मुख्य समाचार :


डम्पिङ समस्या समाधानार्थ आज संरक्षण समितिले सङ्घ-संस्थाहरूसँग बैठक गर्ने

कालेबुङ, 2 नोभेम्बर।
भालुखोपस्थित निर्माणाधीन डम्पिङ ग्राउण्ड पूर्ण हुन बर्षदिनभन्दा अधिक  समय लाग्ने भएपछि त्यतिञ्जेसम्मको निम्ति मैला फ्यॉंक्न अस्थायी विकल्प खोजी निकाल्न बिहिबार कालेबुङ संरक्षण समितिले फेरि एकचोटी अन्य सङ्घ-संस्थाहरूसँग बैठक गर्ने भएको छ। यसभन्दा अघि पनि डम्पिङ सम्बन्धी कालेबुङका जम्मै सङ्घ-संस्था, राजनैतिक दल, विधायक लगायत अन्यसँग विभागले बैठक गरेको भएपनि त्यसबेला पनि बैठक निष्कर्षबिहिन रहेको थियो। भालूखोपस्थित डम्पिङ ग्राउण्ड निर्माण कार्य भइरहेको भएपनि डम्पिङ ग्राउण्डको मुखैमा सडक दब्बिएर पैह्रो गएपछि निर्माण कार्यमा अझ ढिलाइ हुने स्पष्ट छ। निर्माणाधीन डम्पिङको चारैतिर गएको पैह्रोले डम्पिङ ग्राउण्डको अस्तित्व नै खतरामा पर्ने देखिएको छ भने पैह्रोको कारणले भविष्यमा निर्माणाधीन डम्पिङ ग्राउण्ड नरहनेे स्थिति पनि उपार्जन भएको छ। यद्यपि दुइ करोड अघिबारै खर्च गरिसकेको डम्पिङ ग्राउण्डलाई विभागले त्यसै छोड्‌न पनि सक्तैन। यसर्थ जबजसम्म डम्पिङ ग्राउण्ड निर्माण कार्य पूर्ण भइसक्तैन तबसम्म कालेबुङ नगरमा थुप्रिएको मैला फ्यॉंक्न विकल्पको खोजीमा सबै लागिपरेको छ। नगरमा थुप्रिएको मैलालाई अस्थायी रूपमै भएपनि टुङ्गो लगाउन विभागले आजसम्म डाकेको बैठक कुनैपनि फलप्रद भएको छैन। कोही पनि वास्तवमा टिस्टा नदीमा मैला फ्यॉंक्ने पक्षमा छैनन्‌ तरैपनि वाध्यतावश टिस्टामा मैला फ्यॉंक्न परिरहेको कुरा महकुमा अधिकारी स्वयंले स्वीकारिसकेका छन्‌। त्यसो हो भने जबसम्म डम्पिङको समस्या समाधान हुँदैन तबसम्म टिस्टामा मैला फ्यॉंक्ने कार्य जारी रहन्छ, टिस्टा नदी दिनोदिन प्रदुषित भइरहन्छ। नगरमा मैला थुपार्नुभन्दा बरू टिस्टामा मैला फ्यॉंक्नु उचित ठान्नै विभागले नगरको मैलालाई टिस्टामा फ्यॉंकेर स्वच्छ वातावरणमा  बस्न चाहने कालेबुङका सचेत नागरिकहरूको मुखमा ताला झुण्डाइदिएको छ। मैलामा बस्नभन्दा टिस्टामा नै भएपनि मैला चॉंही फ्यॉंकेको राम्रो भन्ने धारणा उपार्जन गरिदिएको छ। अहिले टिस्टामा मैला फ्यॉंकिरहेकोले टिस्टामा मैला फ्यॉंक्न नदिन विकल्प खोजी निकाल्न नै कालेबुङ संरक्षण समितिले संङ्घ-संस्थाहरूलाई लिएर बैठक गर्ने योजना बनाएको समितिका सभापति उदय कुमाइले बताए। डम्पिङको निम्ति अहिलेसम्म जतिपनि बैठकहरू भयो कुनै पनि फलप्रद नभएकोले यो बैठकले पनि कुनै समाधानसूत्र निकाल्छ भन्ने कुरामा विश्वास छैन। यद्यपि जबसम्म कालेबुङमा डम्पिङको स्थायी समाधान हुँदैन तबसम्म कालेबुङ स्वच्छ बन्दैन अनि नगरमा जहीँ तहीँ मैलाको थुप्रोहरू रहिरहनेछ। 

आजदेखि शुरु पार्किङ शूल्क
कालेबुङ, 2 नोभेम्बर।
कालेबुङ नगरपालिकाले नगर सुन्दरीकरण अनि ट्राफिक प्रवन्धनमा रचनात्मक परिवर्तन ल्याइरहेको छ। 1 अक्टोबरदेखि कालेबुङमा नगरपालिका प्रशासनले नयॉं ट्राफिक नियम लागू गरिरहेको छ। वाहनहरूको घुँइचो अनि फुटपातको घुइँचो हटाउँदै नगरापलिकाले यसपल्टदेखि उल्लेखनीय कार्य गरेपनि नयॉं नियमलाई प्रभावकारी बनाउन सकिरहेको छैन। तरै पनि नयॉं नियमले नगरमा देखापर्ने जामको समस्यालाई भने मत्थर पारेको छ। चालकहरूलाई नयॉं नियमको आदत गराउन ट्राफिक प्रशासनले पहललाई कडा बनाइरहेको छ। नगरमा थुप्रिने वाहनहरूको घुँइचोले नगरपालिकाको सुन्दरीकरणमा पुर्‍याउने हानिलाई हेरेर मात्र होइन अहिलेसम्म अव्यवस्थित बनेको पार्किङ समस्यालाई समेत सधैँको निम्ति व्यवस्थित गराउन नगरपालिका प्रशासनले आजदेखि पार्किङ शुल्क उठाउन शुरू गरेको छ। नगरको विभिन्न ठाउँहरूमा पार्किङ जोन राखिएको छ भने त्यहॉं पार्किङ गर्ने दुइचक्के वाहनहरूलाई घण्टाको पॉंच रुपियॉं गरेर पार्किङ शुल्क उठाइन शुरू गरिएको छ भने चार चक्के वहानलाई घण्टाको दस रुपियॉं पार्किङ शुल्क तोकिएको छ। यस अघि यसप्रकारले शुल्क उठाइएको थिएन। यसकारण वाहनहरू लापारबाहीरुपले राखिने गरिएको थियो। शुल्कको कारण वाहन व्यवस्थित बन्ने आशा गरिएको छ।

0 comments: on "डम्पिङ समस्या समाधानार्थ आज संरक्षण समितिले सङ्घ-संस्थाहरूसँग बैठक गर्ने"