मुख्य समाचार :


जीवन फर्काउँदै बिक्रम

  • मनोज वोगटी
गोरुबथानको होलिचाइल्ड स्कूलको नवौं कक्षामा शिक्षक शुभराज सुब्बाले एक दिन विद्यार्थीहरूलाई सोधे-
‘भविष्यमा तिमीहरू के के बन्ने, लु मलाई बताउ त।’
चलचित्र ‘जिन्दगी आउँदैन फर्केर’-को एउटा दृश्य


सरको चोर औंला उठ्‌दै-उठ्‌दै उतिर तेर्सिँदा मनबाट नै ‘यो भन्छु, यो भन्छु’ भनेर भविष्यमा आफू ‘बन्ने’ भनेर लुकाएको कुरा उसले भन्यो-
‘हिरो बन्छु सर।’
‘अहिले सम्झन्छु, यो हुन्छु भनेर सोंचियो भने त्यो हुन सकिने रहेछ’-निर्देशक अमर रसाइलीले हिरोको सट ओके गरिसकेपछिको ब्रेकमा गोरुबथानको होलिचाइल्ड स्कूलको नवौं कक्षामा शिक्षक शुभराज सुब्बालाई ‘हिरो बन्छु’ भन्ने विक्रम पराजुलीले कालेबुङको सप्तश्री ज्ञानपिठ स्कूलको नवौं कक्षामा नै उभिएर सरोकार-लाई भने। बिक्रम पराजुली पहिलोपल्ट हाइ डेफिनेशनमा सम्पूर्ण तक्निकीय प्रयोगसित तयार भइरहेको आफ्नै ठूलो पर्दाको चलचित्र ‘जिन्दगी आउँदैन फर्केर’-को हिरो हुन्‌।
***********
स्कूलमा सरलाई हिरो हुन्छु भन्ने बिक्रमले हिरो हुने मौका गोरुबथानबाट नै बनिएको पहिलो अडियो भिडियो गीति एल्बम आशिषबाट पाए। तिनी आफ्नै गाउँको एउटा डॉंडामा थुदेन भोटियाको यो मन बरालिन्छ भन्दै अभिनय गरिरहेका थिए। धेरैपल्टको कट र ओके-ले हत्तु हैरान बनेको बिक्रमलाई लागेको थिएन म हिरो बनिरहेको छु। क्यामेरामा म कस्तो देखिएछु भन्ने हेर्नेे रहर सूटिङको बेला पूरा नभए पनि तिनले परिवारसित नै टीभीसेट अघि बसेर आफूलाई हेरेका थिए। टीभीसेट अघि दृश्यमा आफूलाई देख्दा बिक्रमको अनुहार रातो भएको थियो। श्याम वर्णको विक्रमको गाला रातो हुँदा कस्तो देखियो होला, तिनले अनुमान कहिले गरेका छैनन्‌। तर आशिष-मा तिनलाई ठ्याक्कै हिरो जस्तै उतार्ने चलचित्र निर्देशक अमर रसाइलीले नै बिक्रमकोे सबैभन्दा ठूलोे लागतमा बनिरहेको ठूलोपर्दाको चलचित्र ‘जिन्दगी आउँदैन फर्केर’को निर्देशन गरिरहेकोमा बिक्रमलाई खुब आनन्द लागेको छ।
***********
25 वटा एल्बम, 10 वटा टेलिफिल्म अनि चारवटा फिचरफिल्ममा हिरो बनेर पनि तिनलाई लागेछ, ‘म हिरो नै बनूँ कि निर्माता?’
तिनले भने ‘हिरो त छु नै, तर म हिरो भइरहँदा, मलाई हिरो बनाइरहनेहरूको अभाव धेर अनुभव गरियो।’ किन बिक्रमलाई यति छिटो नै यो अनुभव भयो? सोध्न अघि नै तिनले सुनाए ‘आफ्नै क्षेत्रमा चलचित्र उद्योगको जग बसाल्न पर्ने भयो। फिल्ममा काम गर्नेहरूले ठूलो क्षेत्रतिर नै हाम्फाले। आफूलाई चिनाए। तर आफ्नो क्षेत्र बञ्जर नै बस्यो।
नखनिएको बारीमा काइदा मिल्यो भने धेर फसल लाग्छ भन्ने बुढापाकाको भनाइ छ। म बुढापाकाको कुरा पो सुनौं कि? भन्ने सोंचमा आफ्नै आँगनमा नै बसें। मलाई लाग्छ, यसलाई प्रोफेसन बनाउने र यसबाट नै जीवन धान्ने विकल्पको खोज म गरिरहेको छु। त्यसै कारण नै मलाई लागिरहेको छ म सफल भइरहेको छु। यो परिणति आउनको निम्ति म हिरो नै बसिरहनु नसक्ने भएँ। त्यसकारण हिरोलाई नै डोहोर्‍याउँदै निर्माता पनि छु।’
कुरालाई सफाचटरुपमा भन्ने र प्वाक्क भनेर धेर छुच्चा भनिमाग्ने बिक्रमले दार्जीलिङको भूमिलाई खनेर यस्तो उद्योगको जग बसालिरहेका छन्‌, जो भारत र नेपाल कै तुलनामा पनि पहिलो सफल कसरत हो। र बिक्रम नै पहिलो उद्धमी पनि। यसलाई पुष्टि गर्ने आधार हो तिनको टेलिचलचित्र ‘तिम्रो बासित पैसा छैन।’
***********
केहीदिन अघि मात्र चर्चित नेपाली चलचित्र निर्देशक तुलसी घिमिरेले बाग्राकोटमा भनेका थिए-‘हामीले यताको यस्ता साहित्य छोडिरहेका रहेछौं, जसलाई चलचित्रमा उतार्न सकिन्थ्यो। म चुकेको रहेछु भन्ने लागिरहेको छ। अब साहित्य र चलचित्रलाई एकसाथ समेटेर यतैबाट अघि बढ्‌ने प्रण गरिरहेको छु।’
यता भारतमा त के नेपालमा नै पहिलोरुपमा बिक्रम हाइस्कूलको नेपाली सिलेबसमा भएको कथालार्ई चलचित्रमा उतारेर अडियो भिजुवल टिचर बनिसकेका छन्‌। सिलेबसको कथामा रहेको अक्षरलाई भिडियोकरण गर्दै विद्यार्थीलाई दृृश्यकथा अनि क्यारेक्टरबाट सामाजिक सुन्देश दिने काम गर्नु जोखिम त हो नै चुनौति पनि हो। यसैमा सफल भइयो भने एउटा राम्रै उद्योगको निर्माण हुने विश्वास बिक्रममा थियो। बिक्रमको
विश्वास अहिले दृडतामा रुपान्तरण भयो किन भने सिलेबस चिलचित्रबाट विद्यार्थीलाई ज्ञान मात्र नदिएर तिनले राम्रै आम्दानीको बाटो पनि खोलिसकेका छन्‌।
तिनको टेलिचलचित्र तिम्रो बासित पैसा छैन-ले सय शो पार गरिसकेको छ। औँठीबाट सबैलाई लोभ्याएर बिक्रमले सफलताको एउटा बलियो सूत्र उत्खनन्‌ गरेका छन्‌। हिरो-बाट मोह बटारिँदै निर्माता हुनुपर्ने आग्रह पनि तिनलाई औंठीले नै दियो। तिनले अच्छा राई रसिकको कथा औंठी-लाई टेलिचलचित्रमा उतारेर चलचित्रको क्षेत्रिय उद्योग शुरू गरे। 50 शो चल्यो औंठी। त्यसपछि मुलूक बनाए। राजनैतिक हस्तक्षेप भयो। राम्ररी दर्शकले हेर्न नपाइ व्याण्ड भयो। दार्जीलिङमा चलचित्र व्याण्ड भएको इतिहास कायम गर्ने चलचित्र त्यही मुलूक हो। छुट्टै राज्यको जनाकांक्षालाई अझ तीब्र गर्ने मुलूक जनताले चाहेको मुलूक जस्तै सफल हुन पाएन। यता मुलूक व्याण्ड भयो उता छुट्टै राज्यको दाबी पनि व्याण्ड भयो। मुलूक व्याण्डले पनि जनतालाई भने राम्रै पूर्वसूचना दियो। यसलाई पनि असफलता भन्न मिल्दैन। त्यसपछि बनाइएको तिम्रो बासित पैसा छैन-ले रेकर्ड कायम गर्‍यो। सिलेबस चलचित्रले जुन आम्दानी गर्‍यो त्यसैको विश्वासमा विक्रमले अहिले ‘जिन्दगी आउँदैन फर्केर’ बनाइरहेका छन्‌। तर यो सिलेेबस चलचित्र होइन।
***********
‘किन सिलेबसको चलचित्र बनाउनू?’
‘अंग्रेजीमा सिलेबस कथा बनाएर डिजिटल शिक्षाको खोज भइसक्दा नेपालीमा किन छोड्‌नु? अंग्रेजीमा अडियोभिजुवल क्लास हुन्छ देश-विदेशमा। नेपालीमा किन हुन सक्दैन? मलाई पनि लाग्यो म नै नेपालीमा अडियोभिजुवल सर बन्न सक्छु। होलिचाइल्डमा नवौं कक्षामा मैले सिलेबस फिल्म हेर्न पाएको भए, अहिले मेरो पालिमा धेरै फड्‌को नाघिसकेको हुनेथियो। म नै धरातल बनाउने उद्योगी बन्नु पर्नेथिएन।’-बिक्रमको सरल जवाब थियो। जब दिलिप रायमाझी अनि अहिलेको चर्चित नायिका रेखा थापासित वोनी प्रधानको निर्देशनमा बनिएको निर्वाना प्रोडक्सनको प्रियतमा चलचित्रमा ‘सबहिरो’ हुँदा नै ब्रिकमलाई लागेछ, म हिरो भइसकेको छु। तिनले बङ्गला र राजवंशी चलचित्रमा समेत हिरो हुने मौका पाएछन्‌। इण्डियन आइडल प्रशान्त तामङसित ‘अंगालो यो मायाको’ चलचित्र अनि सिक्किमका वरिष्ट कथाकार सानु लामाको कथामा बनाइएको चलचित्र ज्योति विनाको उज्यालोमा अभिनय गर्दा बिक्रम स्थापित भइसकेका थिए। पाइएको अनुभवले तिनलाई आफ्नै क्षेत्रमा क्षेत्रीय उद्योग निर्माण गर्ने टर्निङ पोइन्ट मिल्यो। सामाजिक विसङ्गतिसित छेउमा बस्दा छोइएको घटनाहरूले आहत हुने बिक्रमलाई लाग्यो समाजमा सबैभन्दा ठूलो संवेदनशील मुद्दा कुन हो, जसलाई उजागार गर्दा समाजलाई ठूलो फाइदा हुन्छ अनि व्यवसाय पनि बढ्‌छ? तिनले विद्यार्थीहरूमा रहेको संकट र विचलनलाई एकसाथ उतारेर हेर्दा पाए जहॉंबाट समाजको निर्माण हुन्छ, त्यसकै खम्बा रहेका विद्यार्थीहरूले सही बाटो भेटेनन्‌ भने शिक्षक, अभिभावक अनि विद्यार्थीबीचको विचलनमा उत्रिएको अन्तरसम्बन्धले समाजमा कस्तो प्रभाव पर्छ भन्ने क्लू। तिनले चलचित्रको नाम दिए-‘जिन्दगी आउँदैन फर्केर’।
16 घण्टा घरमा अनि 8 घण्टा स्कूलमा रहने विद्यार्थीहरूमा कस्तो डिप्रेसन छ जसले उनीहरूलाई विसङ्गत बनाउँछ अनि एउटा बनिँदाबनिँदैको समाज भडखालोमा पर्छ? भन्ने खोज गर्दै समाधानको सूत्र दर्शकमा राख्ने प्रयास निर्माणाधीन चलचित्रमा रहेको बिक्रमले बताएका छन्‌। तिनी अनुसार भारतको एजुकेशन सिस्टम जीवनस्तर अनुसार कहॉं कहॉं र कसरी उपयुक्त छ भन्ने कुराको खोज यो चलचित्रमा छ। तिनले भने- ‘यसपल्ट एजुकेशन काउन्सिलिङ गरेको छु, यो चलचित्रबाट।’
***********
हाते रिफ्लेक्टर, एउटा हेलोजिन र स्ट्याण्ड विना नै हेण्डलसटमा चित्त बुझाउने क्षेत्रीय सिनेकर्मीहरू बिक्रमले 15 लाख खर्च गरेर बनाइरहेको यो चलचित्रमा पूर्णतक्निकीय सेटसित छायाङ्‌कनमा जुटेका छन्‌। यो चलचित्र नै पहिलोपल्ट बङ्गालबाट सेन्सरशीप हुनेछ अनि उत्तरबङ्गाल र सिक्किमको 10 वटा हलमा लाग्नेछ। यसैको आशामा बिक्रमले 15 लाख खर्च गरिरहेका छन्‌। निर्देशक अमर रसाइलीसित एसिस्टेन्ट छन्‌ सोनी टीभीबाट प्रसारित भइरहेको धाराबाहिक ‘बढे अच्छे लगते हो’का एसिस्टेन्ट डिरेक्टर अनमोल गुरूङ। हिरो बिक्रम नै भएको यो चलचित्रमा विनय रसाइली, सपना बरदेवा(हिरोनी) महेन्द्र बागदास, प्रतिमा छेत्री, ठाकुर आचार्य र अन्य कलाकारहरूले अभिनय गरिरहेका छन्‌। विद्यार्थी, अभिभावक अनि शिक्षकबीचको शुन्यताले विचलनतिर पुर्‍याउने जिन्दगीलाई चलचित्रबाट सामाजिक रुपान्तरणको दिशामा फर्काउन उद्धत र आफ्नै क्षेत्रमा चलचित्र उद्योगको जिन्दगी फर्काउनमा जुटेका बिक्रमको यो लगावदेखि सबै अवाक छन्‌।

0 comments: on "जीवन फर्काउँदै बिक्रम"