मुख्य समाचार :


युवा मोर्चाले केन्द्रिय कमिटीलाई लगाम लगाएको राम्रो-डा छेत्री

प्रज्ज्वल छेत्री
कालेबुङ, २६ नोभेम्बर|
उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले राज्यभित्रै चारवटा राज्य गठन गर्ने प्रस्ताव विधानसभामा पारित गरेपछि दार्जीलिङ पहाडमा युवा मोर्चाले फेरि शुरू गर्ने गोर्खाल्याण्ड आन्दोलनलाई लिएर मोर्चा केन्द्रिय समितिको अझसम्म स्पष्ट अडान छैन| यस सम्बन्धमा मोर्चा केन्द्रिय प्रवक्ता एव कालेबुङका विधायक डा. हर्कवहादुर छेत्रीले भने, केन्द्रिय समितिले पो हात काटेर रोशन गिरीलाई जीटीएमा हस्ताक्षर गर्न लगाएका हुन्| युवा मोर्चाले त हस्ताक्षर गरेको छैन|  युवा मोर्चा कुनै बाध्यताले बॉंधिएको छैन| यो प्रजातन्त्रको नमूना पनि हो| भोलि उनीहरूले जीटीए ठीक लागेन भन्न सक्छन्| उनीहरूले आन्दोलनलाई अघि बढाउँछन्|  युवा मोर्चाले केन्द्रिय समितिलाई चेतावनी दिएको राम्रै हो| जसरी घिसिङले दागोपापलाई चौतारी भन्दै २१ वर्ष बिताए त्यसरी नै जीटीएमा भुलिएला भनेर मोर्चालाई लाखेस् गर्नु राम्रो हो| उसो भए युवा मोर्चाले  गरेको आन्दोलनलाई मोर्चाले केन्द्रिय समितिले सघाउ पुर्‍याउँछ अथवा आन्दोलन केन्द्रिय समितिकै निर्देशनमा गरिएको हो भन्ने प्रश्‍न गर्दा तिनले भने, सघाउ पुर्‍याउनेमाथि केन्द्रिय समितिले बैठक गरेर निर्णय गर्नेछ|

उत्तर प्रदेशको चार राज्यहरू लगायत तेलेङ्गनाको परिस्थितिलाई हेरेर जीटीए ड्रप गरेर आन्दोलन गर्नुपर्ने वा जीटीएसँगै आन्दोलन गर्नुपर्ने पछिबाट केन्द्रिय समितिले सोच्नेछ| मोर्चा केन्द्रिय समिति अनि मोर्चाकै भातृ सङ्गठन युवा मोर्चामा तालमेल नरहेको सन्दर्भमा तिनले भने, हाम्रो तालमेल छैन| गोर्खाल्याण्ड माग्नेले माग्दै गरोस्| यो माग पनि छँदैछ, मूल मूद्दा यही नै हो| तर अहिले ब्रेकफास्ट खॉंदैगर्दा डिनर भनिहाल्न हुँदैन, पछिबाट डिनर खानैपर्छ| सबैतिर छुट्टै राज्यहरू गठन हुने सम्भावना भए गोर्खाल्याण्ड पनि अवश्यै भएकै हुन्छ| सय वर्ष पुरानो मागलाई सरकारले त्यति सजिलो नकार्न भने सक्तैन| मायावतीको निर्णयपछि देशभरि छुट्टै राज्य माग्नेहरूलाई बल पुग्न थालेपछि दार्जीलिङ पहाडको आन्दोलनमा शिथिलता आएको समय मोर्चा केन्द्रिय समितिले आन्दोलन नगरेर युवा मोर्चाले गर्नु मुद्दा बचाउने कार्य मात्र होइन भनी प्रश्‍न गर्दा तिनले उल्टै प्रश्‍न गर्दै भने, युवा मोर्चाले मुद्दा मार्ने काम गर्नुपर्थ्यो? आन्दोलनमा शिथिलता आएको छैन| हाम्रो मान्छेले आन्दोलन भनेको बम पढ्काउनु, जुलूस र धर्ना गर्नु मात्र बुझ्छन्| यत्रो कागज-पत्र लेखापढी हुँदैछ| हाइपावर कमिटीले तराइ-डुवर्स अन्तरभुक्तिको निम्ति काम गर्दैछ| हस्ताक्षर सडकमा हुँदैन, टेबलमा हुन्छ| गोरामुमोको समयमा भएको आन्दोलहरूबारे बताउँदै तिनले अहिले बौद्धिक स्तरको आन्दोलन भइरहेको बताए| मायावतीको चारवटा राज्य गठन गरिने कुरा पनि राजनैतिक चलखेल नै हुनसक्ने बताउँदै तिनले भने, खुशीको कुरा यति हो कि तिनले राज्य भनेको देश होइन, देशको जिल्ला जस्तो मात्र हो, यसैले प्रशासन चलाउन जसरी चलाउनुर्छ त्यसरी नै चलाउनु भनेर देखाएको उदारता मात्र हो| तिनले कतिको इमान्दारिपूर्ण राज्य विभाजन गर्ने घोषणा गरिन् चुनाउपछि थाहा लाग्ने बताउँदै त्यहॉंका सांसदहरूले पछिबाट लोकसभामा राज्य गठनको निम्ति वृहत आन्दोलन गर्छन गर्दैनन् हेर्नपर्ने बताए| यद्यपि तिनले उत्तर प्रदेश, तेलेङ्गनासँग गोर्खाल्याण्डको परिस्थिति नमिल्ने बताए| तिनले भने, उत्तर प्रदेशमा ९६ जना सांसदहरू छन्, त्यसलाई चार भाग गर्दा पनि एउटामा २२-२३ सासंदहरू पर्छन्| उनीहरूको सरकार ढाल्नसक्ने स्थिति छ| उत्तर प्रदेशमा राज्य बनिन आँट्दा मोर्चा आन्दोलन किन गर्दैन भन्नेहरूले बुझ्नपर्छ| तलेङ्गनामा ३५० भन्दा अधिकले आत्मादाह गरे| मोर्चाले आन्दोलन गर्दा पॉंच जनाले ज्यान गुमाए| हामीले जीटीएमा सम्झौता गरेपनि गोर्खाल्याण्डको निम्ति सम्झौता गरेको छैनौं|

जसको दार्जीलिङ पहाडको विगतको राजनैतिक जीवनमा कुनै योगदान छैन उनीहरूले मोर्चाको कार्यक्रमलाई  आलोचना गर्न सिवाह केही नगर्ने पनि छेत्रीले बताए| बिमल गरूङले जीटीएमा सम्झैता नगरेर रोशन गिरीले गरेको हो अनि तराइ-डुवर्सको सिमानाको निम्ति अन्तिम निर्णय आएपछिनै बिमल गुरूङले हस्ताक्षर गर्ने पनि छेत्रीले बताए| २९ नोभेम्बरमा हुने हाइपावर कमिटीको बैठकमा जीटीएको भूभाग कत्रो हुन्छ भन्ने प्राय आँकडा आउनसक्ने पनि तिनले बताए| आदिवासी विकास परिषदले मोर्चासँग विकासको निम्ति सम्झौता गरेकोले यूवा मोर्चाको आन्दोलनले सम्झौता नरह नसक्ने सम्बन्धमा छेत्रीले भने, हेर्दै जाउँ, राजनीतिमा विहान एकजनासँग अनि बेलुकी अर्कोसँग सम्झौता हुन्छ| सम्झौता के हुन्छ भविष्यले बताउँछ| अहिले नै भनिहाल्न मिल्दैन| शुरूदेखि नै विकास परिषदसँग हाम्रो लगाइएको झगडा थियो| सम्झौता हुनअघि पॉंच चरणसम्म वार्ता भएको छ| अहिलेसम्म त हाम्रो सम्बन्ध राम्रै छ|

भागोपले शुरू गरेको सामुहिकताको प्रश्‍नमा तिनले भागोप मास्को होइन क्लासको सङ्गठन रहेकोले दिल्लीतिर नै कार्यक्रम गरेको राम्रो भन्ने सुझाउ राख्दै सामुहिकताकै निम्ति हो भने पहिले सर्वमान्य नेता खोज्नुपर्ने बताए| अहिले मोर्चा नगरपालिका जस्तो मात्र रहेको बताउँदै जीएनएलफले गरेको मैला कामहरूलाई सफा पार्ने काममा नै मोर्चाको धेर समय खर्च भइरहेको बताए| गोर्खाल्याण्डको आन्दोलन गर्नअघि जीटीएको सम्झौता खारेज गर्नपर्ने विपक्षीहरूको भनाइको उत्तर दिँदै तिनले भने, उनीहरू सुप्रिम कोर्टको अधिवक्ता हुन् र हामीलाई आन्दोलनको निम्ति के खारेज गर्नपर्छ भन्ने? के खारेज गर्दा गोर्खाल्याण्ड हुन्छ हुँदैन व्याख्या गरोस्| तीन दिनअघि बङ्गालको गृहसचिवसँग आफूले भेट गरेको बताउँदै  मर्डर केशबाहेक अन्य बेबुनियादी केशहरूलाई खारेज चॉंडै गर्न नोटिस जारी गर्ने भएको छेत्रीले बताए|

0 comments: on "युवा मोर्चाले केन्द्रिय कमिटीलाई लगाम लगाएको राम्रो-डा छेत्री"