मुख्य समाचार :


रम्बीका हिरोहरू

मनोज वोगटी
कालेबुङ,4 मई।


नेपाली भाषामा अडियो भिडियोमा एनिमेटेड वर्णमाला अहिलेसम्म निस्किएको छैन। रम्बीका देवाशिष मोथेले तयार पारेको नेपाली वर्णमालाको सङ्गीतबद्ध एनिमेशन नै प्रथम रहेको छ।













मोथेले शान्तिनिकेतन पढ्‌दा देखेका थिए कि कसरी हिन्दी र बङ्गलामा मात्र होइन विश्वभरिका भाषाहरूमा मसिना नानीहरूलाई जमाना अनुसारको शिक्षा दिइने सभ्यता हुर्किरहेको छ। तिनले फर्किएर आफ्नो भाषालाई हेरे, जुन भाषालाई माया त गरिन्छ तर यसको संरक्षण र सम्वर्धनको निम्ति भाषा सिकाउने पद्धतिलाई भने बिकास नै गरिएको छैन।

आजका नानीहरूले अंग्रेजी सिक्नको निम्ति बजारभरि सीडीहरू उपलब्ध छ तर आफ्नै मातृभाषा सिक्नको निम्ति न त भरपर्दो शिक्षण पद्धति नै छ न त विद्यालय नै। अंग्रेजी स्कूल र पश्चिमी सभ्यताले ग्रस्त नेपाली समाजलाई बँचाएर राख्नुको निम्ति उसले बोल्ने भाषाको सम्वर्धन हुनु पहिलो आवश्यता हो। मोथे आफैलाई पनि नेपाली सिक्न गाह्रो परेको थियो। सिकाउने पद्धति त अविकसित छ नै मातृभाषालाई विद्यालयमा पहिलो प्राथमिकता छैन। मोथेलाई जमानालाई पछ्‌याउँदै जानु हो भने शिक्षण प्रणालीलाई पनि हाइटेक बनाइनुपर्ने कुराले निक्कै पिरोलेको थियो। यसैकारण नेपाली वर्णमालालाई लय हालेर सङ्गीत भरेर मात्र होइन यसको एनिमेशन नै बनाइए नयॉं जमानाका विद्यार्थीहरूलाई भाषाप्रति आकर्षित गर्न सकिन्छ भन्ने लाग्यो। मोथेले वर्णमाला, नेपाली बाल कविता र पूर्खाले वर्णमाला सिक्दा प्रयोग गरेको मनोवैज्ञानिक पद्धतिहरूको संग्रह गरे। आफै संङ्गीतकार। वर्णमाला र बालगीतहरूमा लय भरे। यसको एनिमेशन बनाउन एनिमेशन बनाउन जान्ने र चित्रकार साथीहरू पनि पाए।

मोथेले सोंचे अनि सबैबाट सहयोग पनि पाए। मोथेको सपना साकार तरै पनि पूरा हुने थिएन यदि तिनकै घर वरिपरिका केटाकेटीहरूले तिनलाई सहयोग नगरेको भए। गाउँका फुच्चेहरूलाई बटुले, लय हालेका कखरा गाउन लगाए। दिनोदिन अभ्यासहरू भए अनि आज ती गाउँले नानीहरू पहिलो एनिमेटेड सङ्गीतवद्ध वार्मामाका पहिलो गायकहरू भए।

ती फुच्चेहरू हुन्‌, कुशुम कार्की, गौतम तामङ, सन्दिप थापा, रबिन राई, ममता भुजेल, कौशिका कार्की, नोर्देन शेर्पा, कुन्दन राई, श्रावन राई, अनिश छेत्री, निशा छेत्री अनि नेहा छेत्री। सन्दिप थापा नोेर्देन शेर्पा त भर्खर दोस्रो श्रेणीमा पढ़िरहेका छन्‌। सन्दिप थापाले भने, हामीले एनिमेशन हेरेर सिक्ने मौका नपाए पनि अब आउने भाइ बहिनीहरूले सिक्न पाउने छन्‌। म र साथीहरू सबै खुशी छौं। रम्बीका यी हिरोहरू इतिहास कै हिरो बनेका छन्‌। अब यी हिरोहरूका यो स्तुत्य कार्यले आउने पिँढीले नेपाली भाषालाई कॉंधमा बोक्ने जिम्मेवार छोड़ेको छ।

0 comments: on "रम्बीका हिरोहरू"