनी दागोपाप प्राथमिक शिक्षा पर्षदमा पनि उच्चस्थ पदमा थिए| मोर्चाले नगरपालिकालाई आफ्नो अधीनमा लिने सम्पूर्ण पूर्वाधारहरूको निर्माण गरिसकेको छ| चारैवटा नगरपालिकाको निम्ति अध्यक्षसमेत मोर्चाले छानिसकेको भए पनि दार्जीलिङ र कालबुङका अध्यक्षहरूको मात्र नाम सार्वजनिक गरेको छ| यता मोर्चा अध्यक्ष कालेबुङमा बसेर नगरपालिका प्रशासनको पूर्वाधारहरूको निर्माणमा जुटेका छन्| तिनले हिजो प्रत्येक वार्डको विकासको निम्ति वार्डमा रहेका मोर्चाका प्रशाखाहरूबाट दुइदुइजना प्रतिनिधिहरू छान्दै वार्ड कमिटी पनि बनाएका छन्| नगरपालिका ऐन अनुसार नै वार्ड समिति बनाइएको बताइए पनि कमिटीमा केवल एउटै दलका प्रतिनिधिहरू मात्र रहेका छन्| यसै पनि अहिले पार्टीको टिकट अनि वार्ड समिति निर्माणले वार्डहरूमा धेरै किचलोहरु उपार्जन भएको छ| जसको समाधान गर्न मोर्चा अध्यक्षले वार्डका समर्थकसित बारम्बार बैठक गरिरहेको छ| १५ नोभेम्बरको दिन नगरपालिका प्रशासनको कार्यरुप र कार्यढॉंचामाथि छलफल गर्न तिनले वार्डका प्रतिनिधिहरूसित बैठक गर्ने भएका छन्|

0 comments: on "पूर्वघोषित नगराध्यक्षले भरे नामाङ्कन पत्र"