मुख्य समाचार :


पहाड ‘तीन शक्ति’मा विभाजित नयॉं दलको गोप्य बैठक जारी

कालेबुङ, २९ नोभेम्बर|
अब पहाडको राजनैतिक शक्ति तीन हॉंगामा फैलिने देखिएको छ| एक शक्ति गोर्खा जनमुक्ति मोर्चा, दोस्रो शक्ति भागोप अनि भागोपभित्र रहेका गोर्खालिग, क्रामाकपा, गोरानिमो अनि गोरामुमो-सी अनि तेस्रो शक्ति रहेका मसिना सङ्गठन अनि राजनैतिक व्यक्तित्वहरू| सबैको उद्देश्य छुट्टैराज्य प्राप्त गर्नु तर सबै नै एकार्काको विपरित ध्रुवमा उभिएका शक्तिहरू हुन्| मोर्चाले भागोपलाई समर्थन र सहयोग नगर्ने, भागोपलाई अन्य रहेका शक्तिहरूले सहयोग र समर्थन नगर्ने| यी तीन शक्तिभित्र बॉंचेको छ 'राजनैतिक इगो'| मोर्चालाई पहाडको कुनै दलले इमान्दार मान्दैन|
 मोर्चाले जीटीएलाई गोर्खाल्याण्ड पुग्ने खुड्किलो बताएको भए पनि केवल विकासको निम्ति आविपसित हात मिलाएको भनेर आफ्नै अडानलाई अन्योलमा पारेको छ| मोर्चालाई अहिले नै छुट्टैराज्य हुने कुरामा विश्‍वास छैन| छुट्टैराज्यको परिस्थिति नबनिञ्जेलसम्म कुनै एउटा व्यवस्था थापेर बस्ने अनि पुर्वाधारहरूको निर्माणसित नै दार्जीलिङलाई आर्थिकरुपले शसक्त गर्ने राजनीति गरिरहेको छ| तर मोर्चाले आन्दोलनलाई स्थगित गरेर विकासको कुरामा सरकारसित हात मिलाउँदा देशमा गोर्खाल्याण्डको मुद्दा समाप्त भएको सन्देश जाने भएकोले मुद्दालाई बँचाइराख्न भागोपले टास्क फोर्स मार्फत देशलाई गोर्खाल्याण्डको मुद्दा जिउँदो रहेको बुझाउने रणनीति शुरू गरिसकेको छ| मोर्चा र भागोपमा छुट्टैराज्यको सवालमा सहमतिको परिस्थिति नबन्नुभित्र कस्ता राजनैतिक बाध्यताहरु लुकेको छ, त्यो विषय गर्भमा नै लुकेको छ| यता भागेपको कार्यप्रणालीमा शंका गर्नेहरू पनि देखिएको छ, त्यसै कारण ती सङ्गठन, राजनैतिक व्यक्तित्वहरू टास्क फोर्समा आएनन्| उनीहरू मोर्चा र भागोप दुवैलाई अविश्‍वास गर्दै आफ्नै शक्ति निर्माण गर्ने पक्षमा रहेको छ| मोर्चा र टास्क फोर्स बाहिर जति पनि अर्को राजनैतिक ससाना शक्तिहरू छन् उनीहरू अहिले नयॉं राजनैतिक पार्टी गठन गर्ने प्रक्रियामा लागेको पनि देखिएको छ| अहिले दार्जीलिङ, कालेबुङ र खरसाङ पछि सिलगढीमा नयॉं दलको कार्यसूची, संविधान र आचारसंहिता निर्माण गर्न जुटिरहेको थाहा लागेको छ| सूत्र अनुसार केही दिन अघि सिलगढीमा तेस्रो शक्तिको बैठक भयो| जहॉं नयॉं राजनैतिक दलको संरचनाको बुनियॉंदी आधार तयारी भएको छ| अब केवल दलको नाम घोषणा गर्नु, झण्डा सार्वजनिक गर्नु अनि दलको सैद्धान्ति पक्ष सार्वजनिक गर्नु मात्र बॉंकी रहेको पनि थाहा लागेको छ| यसबीच गोर्खा लिबरेशन अर्गनाइजेशन वा जीएलओले आफ्नो अस्तित्व प्रकट गरेको छैन| यसको प्रमुख छत्र सुब्बा अहिले मौन छन्| तिनले पनि गोजमुमोको जीटीए छुट्टैराज्यको मार्गमा बाधा रहेको बताएका थिए| तिनी अनुसार कुनै पनि व्यवस्थामा हस्ताक्षर गर्नेले छुट्टैराज्यको आन्दोलन गर्न सक्दैन|
 छत्र सुब्बा पनि आन्दोलन गर्ने अग्रसर भए तिनलाई चौथो शक्ति मान्न सकिन्छ| छुट्टैराज्यको निम्ति आन्दोलित भन्ने शक्तिहरू खण्डित रहेकोले राज्य सरकारले आन्दोलन विथोल्न षडयन्त्र गर्न सक्षम भइरहेको आलोचकहरू मान्छन्| यी खण्डित शक्तिहरू जबसम्म एक हुँदैनन् तब सबै शक्तिलाई गोर्खाल्याण्ड विरोधी शक्तिकोरुपमा नै लिइनु पर्ने यता विश्‍लेषकहरूको भनाइ छ| किन भने सबै एक नभएसम्म छुट्टैराज्यको दवाब राज्य र केन्द्रमा बनाउन सक्दैन| शक्ति खण्डित हुनु भनेको मुद्दालाई कमजोर बनाइनु हो|

0 comments: on "पहाड ‘तीन शक्ति’मा विभाजित नयॉं दलको गोप्य बैठक जारी"