मुख्य समाचार :


छुट्टैराज्यकोे कुरा पछिको हो, अहिले जीटीए बनोस्‌-डा.छेत्री


कालेबुङ, 1 नोभेम्बर।
आदिवासी विकास परिषदले मोर्चासित सम्झौता गर्ने बित्तिकै आविपभित्र नै अन्तरकलह शुरू भएको छ। आविपको क्षेत्रीय नेताहरूसित मोर्चाको सम्झौता भए पनि आविपको राज्य समितिबाट नै विरोध भएपछि सम्झौता फलप्रद हुने कम्ति लक्षण देखापरेको छ तर मोर्चाका प्रवक्ता डा.हर्कबहादुर छेत्री यस्तो ठान्दैनन्‌। तिनी अनुसार आविपसितको पहिलो बैठकमा बिरसा तिक्री स्वयं उपस्थित थिए, त्यसबेला तिनको विरोध थिएन। यो सम्झौता हुन जति साह्रोे थियो असफल हुन पनि त्यति नै गाह्रो रहेको डा. छेत्रीको भनाइ छ। यदि असफल भएमा डुवर्सको राजनीतिमा नै अस्थिरता आउने बताउने डा. छेत्रीले आदिवासीहरूले यस्तो गल्ती नदोहोर्‍याउने ठोकुवा पनि गरेका छन्‌। तिनले भने, यदि आदिवासीहरूले गल्ती दोहोर्‍याए आदिवासीहरू टुक्रिने छन्‌। यस्तो दोष लाग्ने कार्य आदिवासीहरूले गर्ने छैनन्‌। तिनी अनुसार सम्झौता फलप्रद नहुँदा जति असर मोर्चालाई हुन्छ त्यो भन्दा धेर असर आदिवासीहरूलाई हुने छ।
मोर्चासित जुन सम्झौता भएको छ, त्यही अनुसार नै मोर्चाले कार्य गर्नेछ। आविपभित्रको अन्तरकलह उनीहरूको हो जसको समाधान पनि उनीहरूले नै गर्नेछन्‌। डा छेत्री अनुसार आन्दोलनमा जोडिएर आदिवासीहरूलाई न्याय माग्ने मौका पाएको छ। किन भने उनीहरू एक्लै लड्‌न सक्दैनन्‌, अब लड्‌ने मौका पाएको छ। विकासको निम्ति आविपसित मोर्चाले सम्झौता त गर्‍यो तर मोर्चाको जीटीएको लक्ष्य गोर्खाल्याण्ड रहेको कुरा आविपलाई पनि थाहा छ। यसैकारण सम्झौतापछि पनि पत्रकार सम्मेलन गर्दै आविप प्रतिनिधिहरूले मोर्चाले गोर्खाल्याण्ड राज्यको माग गरे साथ छोड्‌ने घोषणा गरेका छन्‌। यस सम्बन्धमा डा. छेत्रीसित मोर्चाले उसोभए छुट्टैराज्यको मुद्दा छोडेको हो त भन्ने प्रश्न गर्दा तिनले भने, छुट्टैराज्य पछिको कुरा हो, अहिले जीटीए बनोस्‌ न। एउटा कुरा बनेको छैन, त्यसले जनताको आकांक्षा पुरा गर्छ गर्दैन पत्तो पाइएको छैन। राजनीति वर्तमानलाई हेरेर गरिन्छ। वर्तमानलाई ठीकसित प्रयोग गरेेमात्र भविष्य ठीक हुन्छ। वर्तमान भुलेर भविष्यको कुरा गरे सबै यथार्थहरूलाई भुलिपठाइने छ। यसकारण आविपसित वर्तमानलाई हेरेर नै सम्झौता गरिएको हो। तिनले अझ भने, भविष्य सोंच्नुपर्छ तर वर्तमानलाई आँखा चिम्लेर होइन। वर्तमानको परिस्थितिलाई नकारेर भविष्यबारे बोल्न पनि वर्तमानको राम्ररी ज्ञान हुनुपर्ने बताउँदै वर्तमानको ज्ञान नहुनेले गरेको भविष्यको कुरा काम नलाग्ने पनि तिनले बताए। तिनीसित हाइपावर कमिटीबारे देखापरेको अन्योलपरक कुराबारे पनि तिनले स्पष्टिकरण दिए। जीटीएको हाइपावर कमिटीलाई अध्यक्षले विघटन हुन्छ भनिरहेका थिए भने प्रवक्ता आफैले भने कमिटीको काम सजिलो भयो भनिरहेका थिए। तिनको आफ्नै टिप्पणी अनि अध्यक्षको टिप्पणीबीच आएको मदभेदबारे स्पष्टिककरण दिँदै भने, हाइपावर कमिटी विघटन हुन्छ नै। हाइपावर कमिटीकोे कार्यालयको काम 31 अक्टोबरसम्म अन्तिम दिन थियो, अब कार्यालय बन्द भयो।
 हाइपावर कमिटीको काम भनेको तृणमूलस्थिति निरीक्षण गर्नुथियो। दाबी गरिएको भूभागहरूमा असुविधा छ छैन हेर्नु थियो। आविपले हामी साथमा छौं भने पछि हाइपावर कमिटीको काम सकिएको बराबर हो। विरोध गर्ने आविप नै थियो, अविप नै मोर्चासित मिलेपछि हाइपावर कमिटीको औेचित्य रहेन भनेर अध्यक्षले भन्न खोजेको पनि तिनले बताए। यता भागोपको गोर्खाल्याण्डको निम्ति गरिरहेको पहललाई डा.छेत्रीले बधाई दिएका छन्‌ भने उता क्रामाकपाले केन्द्र र राज्यसित मिलेर षडयन्त्र गरिरहेको भनेर लगाएको आरोप सम्बन्धमा क्रामाकपाको जति योग्यता छ उति नै बुझेको बताए।
मोर्चाको आन्दोलनकालभरिमा घरिघरि फेरिने मुद्दाको कारण जनतामा आउने अन्योलता प्रमुख दोेष मानिएको छ।  गोखाल्याण्ड, सेटअप, प्राधिकरण, गोखार्र्-आदिवासी प्रदेश, जीटीए अनि अहिले जीएण्ड एटीएसम्म मोर्चा आइपुगेको छ। अब त नाम फेरिँदैन होला भन्ने सम्बन्धमा डा. छेत्रीसित प्रश्न गर्दा तिनले भने, हाम्रो अन्तिम लक्ष्य त गोर्खाल्याण्ड नै हो। मुद्दा फेरिनु भनेको परिस्थितिको कारण हो। यो नै स्थायी भन्ने कुरा हुँदैन। घरिघरि मुद्दा फेरिनु भनेको घरिघरिको परिस्थितिको कारण हो। आन्दोलनको प्रथम अध्याय जीटीएमा सकियो, दोस्रो अध्याय कहिले शुरू गर्नुपर्ने हो, त्यसमा के लेखिन्छ परिस्थितिमा नै निर्भर पर्छ। अहिले नै केही भन्न सकिन्न।

0 comments: on "छुट्टैराज्यकोे कुरा पछिको हो, अहिले जीटीए बनोस्‌-डा.छेत्री"