मुख्य समाचार :


बसिबियॉंलोको शतकीय प्रकरणमा आजदेखि उन्मुक्त विचारको उठान

मनोज वोगटी
कालेबुङ, 5 नोभेम्बर।
रामकृष्ण रङ्गमञ्चमा बसिबिँयालोको 100 प्रकरण आजदेखि शुर भयो। कार्यक्रममा सिक्किमका साहित्यकार, भाषाविद् रुद्र पौड्याल मुख्य अतिथि रहेका थिए भने सानुमति राई नयॉं दिल्लीका सामाजिक कार्यकर्ता डीके प्रधान विशिष्ट अतिथि रहेका थिए। बसिबिँयालोका प्रवर्तक सीके श्रेष्टले नेतृत्व गरेको टोलीले आचार संहिता पठन गरेपछि शुरू भएको कार्यक्रममा शमशेर अलीले स्वागत सम्बोधन राखेका थिए। यसैबीच कालेबुङ टेलिभिजनद्वारा तयार पारिएको बसिबिँयालोको कास्टिङ अनि वृतचित्रको पनि प्रदर्शन गरियो। गान्धी आश्रमका कलाकारहरूले पुरानो नेपाली गीतका धुनहरू बजाएर मनोरञ्जन प्रदान गरे। हाम्रो भविष्य बास संस्थानका कलाकारहरूले नृत्य प्रस्तुत गरे भने भद्रेको टोलीले नौलो प्रयोग गर्नै सामुहिक आवृति प्रस्तुत गरेका थिए। अन्तरआत्मको आवाज शीर्षकमा रहेको कवितालाई नाटकीयरुपले प्रस्तुत गर्दै नाटिकाद्वारा मानिसहरुमा खोक्रो मानसिकता विकसित भएकोले उन्मुक्तिको लडाई जित्न नसकिएको भए पनि अझ पनि दार्जीलिङका जनतालाई आफ्नो अन्तरआत्मको आवाज सुन्ने समय रहेको बताईएको थियो। कसैले शंखघोष गर्दैमा युद्ध सकिँदैन. युद्ध अझ बॉंकी नै छ, कसैले पाइला उठाउँदैमा यात्रा टुङ्गिदैन, यात्रा अझ बॉंकी नै छ-सीके श्रेष्टले भनिरहेका थिए। यसबीच दार्जीलिङका खुला साहित्यिक मञ्चका डा. रुद्रराज मास्के लगायत  मोहन प्रधान निरजद्वारा अगुवाई गरिएको सिक्किम बसिबिँयालो मञ्चका साहित्यकारहरूले पनि रचना पठन गरे भने कालूसिंह रनपहेंली, राजा पुनियानी लगायत दार्जीलिङ, सिक्किम,कालेबुङ, खरसाङका साहित्यकारहरूले पनि रचना पठन गरे। यसैबीच शिव छेत्री अनि बीके शिलालद्वारा स्पादित बाल पत्रिका बालावाज, भवजित तामङकृत कविता संग्रह भावामृत, हीरा छेत्रीकृत व्यङ्‌ग्य संग्रह कुपदेशमाला, टीएन सुवेदीकृत बाल कविता संग्रह बसन्त फेरि मुस्कुरायो अनि बसिबिँयालोको सय प्रकरणको अवसरमा प्रकाशित स्मारिकाको बिमोचन सामुहिकरुपले मुख्यअतिथि रुद्र पौड्याल, कवि राजेन्द्र भण्डारी, मोहन ठकुरी, भवानी शर्मा अनि समिरण छेत्री प्रियदर्शीको बाहुलीबाट गरियो। यसै कार्यक्रमबीच भानु र पाला नाटकको पार्ट-3 को झलकहरूपनि प्रस्तुत गरिएको थियो। मुख्य अतिथि रुद्र पौड्यालले कार्यक्रमलाई सम्बोधन गर्दै भाषा आन्दोलनकोे बेला शुरू भएको बसिबिँयालोले सयप्रकरणको फड्‌को मार्नुलाई ठूलो उपलब्धी रहेको जनाए। तिनले भने, यो मञ्च जनसाधरणको आवाज बोक्ने माध्यम बनेको छ। यो कायम रहनुपर्छ। किन राजनैतिक मञ्चमात्र चर्चित बन्ने, अब साहित्यक मञ्चलाई पनि दह्रो बनाइनुपर्छ। आज क्षेत्रीय साहित्यकारहरूको निम्ति मात्र कार्यक्रम गरिएको थियो। दुइ दिन हुने कार्यक्रममा भोलि देशका विभिन्न क्षेत्रबाट आएका सर्जकहरूले आफ्ना रचना पठन गर्ने भएको छ। कार्यक्रमको निम्ति अघिबाट नै कालेबुङमा विभिन्न क्षेत्रका सर्जकहरू आइपुगेका छन्‌। मुख्यगरी अंग्रेजी, हिन्दी, बङ्गाली, मैथली, कोंकणी तथा अन्य भाषाका सर्जकहरूले हिन्दीमा आफ्नो रचना पठन गर्ने आयोजकपक्षले जनाएको छ। कालेबुङमा पहिलोपल्ट बहुभाषिक  अनि राष्ट्रियस्तरको कार्यक्रम भएको आयोजकपक्षबाट हीरा छेत्रीले बताएका छन्‌।

0 comments: on "बसिबियॉंलोको शतकीय प्रकरणमा आजदेखि उन्मुक्त विचारको उठान"