कालेबुङ,22 मार्च।
चिन्हारी सिन्हारी मारो गोली, विकास भए हुन्छ। पैसा नै चिन्हारी हो-मोर्चा यसो भन्छ।
यता क्रामाकपाले भने विकासले चिन्हारी बन्दैन, छुट्टै राज्य नै हुनुपर्छ भनिरहेको छ। राजनैतिक विभेद र मत भिन्नता यहीँ छ। मोर्चा चिन्हारी छोडेर विकासतिर लम्कियो तर औसत राजनैतिक दलहरू भने चिन्हारीको पक्षमा छन्। ठीक जीटीएको कानून बनिसकेको अवस्थामा अचानक इस्लामपुर, खोरीबारी, पानी ट्याङ्की, नक्सलबारी, मेडिकल मोडका सरकारी कार्यालयतिर व्यापकरुपमा नै गोर्खाहरू विदेशी रहेको आरोप लगाइएको मात्र होइन गोर्खाहरूले दार्जीलिङ छोड् भनिएका पोष्टरहरू देखापर्यो। मोर्चाले यसलाई गम्भीर नलिए पनि चिन्हारीको निम्ति छुट्टै राज्यको दाबी गरिरहेकाहरूको निम्ति यो घटनालाई गम्भीर लागेको छ। डा. हर्कबहादुर छेत्रीले जसले पनि पोष्टर टॉंसे उनीहरू नै विदेशी रहेको ठाडो टिप्पणी गरे पनि क्रामाकपाको भनाइ भने अर्कै छ। क्रामाकपा कालेबुङ आञ्चलिक सचिव मोहन पौड्यालले बताए अनुसार पैसा र विकासमा छुट्टै राज्यको मुद्दा साट्नेहरूको कार्यले नै यस्ता विरोधी शक्ति शसक्त बनिरहेको छ। तिनले भने, कुनै पनि ठाउँका अल्पसंख्यक बिहारीलाई कसैले पनि विदेशी भन्न सक्दैनन् किन भने उनीहरूलाई यसो भनेमा बिहार बोल्छ। तर गोर्खाहरूलाई बारम्बार नै विदेशीको लाञ्छना लगाइन्छ। यसै कारण नै क्रामाकपाले छुट्टै राज्यको मुद्दा चिन्हारीको मुद्दा हो भनेको हो। अहिले विभिन्न ठॉंउमा देखापरेका गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाएका पोष्टरहरूले नै गोर्खाहरूलाई छुट्टै राज्यको आवश्यकता छ भन्ने प्रमाण दिइरहेको पनि पौड्यालको विचार छ। तिनले भने, गोर्खाहरूको छुट्टै राज्य भएमा कसैले पनि गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउने हिम्मत गर्न सक्दैन। देशभरि नै गोर्खाहरूले यस्तै शक्तिहरूको सामना गर्न परिरहेको छ। पौड्याल अनुसार गोर्खाहरूलाई विदशी भन्ने कार्य अहिलेको नयॉं होइन। मौरारजी देशाइदेखि बिरसा तिर्की समेतले गोर्खाहरूलाई विदेशी भनिरहेका छन्। उनीहरूले किन यसो भनिरहेका छन्? उनीहरूसित कुन आधार छ र गोर्खाहरूलाई विदेशी भनिन्छ? किन खॉंटी भारतीय गोर्खाहरूलाई विदेशी भनिन्छन्? देशका शीर्ष नेतादेखि रिक्सावाला समेतले नै गोर्खाहरूलाई विदेशी किन भन्छ? यसको जवाब देशलाई गोर्खाहरुले मागिरहेको छ। यसै कारण चिह्नारीको निम्ति छुट्टै राज्य चाहिन्छ। पौड्यालले भने, दार्जीलिङको तिनवटा महकुमाको विकासले नै चिह्नारी बनिन्छ भन्नेहरूलाई यो ठूलो समस्या होइन तर देशभरिका गोर्खाहरूले विदेशीको जुन लाञ्छना सहिरहेका छन्, यो खेलॉंइची कुरा होइन। यही लाञ्छनाको निकास छुट्टै राज्यले मात्र गर्छ। तिनी अनुसार छुट्टै राज्य भएमा गोर्खाल्याण्ड राज्यमा रेहका संसाधनहरूले नै राज्यलाई पाल्न सक्छ। केन्द्रसित भीख माग्नुपर्ने स्थिति आउने छैन। क्रामाकपाले आर्थिक सम्भाव्यताको दस्तावेज नै प्रकाशित गरिसकेको छ। केन्द्र र राज्य सरकारलाई पनि दिइएको छ। छुट्टै राज्यले गार्खाहरूको चिह्नारीको संकटदेखि लिएर विकासको संकट पनि समाधान गर्ने छ। तिनले जनाए अनुसार छुट्टै राज्यको मुद्दालाई निकृष्ट विकास एजेन्सीसित साट्ने गरेकोले नै गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउनेहरू सक्रिय भइरहेको छ। तिनले भने, क्रामाकपाले आह्वान गर्छ, यही घटनालाई शिक्षाकोरुपमा लिएर देशभरिका गोर्खाहरूको राष्ट्रिय चिन्हारी निश्चित गर्न छुट्टै राज्यको आन्दोलनमा सबै एउटा बाटोमा लाग्नुपर्छ। सामुहिकरुपले बलियोरुपको आन्दोलन गरेमा देशमा छुट्टै राज्यको परिस्थिति निर्माण गर्न सकिन्छ। परिस्थिति निर्माण गर्नदेखि डराएर वा राजनैतिक महत्वाकांक्षा राखेर मुद्दालाई विकाससित साट्नेहरूलाई जनताले जवाब दिनुपर्छ।
पग्ला कुकुर
12 years ago
0 comments: on "गोर्खाहरूलाई विदेशी लाञ्छना चिन्हारीको निम्ति राज्य हुनुपर्छ-क्रामाकपा"
Post a Comment