मुख्य समाचार :


‘भित्तामा लेखेर राज्य हुँदैन’

कालेबुङ, २६ नोभेम्बर|
गोर्खा जनमुक्ति मोर्चाले भित्तैभरि गोर्खाल्याण्ड अनि त्यसको पछि इण्डिया लेख्न पसले अनि कार्यालयहरूलाई निर्देश दियो| छुट्टैराज्य को निम्ति लेखिएको गोर्खाल्याण्ड पछि गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिष्ट्रेशनको निम्ति भयो| जीटीएको अघिल्तिर भएको गोर्खाल्याण्ड शब्दले नै देशभरिका गोर्खाहरूको चिह्नारी बोक्ने बताउँदै मोर्चाले जीटीएमा हस्ताक्षर गर्‍यो| अहिले मायावतीले चारवटा राज्य बनाउन विधायनसभामा प्रस्ताव पारित गरिदिएर केन्द्रलाई अप्ठ्यारोमा पारेपछि देशभरि नै छुट्टैराज्यको आन्दोलन चर्किएको छ| तर मोर्चाले यस्तो अवस्थामा पनि छुट्टैराज्यको आन्दोलन जीटीएमा सम्झौता गरेको कारण गर्न सकेन| तर मोर्चा कै निर्देशनमा युवा मोर्चाले भने आन्दोलनको घोषणा त गर्‍यो तर कार्यक्रम भने भित्तामा गोर्खाल्याण्ड लेख्ने बताएपछि छुट्टैराज्य भनिरहने दलहरू युवा मोर्चासित विच्किएको छ| यसै पनि मोर्चाको विपक्षमा रहेका दलहरूले युवा मोर्चाको आन्दोलन नाटक रहेको बताइरहेको छ भने जीटीएमा अन्य दलहरूको सहमति बटुल्न युवा मोर्चालाई लगाएर मोर्चाले फेरि गोर्खाल्याण्ड शब्दको दुरुपयोग गरिरहेको आरोप पनि लगाइरहेको छ| गोर्खालीग नेता प्रताप खातीले भने, भित्तामा लेख्दै गोर्खाल्याण्ड हुने भएदेखि मोर्चाले अघि भित्तामा लेखेको गोर्खाल्याण्ड पनि छँदैछ|

तर गोर्खाल्याण्ड मागेको हो कि छुट्टै राज्य मागेको हो मोर्चा स्पष्ट छैन| मोर्चाले अहिले पनि गोर्खाल्याण्डमा नै हस्ताक्षर गरिसकेको छ तर त्यो राज्य होइन| हामीले भनिरहेको गोर्खाल्याण्ड राज्य हो अनि मोर्चाले भनिरहेको गोर्खाल्याण्ड जीटीए हो| तिनले भने, गोर्खाल्याण्ड भित्तामा लेखेर हुँदैन| सामुहिकरुपले यसको निम्ति आन्दोलन गर्नुपर्छ| जुन पार्टी राज्यसित मिलेर मुद्दा बेच्दै छुट्टैराज्यलाई गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिष्ट्रेशनसित साटिसकेको छ उसले भित्तामा गोर्खाल्याण्ड लेख्दा के फरक पर्छ| युवा मोर्चाले सॉंच्ची नै आन्दोलन गर्छ भने गोजमुमो त्यागेर बाहिर आउनुपर्छ| गोर्खालिगले छुट्टैराज्यको निम्ति सामुहिक आन्दोलनको कुरा गरिरहेको छ| सबै मिलेर आन्दोलन गरौं तर जीटीए छिराउने कुटनीति नखेलौं| अब जनतालाई बोरामा सुताउन सकिन्न| तिनले अझ भने, मोर्चालाई अब ढॉंट्ने ठाउँ पनि छैन| अहिले जस्तै भ्र्रममा जनतालाई राखोस् तर जनता असत्यको पक्षमा बस्ने छैन| तिनले युवा मोर्चालाई आह्वान गर्दै भने, युवा मोर्चाले पहिलो काम जीटीएको सम्झौता खारेज गर्नुपर्छ|

दोस्रो काम, रोशन गिरी र विमल गुरूङलाई अध्यक्ष र सचिवको पदबाट हटाएर साधरण सदस्यमा झार्नुपर्छ अथवा पार्टीबाट राजीनामा लेख्न लगाउनुपर्छ अनि तेस्रो काम भने आन्दोलन गर्नुपर्छ| किन भने हस्ताक्षर गर्नेले आन्दोलन गर्न सक्दैन| युवा मोर्चामा आँट छ भने यसरी सॉंच्चिकै आन्दोलन गरोस्| यता पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले भने, युवा मोर्चाले भित्तामा लेख्ने गोर्खाल्याण्ड के हो? राज्य कि जीटीए? पहिले युवा मोर्चा आफूले के मागेको  त्यो कुरामा स्पष्ट हुनुपर्छ किन भने केन्द्रिय कमिटीले अहिलेसम्म दसभन्दा धेरवटा मुद्दा फेरिसकेको छ| भित्तामा लेख्दैमा छुट्टैराज्य हुने भएदेखि मोर्चाको अघिल्लो भित्ता लेखनले पाइसक्थ्यो| यो नाटक मात्र हो| केन्द्रय समितिले छुट्टैराज्य हुँदैन भन्ने अनि जीटीए थाप्ने अनि भातृ सङ्गठनले भने आन्दोलन गर्ने कुरा जनतालाई लट्याउने खेल मात्र हो| केही दिनमा नै युवा मोर्चाको असलियत सामु आउने छ|
केन्द्रिय समितिले नै युवा मोर्चालाई बिजोक पार्ने छ| सबैले ध्यान राख्नुपर्छ आज युवा मोर्चाले गरिरहेको हॉंक केहीदिनमा केन्द्रिय समितिले भिजेको मुसा झैं बनाइदिनेछ| जसलेे जीटीएमा हस्ताक्षर गरेको छ उसले आन्दोलन भन्नु जेलको हावा खाने ढोका खोल्नु हो| मोर्चाका नेताहरूको निम्ति आगामी दिनको खबर राम्रो छैन| मदन तामङ हत्याकाण्डको तलवार मोर्चा नेताहरूको घिच्रोमा छ| अहिले बङ्गाल सरकारको हात मेलेको कारण मात्र उनीहरू बॉंचेका छन् तर पक्रा पर्छन् नै|

0 comments: on "‘भित्तामा लेखेर राज्य हुँदैन’"