मुख्य समाचार :


आविप-मोर्चाको सम्झौता बारला र गिरीको ‘नो कमेन्ट’

मनोज वोगटी
कालेबुङ, २४ नोभेम्बर|
यदि गोर्खा जनमुक्ति मोर्चाले सम्झौतापछि छुट्टैराज्यको आन्दोलन गर्‍यो भने जीएटीएको निम्ति भएको सम्झौतालाई रद्द गरिनेछ- गोर्खा जनमुक्ति मोर्चा र आदिवासी विकास परिषद्बीच भएको सम्झौताको दिन मङ्पङमा आविप क्षेत्रीय समितिका अध्यक्ष जोन बारलाले भनेका थिए| मोर्चाले गोर्खाल्याण्डको निम्ति होइन विकासको निम्ति आविपसित सम्झौता गरेको हो-त्यसै दिन गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले भनेका थिए|
 अहिले परिस्थिति अलग भएको छ| यता मोर्चाले अहिले फेरि छुट्टैराज्यको आन्दोलनको शंखघोष गरेको छ अनि छुट्टैराज्यको आन्दोलन मोर्चाले गरे सम्झौता फिर्ता लिने बताउने जोन बारला अनि छुट्टैराज्यको निम्ति होइन विकासको निम्ति आविपसित हात मिलाएको बताउने रोशन गिरी दुवैले अहिले मीडियालाई 'नो कमेन्ट' भनिरहेका छन्| रोशन गिरीले भने, यस विषयमा म कुरा गर्न चहान्न| ठीक उता जोन बारलाले पनि त्यही वाक्य दोहोर्‍याए| अघिल्ला किटान र घोषणाहरू पछिल्ला दिनहरूमा विर्सने अनि जनमानसमा अन्योलता बनाइराख्ने खेलमा राजनैतिक अस्तित्व कायम राख्ने कुटनीति हुर्काउने परिस्थिति बनाउने आविप र मोर्चा दुवै तर एकार्काको राजनैतिक चलखेलबारे अन्योलमा रहेको देखिएको छ| अहिले दुवै दललाई सम्झौता 'घॉंडो' भइरहेको छ|
भर्खर मोर्चा अध्यक्ष विमल गुरूङले कालेबुङको डेलोबाट नगरपालिकापछि जीटीएको अनि जीटीएको चुनाउपछि ग्राम पञ्चायत चुनाउ हुने बताउँदै भनिरहेका थिए, जीटीएमा १९९ र १९६ मौजा नपसी जीटीएको चुनाउ हुने छैन| यसैबाट तिनले आविपसितको सम्झौताबाट आस्था गुमाइसकेको स्पष्ट पारेका थिए| किन भने तिनले त्यसदिन आविपसित गरिएको सम्झौता अनुसार जीएटीएमा सम्पूर्ण तराई र डुवर्स अन्तरभुक्तिको कुरा गरेनन् तिनले पुरानै कुरा दोहोर्‍याउँदै जीटीए र १९९ मौजाको कुरा गरेका थिए| यता क्षेत्रीय आविपलाई पनि राज्य कमिटीको अस्वीकृतिले भताभुङ्ग पारिदिएको छ| क्षेत्रीय नेताहरूलाई दलबाट नै निलम्बन गरिदिएकोले जोन बारलाहरूको विचल्नी भइरहेको छ|
 जोन बारलाले भने, सम्झौतालाई विश्‍वास गरेको छु| पार्टीको आ-आफ्नै नीति र सिद्धान्त हुन्छ| तर सरकारले कुन कुरालाई प्राथमिकता दिन्छ भन्ने कुरा पहिले आउँछ| राज्य सरकारसित कुरा राखिसकेका छौं, छुट्टैराज्य वा विकास कुनैमा एउटामा त सरकारले निर्णय गर्नैपर्छ| जोन बारलाबाट युवा मोर्चाको आन्दोलनको उद्देश्यका छनक पाइए पनि वास्तविकता के हो त्यो मोर्चालाई मात्र थाहा छ| तर जति नै प्रश्‍न गरेपनि मोर्चा महासचिवको एउटै कुरा रहेको छ-त्यो हो 'नो कमेन्ट'|

0 comments: on "आविप-मोर्चाको सम्झौता बारला र गिरीको ‘नो कमेन्ट’"