मुख्य समाचार :


फर्कियो क पुरी क

हाइटेक कखरा

मनोज वोगटी
कालेबुङ,4 मई।

कोही पनि अभिभावकले आफ्ना नानीलाई स्कूल लगाउन अघि हजारपल्ट सोंच्ने गर्छन्‌। अन्तमा तय हुन्छ बुताले भ्याउनसक्ने अंग्रेजी नर्सरी स्कूलबाट नै आफ्ना नानीले प्राथमिक शिक्षा आर्जन गर्नेछ। त्यसपछि नानीको शिक्षा शुरू हुन्छ ट्विङ्‌कल, ट्विङ्‌कल लिटर स्टार, बाबा ब्लाक्सिप-जस्ता अंग्रेजी राइम्सहरूबाट। जबसम्म एबीसीडीसित नै बटट अंग्रेजी राइम्सहरू नानीले छिचोल्दैन तबसम्म अभिभावकलाई नानी अंग्रेजी स्कूल पढ़िरहेकोमा आनन्द आउँदैन। क ख र अ आ भन्दा अघि नै एबीसीडी पढ्‌नुपर्ने नर्सरीबाट शिक्षा शुरू गर्ने त्यही नानी श्रेणी चढ्दै गएपछि आफ्नै मातृभाषामा कमजोर बन्छन्‌। पछि उसैले सबैलाई गर्वसाथ भन्छ-मलाई त नेपाली लेख्न पढ्‌न नै आउँदैन। अंग्रेजीकरणले निलिसकेको नेपाली सभ्यतामा मातृभाषाले पाउने यही अवहेलनालाई धेरै नजिकबाट अनुभूत गरेपछि अन्तमा रम्बीका देवासिश मोथेलाई लाग्यो यस्तै हो भने त हाम्रो नेपाली वर्णमाला विलुप्त हुनेछ। आजका विद्यार्थीहरूलाई नेपाली भाषातिर आकर्षित गर्न कुनै कार्य अवश्य नै गर्नुपर्छ। मोथेले यसो सोंचेको चारवर्षपछि नेपाली वर्णमालाहरूले सङ्गीतवद्ध एनिमेशनको रूप प्राप्त गर्‍यो।

आज रामकृष्ण रङ्गमञ्चमा यही नेपाली वर्णमालाहरूको एनिमेशनको विमोचन हुँदा देवाशिष मोथेको हर्षको सीमा थिएन। कालेबुङ टेलिभिजन तथा केटीभीको सौजन्य र समायोजनामा देवाशिष मोथेले चारवर्ष लगाएर तयार पारेको नेपाली वर्णमालाहरूको सङ्गीतबद्ध एनिमेशनको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै केटीभीका निर्देशक नरेन्द्र तामाङले भनिरहेका थिए, देवाशिषले नेपाली वर्णमालाहरूको उद्वार नै गरेका छन्‌। अब नानीहरूले एनिमेशनद्वारा नेपाली वर्णमालाहरूको ज्ञान लिनेछन्‌। नेपाली वर्णमाला नाम गरेको एनिमेशन एल्बममा स्वर र व्यञ्जन वर्णहरूलाई सङ्गीतबद्ध गरिएको छ भने रम्बीका विद्यार्थीहरूले त्यसमा स्वर दिएका छन्‌। ती नै सङ्गीतबद्ध वर्णमालाहरूलाई एनिमेटेट गरिएको छ, जसलाई घरघरमा हेरेर नानीहरूले स्कूलको सिँडी टेक्न अघि नै मातृभाषाको प्राथमिक ज्ञान लिन सक्नेछन्‌।

उद्घोषिका ललिता प्रसादले सगर्व भनिरहेकी थिइन्‌, यस्तो ऐतिहासिक कार्य सम्पादन गर्न पाउनु केटीभीको सौभाग्य बनेको छ। केटीभीको अनलाइन न्यूज अथवा वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु डट केटीभी कालिम्पोङ डट कम-को विधिवत उद्घाटन अनि वार्णमाला एनिमेशनको उद्घाटन कार्यक्रममा वर्णमाला परिवारले नेपाली कखरालाई लयबद्ध गर्ने रम्बीका बाल गायक गायिकाहरूलाई पनि उभ्याएको थियो। उनीहरूले क्यासेटमा गाएका वर्णमालालाई मञ्चमा उभिएर गाइरहँदा सबैमा मातृभाषाप्रतिको प्रेम बल्झिएको थियो। दोस्रो श्रेणीदेखि दशौं श्रेणीसम्म पढ़िरहेका रम्बीका कलाकार विद्यार्थीहरूले उपस्थित समूहलाई पनि लयहालेर कखरा सिकाए।

मोथेले पत्रकारहरूलाई भनिरहेका थिए, जतिबेला मैले यो प्रोजेक्ट शुरू गरेको थिएँ, त्यतिबेला कति कलाकारहरूको भर्खर बोली फुटेको थियो। कोही पनि प्रशिक्षित कलाकारहरू होइनन्‌। मैले मेरो घरवरिपरिका नानीहरू थुपारेर यो प्रोजेक्ट शुरू गरेको हुँ। मोथेले नै कखरामा सङ्गीत दिएका हुन्‌ भने यसमा देश विदेशका तिनका मित्रहरूको पनि ठूलो सहयोग रहेको छ। मोथेले भने, जापानका साथीहरू आशाको सिनोरा, आत्सुको होण्डा, फ्रान्सका एक्सेल अनि नेश्नल इन्स्टिट्यूट डिजाइनिङमा पढ़िरहेका सिटोङका निवेश गुरूङले यसकार्यमा साथ दिएका हुन्‌। तिनले नानीहरूमा वर्णमाला सिक्ने उत्सुक्ता बढ़ाउनको निम्ति भनेर मात्र वर्णमालाको एनिमेशन निकालेको बताउँदै भने, वर्णमाला मात्र होइन भुँइक्लास र त्यसमाथिका श्रेणीहरूमा पढ़ाइने कविताहरूलाई पनि सङ्गीतवद्ध गरी एनिमेशन बनाइएको छ, जसलाई नेपाली राइम्सकोरूपमा नानीहरूले गाउन सक्नेछन्‌। बाजेबाजुले पढ्ने कपुरी क, खरायो ख-लाई पनि सङ्गीतबद्ध गरि एनिमेशन गरिएको छ। पुर्खाहरूले जुन मनोविज्ञानले कखरा पढ्न अक्षरहरूलाई अथर्र्बोधी बनाउन लय निकाले त्यसैबाट पनि मनोरञ्जन लिँदै नानीहरूले वर्णमाला सिक्नसक्ने छन्‌ भन्ने मेरो सोंचाइ हो।

अंग्रेजी, हिन्दी बङ्गाला भाषामा यस्ता काम भइसकेको शान्तिनिकेतन विश्वभारतीमा संङ्गीत सिकिरहेको बेला थाहा पाएको अनि अन्य भाषीहरूले आफ्नो भाषालाई गरेको माया देखेर नै मोथेलाई यसप्रकारको कार्य गर्न मद्दत मिलेको तिनले बताए। यसलाई व्यवसायिकरूपले पनि सोंचिएको छ, तर यसको निम्ति प्राविधिक पक्ष हामीसित कमजोर छ। यो समस्याको समाधन हुनसके अनि सहयोग भए विज्ञान, हिसाब, भूगोल. इतिहासलाई पनि सङ्गीतबद्ध गरी एनिमेशन बनाउने सोंचेको छु-मोथेले भने।

0 comments: on "फर्कियो क पुरी क"