मुख्य समाचार :


युवा मोर्चालाई फोरमको सुझाव ‘जीटीएको सम्झौता जलाऊ अनि आन्दोलन गर’

कालेबुङ, २४ नोभेम्बर|
गोर्खा जनमुक्ति मोर्चाले एकपल्ट फेरि अन्योलपूर्ण वातावरण सिर्जना गरेको छ| केन्द्रिय कमिटीका महासचिव रोशन गिरीले जीटीएमा हस्ताक्षर गरेका छन् अनि मायावतीले छुट्टैराज्य आन्दोलनकारीहरूको निम्ति आन्दोलनको वातावरण बनाउँदा गोर्खाल्याण्डको निम्ति आङ बॉंधेर निस्किएका मोर्चाका अध्यक्ष  विमल गुरूङले भने अहिले तिनी जीटीएमा नै केन्द्रित रहेको बताइरहेका छन्|
सोही दलको भातृ सङ्गठन युवा मोर्चाले भने जीटीएमा समर्थन पनि नरहेको अनि विरोध पनि नरहेको दोधारे कुरा गर्दै छुट्टैराज्यको आन्दोलन गर्ने भएको छ|
 अब जनताले सचिव रोशन गिरीले हस्ताक्षर गरेको अनि त्यसैमा विमल गुरूङको ध्यान केन्द्रित रहेको जीटीएलाई विश्‍वास गर्ने कि युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनलाई विश्‍वास गर्ने कि आदिवासी विकास परिषदसित गरिएको सम्झौतालाई विश्‍वास गर्ने? यतिविध्न अन्योलता उत्पन्न गरिएको छ कि मोर्चालाई कताबाट बुझ्नुपर्ने अनि कताबाट विरोध गर्नुपर्ने विपक्षले भेउसमेत पाएको छैन| तर पिपल्स फोरमले भने सोझै युवा मोर्चालाई भनेको छ, यदि आन्दोलन नै गर्छ भने युवा मोर्चाले रोशन गिरीले हस्ताक्षर गरेको जीटीएको सम्झौता जलाउ, राज्य र केन्द्रलाई जीटीएको सम्झौता खारेज गराउन बाध्य गराउ अनि छुट्टैराज्यको आन्दोलन गर| युवाशक्ति भएर केन्द्रिय कमिटी अनि यस कमिटीमा रहेका केही मौका खोर र बङ्गालका एजेन्टहरूको कुटनीतिलाई सफल बनाएर जनातको आकांक्षासित खेलवाड नगर| फोरमको पक्षमा महासचिव प्रवीण गुरूङले भने यसो भनेका हुन्| तिनले अझ सोझै भने, कि जनवरीदेखि छुट्टैराज्य गोर्खाल्याण्डको आन्दोलन गर्न पहाडमा अर्को राजनैतिक दल गठन हुने कुराले मोर्चा कॉंप्न थाल्यो? तिनले अझ भने, युवा मोर्चालाई थाहा छ कि छैन, छुट्टैराज्यको आन्दोलन पहाडमा हुँदैन|
 पहाडमा सबै जनता छुट्टैराज्यको पक्षमा छन्, यसकारण छुट्टैराज्यको पक्षमा पहाडका जनताले शक्ति देखाउन परेको खण्डमा देखाउनेछन्| आन्दोलन त दिल्लीमा पो हुनुपर्छ| यसै पनि युवा मोर्चाले पहिले कोलकातामा अनि त्यसपछि दिल्लीमा छुट्टैराज्यको आन्दोलन अघि जीटीएको सम्झौता खारेज गर्न अर्को आन्दोलन गर्नु पर्छ| छुट्टैराज्य माग्ने अनि जीटीए जस्तो टालटुले व्यवस्थाको विरोध गर्ने मदन तामङको हत्या गर्ने सङ्गठनको मातृ होस् कि, पितृ होस् वा भातृ होस् छुट्टैराज्य गर्छु भनेको सुहाउँदैन| छुट्टैराज्यको आन्दोलन गर्नेलाई मार्नेले फेरि छुट्टैराज्यको आन्दोलन गर्छु भनेको के हो? जनताको सोझोपनको फाइदा उठाउनु हुँदैन|
तिनले जनता अनि युवा मोर्चाको आन्दोलनलाई समर्थन गर्ने दल र सङ्गठनहरूलाई पनि भने, हत्याराले भजन गाउँदैमा समर्थन गरिहाल्नु हुँदैन| त्यो साधु हुँदैन| मोर्चाको केन्द्रिय होस् वा भातृ सङ्गठन होस् उसले छुट्टैराज्यको आन्दोलन गर्न अघि जीटीएको सम्झौतालाई खारेज गर्नुपर्छ| जनताको सामु सम्झौतापत्र जलाउनुपर्छ| गोर्खाल्याण्डको निम्ति चुनाउ जितेर जीटीए थाप्नेले गोर्खाल्याण्ड आन्दोलन गरेको जीटीएको निम्ति सबैको समर्थन बटुलेको पनि हुनसक्छ| जीटीएको निम्ति चाप सृष्टि गरेको पनि हुनसक्छ किन भने मोर्चामा विश्‍वास गर्ने इमान्दारिता छैन| तिनले मोर्चाले फेरेको मुद्दाको विस्कुन लगाउँदै भने, पहिले गोर्खाल्याण्ड, त्यसपछि सेटअप, प्राधिकरण, गोर्खा-आदिवासी प्रदेश, जीटीए, जीएटीए अनि अहिले फेरि गोर्खाल्याण्ड| कुन कुन दलले कुन कुन मुद्दा कहिलेकहिले मोर्चालाई समर्थन गरेको छ? छातीमा हात राखेर सोंच्दा हुन्छ|
 हस्ताक्षर गर्ने चुपचाप छन्, अध्यक्ष जीटीएमा नै केन्द्रित छन् अनि त्यसैको भातृ सङ्गठनले अध्यक्षको निर्देशमा छुट्टैराज्यको आन्दोलन गर्छौं भनेको के हो? यति राजनीति पनि नबुझ्ने समर्थकहरूले राजनीति नगरेको राम्रो|

0 comments: on "युवा मोर्चालाई फोरमको सुझाव ‘जीटीएको सम्झौता जलाऊ अनि आन्दोलन गर’"