मुख्य समाचार :


जीना हत्याकाण्ड उठ्दैछ आवाज

कालेबुङ, २६ नोभेम्बर|
घरदेखि केवल चालिस फीट पर टाउकोभरि गम्भिर चोट अनि अर्धनग्न अवस्थामा फेला परेकी जीना प्रधानको हत्या कुन कारणले भएको हो पुलिसले पत्तो पाउन सकेको छैन| पुलिस सूत्रले नै बताए अनुसार यस मुद्दामा परिवार पक्षले भनेजस्तो सहयोग गरिदिएको छैन| धेरैवटा कारणहरूले जीनाको हत्या हुनसक्ने शंका गरिएको भए पनि जबसम्म परिवारपक्षले पुलिसलाई पूर्णरुपले सहयोग गर्दैन तबसम्म हत्यारासम्म पुलिस पुग्न सक्दैन| यसको निम्ति पुलिस प्रशासनको पक्षबाट हुनुपर्ने जति सबै उपायहरू लगाइसकिएको छ अनि अझ पनि जॉंच प्रक्रियालाई जारी राखेको छ|
 जीनाको भूमिसुधार विभागमा नियुक्ति हुनेवाला रहेको कुरा पनि सुन्नमा आएको थियो तर यसबारे पनि स्पष्ट कुनै जानकारी पाइएको छैन| जीना कसैसित प्रेममा परेकी पनि हुनसक्छ भन्ने कुरा पनि सुनिएको छ तर यसबारे पनि आधिकारिक कुनै जानकारी पाइएको छैन| सबैलाई जीना हत्याकाण्डले छक्क पारिदिएको छ किन भने हत्या कहीँ टाडो भएको थिएन घरकै छेउमा भएको थियो अनि दूध लिन गएको बेला भएको थियो| जसले पनि जीनाको हत्या गर्‍यो उसलाई जीना दूध लिन जाने समय थाहा थियो| ठीक मौकाको खोजीमा रहेको हत्याराले १५ नोभेम्बरको दिन मौका छोप्यो| जीनालाई पहिले नै टाउकोमा प्रहार गरिएको हुनसक्ने शंका गरिएको छ| किन भने यत्रो काण्ड भइसक्दा पनि जीना चिच्याएको कसैले पनि सुनेनन्|

तीनको टाउकोमा धेरै ठाउँ गहिरो चोटहरू पाइएको थियो| कुनै गह्रौं बस्तुले जीनाको टाउकोमा प्रहार गरेको हुनसक्छ किन भने तीनको टाउको कुच्चिएको थियो अनि गिदीसमेत नस्किएको थियो|
 तिनलाई टाउकोमा प्रहार गरेर बेहोस् पारेपछि तिनलाई अर्धनग्न पारेेको हुनसक्ने शंका व्यापक रहेको छ तर फोरेन्सिक रिपोर्ट अनुसार जीनालाई बलात्कार गरिएको छैन| हत्याराले बलात्कार गरेको शंका गरोस् भनेर नै अर्धनग्न पारेको हुनसक्ने शंका पनि व्यापक छ| तर हत्या गर्नेलाई हत्या बलात्कार गरेर नै गरिएको हो भनेर देखाउन जीनालाई अर्धनग्न बनाउन किन अनिवार्य लाग्यो? भन्ने प्रश्‍न पनि उठेको छ| हत्या नै गर्नेले बलात्कार गरेर हत्या भएको देखाउनु पर्ने बाध्यता नहुनुपर्ने भए पनि जीनाको कम्मरमुनीको सबै लुगा खेतमा खोलेर फ्यॉंकिएको थियो| यसको कारण के हुन सक्छ? पुलिसलाई मात्र होइन हत्यारा पक्राउ पर्नुपर्छ भनेर पुलिसमा दवाब बनाउने नागरिक समाजलाई नै अचम्ममा पारेको छ|

जीनाको हत्याराहरू पक्राउ गरिनुर्पछ भनेर विभिन्न संघसंस्था र सचेत नागरिकहरूले आवाज त उठाइरहेको छ तर प्रत्यक्षदर्शीको अभाव अनि परिवार पक्षको असहयोगको कारण गठनाको रहस्य उद्घाटन हुन सकेको छैन| तरै पनि पुलिस प्रशासनलाई दवाब दिन सङ्गठनहरूले छोडेको छैन| आज कालेबुङ कृषक कल्याण सङ्गठन पनि कालेबुङ थाना प्रभारीलाई   ज्ञापन चढाएको छ| सङ्गठनले घटनालाई सचेत समाजको निम्ति नितान्त लज्जास्पद बताएको छ| घटनाप्रति निन्दा गर्दै हत्याराहरूलाई शीघ्र नै पक्राउ गरिनुपर्ने माग सङ्गठनले राखेको छ|
सङ्गठनका मूलसचिव विष्णु छेत्रीले बताए अनुसार यस प्रकारका घटनाहरू धेरैपल्ट देखापरिसकेको छ| हत्या भएको यत्रो दिन बितिसक्दा पनि कुनै निष्कर्ष ननिसक्नुमा के रहस्य छ? २३ नोभेम्बरको दिन पनि सङ्गठनले ज्ञापन चढाइसकेको छ| तरै पनि कुनै निचोड निस्किएको छैन| सङ्गठनको धर्यको बॉंध टुट्दै गइरहेको अनि शीघ्र नै पुलिसले निष्कर्ष निकाल्नुपर्ने ज्ञापनमा उल्लेख गरिएको छ| छेत्रीले भने, पुलिसले तर शीघ्र नै निचोड निकाल्ने  आश्‍वासन दिएको छ| घटनाको छानबिन चलिरहेको बताइएको छ| तर छानबिन गर्दागर्दै मुद्दा नसेलाओस्| हत्याहरू जो पनि हुन्, त्यसको खोजी शीघ्र नै गरिनुपर्छ| पुलिसले अहिलेसम्म कुनै पनि प्रमाण नभेट्नुभित्र पनि कुनै न कुनै रहस्य लुकेकै छ-तिनले भने| अर्कोतिर आइसीडीएस आगनवाडी कर्मी एवं सहकर्मी सङ्गठनले पनि हत्याको निन्दा गर्दै हत्याराको खोजी शीघ्र नै गर्नुपर्ने बताएको छ|

0 comments: on "जीना हत्याकाण्ड उठ्दैछ आवाज"