मुख्य समाचार :


गाउँबुढा भइन्‌ सानुमति

कालेबुङ, 5 नोभेम्बर।
तिनी चुपचाप थिइन्‌। यसरी चुपचाप बसेकी धेरै भइसकेको छ। 82 वर्ष प्रौड नारी तर सिर्जनात्मकतामा अझ युवा। तिनलाई कालेबुङले माया गरिरहेको थियो। त्यो मायाले तिनी हर्षित थिइन्‌। यस्ता हर्ष र दुःखहरूलाई तिनले अहिले मौन बसेर नै स्वीकार गरिरहेकी छन्‌। विशेष कारणले तिनी सार्वजनिक कार्यक्रमहरूमा बोल्न सक्दिनन्‌। आज पनि नबोली नै तिनले बसिबिँयालोद्वारा प्रदान गरेको गाउँ बुढाको उपाधीसित नै लौरो थापिन्‌। उद्घोषक हीरा छेत्रीले भने, अबदेखि सानुमति गुरूमा कालेबुङे साहित्य समाजको गाउँ मुखिया भइन्‌। बसिबियॉंलो मात्र होइन अरू साहित्य कर्मीहरुले कुनै काम बिराए यही लौरोले खै गर्नेछिन्‌। कालेबुङको रामकृष्ण रङ्गमञ्चमा उन्मुक्त साहित्यिक मञ्च बसिबियॉंलोले आजदेखि दुइदिने शतकीय प्रकरणलाई राष्ट्रिय कार्यक्रमकोरुपमा शुरू गरिरहेको छ। यसैको पहिलो दिन क्षेत्रीय साहित्यकारहरूको उपस्थितिमा बसिबियॉंलोले कालेबुङकी बयोवृद्ध स्रष्टा सानुमति राईलाई गाउँ बुढाको उपाधीले सम्मान गर्‍यो। भारतीमा कथा छापेर साहित्य संसारमा 1040 देखि पाइला हालेकी सानुमति राई अहिले भारतीय नेपाली साहित्य संसारमा नै धरोहरकोरूपमा रहेकी छन्‌। तिनका समकालीन सर्जकहरू धेरैले नै संसार छोडिसकेका छन्‌। कालेबुङका वरिष्ट साहित्यकार स्व.भाइचन्द प्रधानकी श्रीमति सानुमति राईले अहिलेसम्म नै नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बसिबिँयालोले तिनलाई गाउँबुढाको उपाधी दिएको हो। आलोचकहरूले सानुमति राईलाई स्वच्छन्दवादी अनि छायावादी सर्जक भनेर वर्गिकृत गरेपनि अहिलेको समयमा चलिरहेको लेखन धारासित नजिक बसेकी सानुमति राई कालेबुङका युवा सर्जकहरूको निम्ति आमाको औंली समान रहेकी छन्‌। उद्गार अनि मनपीडा कविता संग्रह प्रकाशित गरिसकेका राईलाई विभिन्न संघसंस्थाहरूले पुरस्कारहरूले सम्मान गरिरहेको छ। केहीवर्ष यता तिनी बोल्न सक्दैनन्‌। सर्जकहरूबीच लेखेर कसैलाई मनको कुरा पठन गराउने सानुमति राईले आज पनि सञ्जय विष्टद्वारा आभार चढाइरहेकी थिइन्‌। तिनले भनिन्‌, मलाई माया गर्ने सबैलाई मेरो माया। जुन सम्मान भयो, त्यले मलाई सिर्जनात्क कर्मको निम्ति उचालेको छ। मलाई अभिभावक मानेकोमा बसिबिँयालोलाई पनि धन्यवाद। मुख्य अतिथि रुद्र पौड्यालले तिनलाई दोसल्ला ओढाएका थिए भने तिनलाई बसिबिँयालोका संयोजक शमशेर अलीले प्रशस्तिपत्र प्रदान गरेका थिए। वरिष्ट नाटककार सी.के.श्रेष्ठले तिनलाई गाउँबुढाको सहारास्वरुप लौरो प्रदान गरे। निबन्धकार सीताराम काफ्लेले तिनले बारेमा भनिरहेका थिए, सानुमति राई कालेबुङकी मात्र होइन भारतीय नेपाली साहित्यको नै ओत हुन्‌। तिनी नेपाली भारतीय साहित्यको आमा हुन्‌। गाउँबुढाले गाउँको सुरक्षा र संरक्षण गरेझैं तिनले साहित्यको सुरक्षा र संरक्षण गरिरहेकी छन्‌। सबै सम्मानको उत्तरमा सानुमति राई भने मुस्काइरहेकी थिइन्‌।

0 comments: on "गाउँबुढा भइन्‌ सानुमति"