मुख्य समाचार :


घर-दैलोबाट नगरापलिकाले मैला उठाउने उठाएको मैला टिस्टामै फ्यॉंक्ने त?

कालेबुङ, २४ नोभेम्बर|
कालेबुङ नगरमा थुप्रिने मैलालाई अबउसो नगरपालिकाले मानिसहरूको घर दैलोबाट नै संग्रह गर्ने कार्य शुरू गर्ने मन बनाएको छ| नगरमा जताततै थुप्रिएको मैलालाई व्यवस्थित ढङ्गमा उठाउन आज महकुमा अधिकारीले एक बैठक बोलाएका थिए| नगर पार्षद-पार्षदिका, राजनैतिक दल, सामाजिक सङ्घ-संस्था, शैक्षिक संस्थान प्रमुख आदिलाई निम्ताएको बैठकमा औंलामा गन्न सकिने मानिसहरूको मात्र उपस्थिति थियो| महकुमा अधिकारी एलएन शेर्पाले बैठकमा बताए अनुसार सम्भव भए पहिलो दिसम्बर अथवा महिनाको बीचदेखि घर दैलोबाट नगरपालिकाले मैला बटुल्न शुरू गर्नेछ| जसको निम्ति प्रत्येक घरबाट दैनिक दुई रूपियॉं गरी महिनामा ६० रूपियॉं नगरपालिकालाई बुझाउन पर्नेछ| जसमा ५० प्रतिशत नगरपालिले  राखेर ५० प्रतिशत मैला संग्रह गर्नेलाई दिइनेछ| यसको निम्ति कालेबुङ नगरको कूल २३ वटा वार्डहरूमा पछिबाट नगर प्रशासनले बैठक गर्नेछ| होटल, रेस्टुरेन्ट, नर्सिङ होम, दोकान आदिबाट संग्रह गरिने राशिको दर भने अन्य घरहरूको भन्दा धेर हुने भएको छ| मैला घर दैलोबाट संग्रह गर्नअघि मानिसहरूले आफ्नो नैतिक जिम्मेवारी बुझेर दुइवटा ढ्वाङ्गमा कुहिने एकापट्टि अनि नकुहिने अर्कोपट्टि गरेर राख्नपर्ने महकुमा अधिकारीले बताएका छन्| घर-दैलोबाट मैला उठाउन प्रत्येक वार्डका समाजहरूका प्रतिनिधिहरूलाई वेरोगार तथा इच्छुक युवा-युवतीको नाम बुझाइदिने नगरपालिकाले अपिल गरेको छ| जसरी बाहनहरूमा कर संग्रह गर्न शुरू गरेपछि विस्तारै ट्राफिक व्यवस्थित हुँदैथ्यो भने अर्कोतिर कर संग्रह गर्ने मानिसहरूको राजीरोटी पनि चलिरहेको बताउँदै मैला उठाएर पनि धैरैको जीविकोपार्जन हुनसक्ने अधिकारीले बताए| तिनले भने, कालेबुङका मानिसहरूले नैतिक जिम्मेवारी बुझ्न अनिवार्य छ| नगर सुन्दर राख्नु प्रशासनको मात्र कर्तव्य होइन| मानिसहरूले जताभावी मैलाहरू फ्यॉंक्छन्, मैला थुप्रिएकोले झोडा बन्द हुन्छ अनि भल पैह्रो जान्छ| नालामा पानी नबगेर सडकमा बग्छ| सडक बनिएको बर्षदिन नपुग्दै भत्किन्छ अनि फेरि सडक बनाइदिएन भनेर प्रशासनलाई दोष्याउँछ| पर्यटकहरूले एकपल्ट कालेबुङ हेरेपछि फेरि आउँन नसक्ने स्थिति भएको पनि तिनले बताए| कालेबुङको नगरको मैला कालेबुङ नगरपालिका बोर्डअघि निक्कै ठूलो चुनौती भएर उभिने बताउँदै तिनले आफूले 'ग्राउण्ड वर्क' तयार गरिदिएर बोर्डलाई सहयोग पुर्‍याइरहेको बताए| दार्जीलिङ-जलपाइगढी डेभलोपमेन्ट अथोरिटीले १९ नोभम्बरमा बैठक गरेर सिलगडीको डम्पिङको निम्ति ३०० करोडको प्रोजेक्ट तयार पारेर केन्द्र सरकारलाई पठाएको  जसको केही प्रतिशत राज्य सरकारले बेहोर्ने बताइएको भएपनि कालेबुङमा मैलाको धेरै  समस्या हुदॉंहुदै पनि कुरा नै नउठेकोमा माकपा नेता तारा सुन्दासले बैठकमा आपत्ति जनाए| यदि कसैले अव्यवस्थित ढङ्गमा सडकमा मैला फ्यॉंके उनीहरूविरूद्ध कानुनी कार्वाही गरिनुपर्ने सुझाउ सुन्दासले राख्दै यसको निम्ति सचेतना अनि माइकिङ हुन आवश्यक रहेको बताए| नगरमा थुप्रिएको मैलालाई व्यवस्थित ढङ्गमा उठाएर नगर सुन्दर राख्न बैठकमा चर्चा परिचर्चा भएपनि मैला फ्यॉंक्ने सम्बन्धमा कुनै कुरा नै भएन| नेवारगाउँस्थित निर्माणाधिन डम्पिङ ग्राउण्डतर्फ जाने बाटो भत्किएकै कारण आजसम्म डम्पिङ शुरू हुन नसकेको मात्र महकुमा अधिकारीले बताए| तिनले उठाएको मैला कहॉं फ्यॉंकिन्छ भन्नेबारे कुरोकन्थै गरेनन्| यस सम्बन्धमा तिनको मौनताले के भनिरहेको छ त? उठाइएको मैला टिस्टामा नै फ्यॉंकिन्छ भनिरहेको छैन? किन भने अहिलेसम्म नगरापिकाले मैला टिस्टामा नै फ्यॉंकिरहेको छ| केही सङ्गठनहरूले पुरानो भालूखोपमा नै फ्यॉंक्नुपर्ने सुझाव नगरपालिकालाई दिइरहेको भए पनि उनीहरूको सुझाव अर्थहीन रहेको छ किन भने उनीहरूलाई भालूखोपको डम्पिङबारे पक्का जानकारी नै छैन| मैला त घरघरबाट उठाउने तर फ्यॉंक्ने कहॉं? अघिल्ला बैठकहरूमा झै आज पनि मुख्य समस्याबारे कुरा नै भएन| यसको अर्थ यो हुन्छ कि नगरपालिकाले घर दैलोबाट उठाएको मैला टिस्टामा नै फ्यॉंकिनेछ| यसर्थ, डम्पिङ नबनिञ्जेलसम्म टिस्टा नदी कालेबुङको मैलाले दिनोदिन प्रदुषित भइरहनेछ अनि सचेत भनिने नागरिकहरू आखँा चिम्लेर अन्धा सरह बसिरहनेछन्|

0 comments: on "घर-दैलोबाट नगरापलिकाले मैला उठाउने उठाएको मैला टिस्टामै फ्यॉंक्ने त?"