मुख्य समाचार :


अब शुरू भयो वास्तविक राजनैतिक लडाईँ मोर्चा जीएटीएमा विपक्ष छुट्टै राज्यमा

मनोज वोगटी
कालेबुङ, २८ नोभेम्बर|
हरेक दलले अहिले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति रणनीति तयार परिरहेको छ| जुन जुन पनि दलको गठन भयो, उसले पहिलो कार्यक्रम भनेकै छुट्टैराज्य हुने गरेको छ| तर कुनै पनि दलले राष्ट्रियस्तरमा भारतभरिका गोर्खाहरूको राजनैतिक सुरक्षा अनि राष्ट्रिय चिह्नारीको सवालमा बलियो कार्यक्रम गर्न सकेको छैन| जति पनि दलहरू छन् सबै नै कुवाको भ्यागुता समान छन्| पहाडको तीनवटा महकुमामा नै गठित दलको तीनवटा महकुमाभित्र कै कार्यक्रमहरू हुने गरेको छ भने ती दलहरूले उनीहरूको समस्याको समाधान पनि राज्यले नै गर्नुपर्ने दाबी हुने गरेको छ| राज्य सरकारले उनीहरूले विकास र पैसाको निम्ति छुट्टैराज्यको नाममा आन्दोलन गरेको बुझेपछि आन्दोलित दलहरूलाई दागोपाप र जीटीए जस्तो व्यवस्था दिँदै सेलाउने कार्य गरिरहेको छ| सबै भन्दा ठूलो दल अहिले राज्य सरकारले छुट्टैराज्यको आवाज दबाउन फ्यॉंकेको जीटीएको जालोले बेह्रिएर बसेको छ भने अन्य दलहरू भागोपको नेतृत्वमा गोर्खाल्याण्ड टास्क फोर्सभित्र बसेर राष्ट्रियस्तरमा छुट्टैराज्यको निम्ति आन्दोलन गर्ने रणनीति तयार पारिरहेको छ|
 भागोपको २२ वटा राज्यमा सङ्गठन रहेको छ भने २२ वटा राज्यका सङ्गठनहरू अनि देशभरिका गोर्खाहरूको सङ्गठनहरूको सहयोगमा एकैसाथ छुट्टै राज्य आन्दोलन गर्न टास्क फोर्सले रणनीति बनाइसकेको छ|
टास्क फोर्सलाई गोर्खा जनमुक्ति मोर्चाको जीटीएसित कुनै सरोकार छैन अनि केन्द्रिय समिति जीएटीएमा अनि युवा सङ्गठन भने छुट्टैराज्यको आन्दोलनमा रहेको कुराले पनि केही फरक नपार्ने देखिएको छ| भागोप अनुसार क्षेत्रीय समस्या र त्यसको समाधानको कुरा र छुट्टैराज्यको कुरामा मेल खॉंदैन| यदि कसैले क्षेत्रीय समस्याको समाधानको कुरा गर्छ भने त्यसलाई भागोपको स्वागत छ तर यदि कसैले पनि क्षेत्रीय समस्याको समाधान छुट्टैराज्यको आन्दोलनको मार्गमा बाधा खडा गर्ने चलखेललाई भने भागोपले स्वीकार गर्दैन| यसै त क्षेत्रीय शक्ति र राष्ट्रिय शक्तिमा अन्तर छ| भागोपले आफूलाई राष्ट्रिय शक्तिकोरुपमा व्याख्या गर्ने गरेकोले अब भागोपको राष्ट्रिय शक्ति पनि परीक्षणमा परेको छ| क्षेत्रीयस्तरमा गोर्खा जनमुक्ति मोर्चाले आफ्नो शक्तिको प्रदर्शन गरिसकेको छ यसै कारणले त्यो शक्तिको अहमले मोर्चामा कुनै पनि राजनैतिक दल र सङ्गठनको कुरालाई सुन्ने धैर्यता छैन| मोर्चाले दार्जीलिङको तीनवटा महकुमा अनि तराई र डुवर्समा साङ्गठानिकरुपले आफूलाई बलियो ठान्ने गरेको छ यसकारण यस क्षेत्रको कुनै पनि समस्याको समाधान गर्दै पहिलो प्राथमिकता सरकारले मोर्चालाई दिनुपर्ने मोर्चाको अडान छ| सरकारले पनि पहाडमा बलियो दल रहेकोले नै अहिलेसम्म मोर्चालाई लिएर सम्झौता र व्यवस्था गठन गर्ने कार्य गरिरहेको छ| सरकारलाई बलियो दललाई लिएर सम्झौता गरिए छुट्टैराज्यको आन्दोलन सेलाएर जाने विश्‍वास छ| मोर्चाले पनि सरकारसित मिलेर जति सक्दो छुट्टैराज्यको कुरालाई पछिपार्दै क्षेत्रीय व्यवस्था हुनुपर्ने अनि आफ्नो सत्ता कायम हुनुपर्ने राजनीति गरिरहेको छ| यसबीच भ्रममापरेको जनताले विस्तारै मोर्चाको यो राजनीति बुझ्न थालेपछि रहेका अन्य दल र नेताहरूले छुट्टैराज्यको मुद्दा उठाउँदै नयॉं राजनैतिक दल गठन गर्ने प्रयास पनि गरिरहेको छ| ती दलहरूले मोर्चाको भूल देखाएर नै आफ्नो दलको अस्तित्व कायम गर्ने छनक पाइएको भए पनि पहाडका पुराना र चर्चित दलहरू रहेको टास्क फोर्सले भने मोर्चाको राजनीति र महत्वाकांक्षलाई गौण मानेको छ|
 भागोपले मोर्चाको प्रयासलाई क्षेत्रीय बताउँदै छुट्टैराज्यको निम्ति सामुहिक शक्ति निर्माण गर्न निम्तो गरेको भए पनि मोर्चा हल्लिएन| मोर्चालाई आफू बाहेक अरु कुनै पनि शक्ति बलवान नरहेको भ्रम रहेको कारण नै छुट्टै राज्यको सावलबाट भाग्दै अनि बङ्गाल अधिनस्त क्षेत्रीय प्रशासन निर्माणमा लागिपरिरहेको छ| यता भागोपको नेतृत्वमा छुट्टै राज्यको निम्ति टास्क फोर्स गठन  गर्दै रणनीति निर्माणमा जुटिसकेको छ| टास्क फोर्समा रहेका दलहरूले भागोपप्रति विश्‍वास गरेको पनि थाहा लागेको छ|

टास्क फोर्स सही निर्णय
कालेबुङ, २८ नोभेम्बर|
गोरामुमोमा रहेर मोर्चाबाट निर्वासित र पछि आफ्नै दलको स्थापना गर्दै घर फर्किएका दावा पाखरिनले टास्क फोर्सलाई सही निर्णय मानेका छन्| यिनी अहिले गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा नामक पार्टी खोलेर छुट्टैराज्यको निम्ति कटिबद्ध रहेको बताइरहेका छन्| फेडरेशन फर न्यु स्टेटमा पनि संलग्न रहेका पाखरिनले गोरामुमोमा रहँदा छैटौं अनुसूचीको वकालत गरेका थिए| गोरामुमोले समातेको छैटौं अनुसूचीको मुद्दाको कारण नै तिनी मोर्चाबाट निर्वासित बनेका थिए| गोजमुमोले तिनको घर जलाएको थियो भने तिनलाई कालेबुङबाट नै खेदाइएको थियो| पाखरिनले भागोपको टास्क फोर्समा आफ्नो दलको विश्‍वास रहेको बताउँदै राष्ट्रियस्तरमा टास्क फोर्सले आन्दोलन गर्ने अनि आफ्नो दलको सहभागिता व्यापक हुने बताएका छन्| तिनले टास्क फोर्सलाई सही समयको सही निर्णय रहेको बताएका छन्|

मुद्दा जीवित राख्ने पहल
कालेबुङ, २८ नोभेम्बर|
गोरामुमोबाट नै चुँडिएको अर्को दल गोरामुमो-सीका अध्यक्ष कर्णल डीके प्रधानले भागोपको टास्क फोर्समा आफ्नो दलको संलग्नतालाई मुद्दा बचाउने पहलकोरुपमा लिएका छन्| सी.के. प्रधानको हत्यापछि गठित यस दलमा अघि धेरै समर्थक रहेको भए पनि दलको निष्क्रियताको कारण अहिले कमजोर तर सक्रिय दलको रुपमा रहेको छ|
 भागोपको नेतृत्वले नै मुद्दालाई पार लगाउन सक्ने अनि छुट्टैराज्यको मुद्दालाई लिएर क्षेत्रीय दलहरुले व्यापक खेलवाड गरिरहेकोले मुद्दा नै संकटमा रहेको अनि मुद्दालाई जीवित राख्दै राष्ट्रियरुपमा आन्दोलन गर्न टास्क फोर्समा आफ्नो दलको संलग्नता रहेको बताएका छन्|
 छुट्टैराज्यको निम्ति भागोेपसित साथ रहेर कार्य गर्ने बताउँदै तिनले टास्क फोर्सले बनाउने आन्दोलन जनपीडक नहुने अनि राष्ट्रिय सहमतिको निम्ति कटिबद्ध रहने पनि बताएका छन्|

 कार्यक्रम नछोड्ने
कालेबुङ, २८ नोभेम्बर|
गोर्खाल्याण्ड टास्क फोर्सले राष्ट्रियस्तरमा कार्य गर्ने अनि क्रामाकपाले भने क्षेत्रीय स्तरमा कार्य गर्ने क्रामाकपा महासचिव तारामणि राईको कुरा छ| क्रामाकपाले राष्ट्रियस्तरमा आफ्नै शैलीमा कार्य गरिरहेको छ, त्यो पनि जारी रहने छ तर टास्क फोर्ससित मिलेर गर्नुपर्ने हरेक राष्ट्रियस्तरको कार्यक्रममा क्रमाकपाको सहभागिता रहने छ-तिनले भने| तिनले भने, राष्ट्रियस्तरमा टास्क फोर्सले कार्य गरिरहेको बेला क्रामाकपाले क्षेत्रीयस्तरमा जनसमस्यालाई पनि सम्बोधन गर्ने छ| चाहेको खण्डमा क्षेत्रीय स्तरमा छुट्टैराज्यको निम्ति कार्यक्रम पनि गरिने छ| मूल मुद्दामा टास्क फोर्स अनि क्षेत्रीय मुद्दामा क्रामाकपाको कार्यक्रम चल्ने भन्दै तिनले जनसमर्थन जुटाउने कार्यलाई विशेष प्राथमिकता दिइने बताए| दिसम्बरदेखि नै क्रामकपाले स्थापना दिवसको अवसर पारेर कार्यक्रमहरू शुरू गर्ने छ|


राष्ट्रिय शक्ति निर्माण गरिने
कालेबुङ, २८ नोभेम्बर|
यस अघि पनि संयुक्त मोर्चा अनि पिपल्स फोरम गठन भइसकेको हो तर यसलाई राज्य सरकारले कार्य गर्न दिएन|
सुवास घिसिङ आक्रमण काण्ड अनि मदन तामङ हत्याकाण्डपछि परिस्थिति अगणतान्त्रिक बनाइयो अनि यस्ता सङ्गठनहरूलाई दबाउने कार्य भयो तर ती पुराना घटनाहरूमाथि विमर्ष गर्दै टास्क फोर्सले कार्य गर्ने छ- गोर्खालीगका प्रतिनिधि लक्ष्मण प्रधानले भने| गोर्खालिगले भागोपमाथि विश्‍वास गरेको अनि टास्क फोर्स भागोपको नेतृत्वमा चल्ने भए पनि फोर्समा सबै दलको प्रतिनिधि रहने भएकोले सामुहिकरुपले नै राष्ट्रियस्तरको आन्दोलनको रुपरेखा तयार हुने पनि तिनले बताए|
 तिनले भने, भाषा मान्यताको निम्ति जस्तो सामुहिकता देखिएको थियो, गोर्खाल्याण्ड टास्क फोर्सको प्रयास त्यही परिस्थिति निर्माण गर्नु हो| जसको कारण छुट्टैराज्य गठन गर्ने राष्ट्रिय शक्ति निर्माण हुने छ|

गोर्खाल्याण्ड टाक्स फोर्स गठन
 वास्तविक रणनीति ८ दिसम्बरमा घोषणा गर्ने 
कालेबुङ, २८ नोभेम्बर|
भारतीय गोर्खा परिसङ्घले आज फेरि एकचोटि गोर्खाल्याण्डको निम्ति एजजुट भएर आन्दोलन गर्न  अन्य राजनैतिक दलहरूसँग बैठक गर्‍यो| १२ अक्टोबरमा भारतीय गोर्खा परिसङ्घको अघिल्लो बैठक भएको थियो| त्यस बैठकमा नै गोर्खाल्याण्ड आन्दोलनलाई राष्टिय स्तरमा अघि लैजानको निम्ति सबै दलका प्रतिनिधिहरूलाई लिएर गोर्खाल्याण्ड टास्क फोर्स गठन गरिने तय भएको थियो| गोर्खाल्याण्ड टास्क फोर्समा समावेश हुनको निम्ति दलका प्रतिनिधिहरूको नामवलीसहित बोलाइएको आजको बैठकमा केवल चारवटा राजनैतिक दलका प्रतिनिधिहरू मात्र उपस्थित थिए| यसैले आज उपस्थित भएका अखिल भारतीय गोर्खा लीग, क्रामाकपा, गोरामुमो सी. अनि गोरानिमोलाई लिएर नै गोर्खाल्याण्ड टास्क फोर्स गठन गरिएको भागोप राष्ट्रिय कार्यकारी अध्यक्ष एनोस दास प्रधानले बताए|
 भागोप अनि उक्त चारवटा दललाई लिएर गोर्खाल्याण्ड टास्क फोर्स गठन भएको आज प्रधानले औपचारिक रूपमा घोषणा गरे| आज गोर्खाल्याण्ड टास्क फोर्स गठन गरिएपनि ८ दिसम्बरमा दिल्लीमा हुने गोर्खाल्याण्ड टास्क फोर्सको बैठबाट नै भोगोपले चयन भएका पदाधिकारीहरूको घोषणा गर्ने भएको छ| प्रधानअनुसार ८ दिसम्बरमा दिल्लीमा गोर्खाल्याण्ड टास्क फोर्सको बैठक हुनेछ| सोही दिन पदाधिकारूहरू नामसहित टास्क फोर्सको वास्तविक रणनीति तय हुनेछ|
 भागोपको ९ देखि १३ दिसम्बरसम्म दिल्लीमा कार्यक्रम रहेको छ| दिल्लीमा चारवटा दलका प्रतिनिधिहरूलाई लिएर नै क्षेत्रीय अनि राष्ट्रिय राजनैतिक दलका नेताहरूलाई गोर्खाल्याण्ड गठनको औचित्यबारे भागोपले बुझाउने कार्य हुनेछ भने त्यसै अवधी १२ दिसम्बरमा नेशनल फडेरेशनको सङ्गाष्ठीमा पनि अंशग्रहण गर्ने भएको छ| गोर्खाल्याण्ड टास्क फोर्सले सडकमा, संसदमा र बौधिक स्तरमा आन्दोलन गर्ने एनोस दास प्रधानले बताए| आजको बैठमा दिल्लीमा गरिने कार्यक्रम अनि गोर्खाल्याण्ड प्राप्तिको निम्ति टास्कफोर्सले गर्ने नयॉं रणनितिबारे छलफल भएको प्रधानले बताए| तिनीअनुसार भागोपले वाइ गोर्खाल्याण्ड पुस्तिकालाई पनि चॉंडै प्रकाशमा ल्याउनेछ| अहिले अन्य दलहरूबाट पनि पुस्तिकामा छोडिएको बुँदा आइरहेको बताउँदै सोही पस्तिकाकै माध्यमबाट पनि देशको शीर्षस्थ नेताहरूलाई गोर्खाल्याण्डको औचित्य बुझाउन सकिने प्रधानले बताए|
 अधिल्लो बैठका मोर्चाबाहेक अन्य प्राय सबै दलहरूले उपस्थिति दिएको भएपनि यसपल्ट भने चारवटा दलहरू मात्र उपस्थित थियो| गोर्खालीगबाट प्रताप खाती, लक्ष्मण प्रधान, क्रामकपाका तारामणि राई, किशोर प्रधान अरूण घतानी, गोरानिमोको दावा पाख्रिन, गोरानिमो सी का कर्णल डीके प्रधान, भागोपका आर. मोक्तान आदिको बैठकमा विशेष रूपले उपस्थित थिए|


बीएसएनएले बिजुलीको बॉंकी नबुझाएकोले
कालेबुङमा टेलिफोन लाइन काटियो
कालेबुङ, २८ नोभेम्बर|
कालेबुङमा रहेको भारतीय दुर सञ्चार निगमको टेलीफोन अफिसले  विद्युत विभागलाई रहेको बॉंकी बिजुलीको बिल नतिरेपछि विद्युत विभागले कालेबुङ टेलिफोन एक्सचेन्जमा विद्युत सर्वराह नै बन्द गरिदिएको छ| आइतबार दिउँसो ११ बजीदेखि नै कालेबुङको बीएसएनएल टेलिफोन अफिसमा बिजुली काटिदिएको छ| फलस्वरूप टेलिफोन एक्सचेन्जमा विद्युत सर्वराह नै काटिदिएपछि कालेबुङको प्रायः जम्मै टेलिफोन सेवा ठप्प भएको छ| टेलिकम विभागका कालेबुङ महकुमा अघिकारी एस. रोयले बताए अनुसार उनी सोही विषय लिएर विद्युत विभागसँग कुराकारी गर्न सिलगडी गएका छन्| तिनीअनुसार यसल्ट अर्धमासिक बिजुलीको बिल १४ लाख  रूपिँया आएको छ| लगभग ६ लाख रूपिँया बालेकै बिल भएपछि रहल आठ लाख रूपिँया लेट पेमेन्ट सरचार्जको रूपमा आएको छ|
 टेलिकमले बिजुली बिल तिर्न कुनै कारणवश ढीलो भएको हुनसक्ने भएपनि लेट पेमेन्ट सरचार्ज माफी हुनपर्ने सम्बन्धमा विद्युत विभागसँग कुराकानी भएको अधिकारी एस. रोयले बताएका छन्| विद्युत विभाग सिलगडी जोनका जोनल मेनेजर एके सिन्हाले बताए अनुसार कालेबुङको बीएसएनएल कार्यलयले बिजुलीको बॉंकी बिल नतिरेकै कारण लाइन काटिदिएको हो| तिनीअनुसार  बीएसएनएल टेलिफोन एक्सचेन्जले २४ लाख रूपिँया विद्युत विभागलाई दिनपर्ने बॉंकी बील रहेको छ| त्यसमै जोडिएर आएको लेट पेमेन्ट सरचार्ज माफी हुनुपर्ने टेलिफोन एक्सचेन्जको माग भएपनि बील माफी गर्नु आफ्नो क्षमतामा नरहेकोले उच्च अधिकारीले यसमाथि निर्णय लिने जोनल मेनेजर सिन्हाले बताए| टिलिफोन एक्सचेन्जले विद्युत विभागलाई बॉंकी बिल तिर्ने बताउँदै सर्वराह सुचारू गरिदिन निवेदन गरेकोले चॉंडै कालेबुङ टेलिफोन एक्सचेन्जमा बिजुली दिइने  सिन्हाले बताए| आइतबार दिउँसो ११ बजेदेखि टेलीफोन अफिसमा बिजुली काटिएकोले कालेबुङको  प्रायः जम्मै टेलिफोन अनि फ्याक्स सेवाहरू ठप्प बनेको छ| स्मरण गराइन्छ कालेबुङमा हाल ४,००० भन्दा अधिक बीएसएनएल टेलिफोन उपभोक्ताहरू रहेका छन्| विद्युत विभागलाई बीएसएनएल टेलिकमले बॉंकी बिल नतिरेकोले टेलिफोन कार्यलयमा नै बिजुली काटिएकोले गर्दा टेलिफोन सेवा बन्द भएको हो| तरैपनि उपभोक्ताहरूमा भने आफूहरूले मोर्चाले शुरू गरेको आन्दोलनको कारण २००८ देखि यता बील नतिरेकोले लाइन काटिएको हो भन्ने अन्योलमा छन्|  टेलिफोन अफिसमा आज पनि टेलिफोन लाइन काटिएका उपभोक्ताहरूको भीड जमेको थियो| मोेर्चाको निर्देशनमा २००८ देखि नतिरेको बिजुलीको बील माफी भएपनि अहिलेसम्म विद्युत विभागलाई अधाकारिक अधिसूचना भने जारी भएको छैन|
 यसैलेे पनि हाल जनतामा व्यापक अन्योलता देखारपरेकोले अहिले काटिएको टेलिफोन लाइन पनि यसैको कारण हुनसक्ने अनुमान लगाइएको छ| एकातिर टेलिकमको आधिकारिक भनाइ भने विद्युत सर्वराह नभएकोले नै टेलिफोन लाइन दिन नसकेको बताइएको छ भने अर्कोतिर कालेबुङको केही टेलिफोन लाइनहरू भने सचल नै रहेकोले उपभोक्ताहरूले बील नतिर्नेहरूको मात्र लाइन काटिएको हो भन्ने ठानिरहेका छन्| विद्युत सर्वराहकै कारण हो भने कालेबुङको जम्मै टेलिफोन लाइनहरू नकाटिनुको रहस्य पनि उपभोक्ताहरूले खोजिरहेका छन्|  एक उपभोक्ता संयोगिता सुब्बाले बताए अनुसार तिनको घरको टेलिफोन लाइन अगस्त महिनादेखि नै काटिएको हो|
अगस्तदेखि अघिको बॉंकी बिल नतिरेकै कारण लाइन काटिएको हुनसक्ने तिनी बताउँछन्| गुनासो लिएर टेलीफोन अफिस पुगेका एक उपभोक्ता अम्बर तामाङले मोर्चाकै आदेशअनुसार अगस्त सितम्बरको बील आफूले तिरेको भएपनि हप्ता दिनदेखि लाइन काटिदिएको छ|
 अरूपण उदास अनुसार तीन-चारदिनदेखि आउटगोइङ बन्द छ अनि इनकमिङ मात्र भइरहेको छ| अहिले विद्युत सर्वराहको कारण टेलिफोन लाइन ठप्प भएको भएपनि मोर्चाको निर्देशनमा बील तिर्न छोडेपछि नै टेलिफोनलाई लिएर जिल्लाभरि नै अधिक समस्या उत्पन्न शुरू भएको छ| अहिले अगस्तदेखि यताको मात्र बील भुक्तान गर्ने कार्य भइरहेको भएपनि अघिल्लो रहल बीलकै कारण समस्या उत्पन्न भएको उपभोक्ताहरू बताउँछन्|

0 comments: on "अब शुरू भयो वास्तविक राजनैतिक लडाईँ मोर्चा जीएटीएमा विपक्ष छुट्टै राज्यमा"