मुख्य समाचार :


सम्झौताले आन्दोलनलाई रोक्दैन-राई

मनोज वोगटी
कालेबुङ, २६ नोभेम्बर|
गोर्खा जनमुक्ति मोर्चालाई छुट्टै राज्यको निम्ति आन्दोलन गर्न जीटीएको सम्झौताले रोकेको अनि युवा मोर्चाको हात भने उनीहरूले जीटीएमा सम्झौता नगरेकोले नरोकिएको भन्दै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले दिएको बयान क्रामाकपाले हॉंस्यस्पद बताएको छ| आज हाइवे-१, जोनल कमिटीको विशेष साङ्गठानिक अधिवेशनमा बोल्दै क्रामाकपा उपाध्यक्ष जेबी राईले भने, घिसिङले दागोपापमा सम्झौता गरेका थिए अनि गोर्खाल्याण्डको मुद्दालाई ड्रप पनि गरेका थिए तरैै पनि गोरामुमोले गोर्खाल्याण्डको आन्दोलन गरेको थियो| तर सबैलाई थाहा थियो त्यो आन्दोलनको नाममा नाटक मात्र थियो| ठीक त्यस्तै घटना गोर्खा जनमुक्ति मोर्चाको पालोमा पनि देख्न पाइयो| तिनले अझ भने, केन्द्रिय समितिका अध्यक्ष डा.हर्कबहादुर छेत्रीले छुट्टै राज्यको आन्दोलन गर्न उनीहरूको हात जीटीएको सम्झौताको कारण रोकिएको अनि युवा मोर्चाले सम्झौता नगरेको कारण उनीहरूले भने आन्दोलन गर्न सक्ने जस्तो राजनैतिक तिकडमबाज टिप्पणी दिनु, छुट्टै राज्यपन्थी जनताको निम्ति ठूलो विडम्बना रहेको छ| तिनी अनुसार कुनै पनि सम्झौताले  छुट्टै राज्यको आन्दोलन गर्न रोक्दैन|  डा. छेत्रीले उनको दलको राजनैतिक कमजोरी लुकाउन यस्ता खाले टिप्पणी दिएको मानिन्छ किन भने युवा मोर्चालाई आन्दोलन गर्न लगाइए पनि मोर्चाको कमजोरी लुक्ने होइन| तिनी अनुसार मोर्चालाई आइला, भ्रष्टचार, हत्या अनि अन्य यस्ता धेरै कारणहरू छन्, जसले जीटीएमा सम्झौता गर्न बाध्य बनेको छ| मोर्चाले छुट्टैराज्यको आन्दोलन गर्न सम्झौताको कारणले होइन त्यो सम्झौता गरिनुपर्ने बाध्यताको कारण सक्दैन| तिनले भने, मोर्चाको हाइकमान भनेको बङ्गाल सरकार हो, जसलाई मोर्चाले छुट्टै राज्यको आन्दोलन हुँदैन भन्ने कुरामा आश्‍वस्त गराइसकेको थियो| अहिले भागोप अनि पहाडका अन्य दलहरूले जुन आन्दोलन गर्ने रणनीति तयार गरिरहेको छ अनि आन्दोलन गर्ने तयारी गरिरहेको छ, यसमा जनताको ध्यान जाने डरले युवा मोर्चालाई अघि लगाएर ती जनताको ध्यान आफूमा खिचिराख्न अनि छुट्टै राज्यको निम्ति हुने आन्दोलनलाई किनारामा पार्न मोर्चाले यो कुटनीति चालिरहेको छ| तिनले मोर्चाभित्र अहिले हजारौं अन्तरविरोध देखा परिरहेको अनि यसले मोर्चालाई पतनतिर लगिरहेको स्पष्ट भइरहेको बताउँदै अझ भने, डा. हर्कबहादुर छेत्री सम्झौताको कारण आन्दोलन गर्न नसक्ने भन्छन्| अध्यक्ष विमल गुरूङले जीटीएमा हस्ताक्षर रोशन गिरीले गरेको भन्दै आफूले आन्दोलन गर्ने भन्छन् अनि जब देशभरि नै आन्दोलनको परिस्थिति हुन्छ तब ती नै अध्यक्षले आफ्नो ध्यान जीटीएमा छ भन्छन्| यता तीनले नै युवा मोर्चालाई आन्दोलन गर्ने निर्देश दिन्छन्| मोर्चाको यो विरङ्गी खेलमा जनतालाई अन्योलमा पार्ने कुटनीति लुकेको भए पनि त्यो धेरै दिनलाई नरहेको पनि तिनले बताए| मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्न नसक्ने मूल कारणहरू खोल्दै तिनले भने, जब जीटीएको सम्झौता भयो त्यसबेला मुख्यमन्त्री ममता व्यानर्जीले 'बङ्गभङ्ग होबेना' भन्दै 'तपाईँहरू खुशी हुनुहुन्छ?' भनेर चारपल्ट सोधिन्| त्यसबेला मोर्चा अध्यक्ष, सचिव, प्रवक्ता अनि तिनका समर्थकले 'खुशी छौं' भनेर जवाब दिँदै थप्पडी मारेका हुन्| त्यतिले पनि नपुगेर नाचेका पनि हुन्| तिनले मोर्चाको हाइकमान बङ्गाल सरकारले मोर्चालाई तइनमा ल्याइहाल्ने बताउँदै युवा मोर्चालाई पनि केन्द्रिय कमिटीको धागोले केही दिन कठपुतली बनाएर नचाएको बताए| यति मात्र होइन राईले तराई र डुवर्सको हाइपावर कमिटीको रिपोर्ट ठीक नरहेको कुरा पनि मोर्चाले थाहा पाइसकेको बताउँदै भने, मोर्चालाई थाहा छ कि तराई र डुवर्सका भूभागहरू जीटीएमा पर्ने छैन| वास्तवमा यसैको निम्ति राजनैतिक तिकडमबाजी मोर्चाले गरिरहेको छ| जीटीएमा तराई र डुवर्स पसेन भने मोर्चाको राजनैतिक अवस्थान नै खतरामा पर्ने डरले मोर्चालाई खाइरहेको पनि तिनले बताए| तिनले जीटीएको गठन निश्‍चित नरहेकोले मोर्चाले पहाडमा परिस्थिति बिगार्ने सम्भावना रहेको अनि त्यसको शुरुवात गरिरहेको बताउँदै राईले क्रामाकपाले दिसम्बरदेखि शुरू गर्ने आन्दोलनमा सहभागी बन्न अघि क्रामाकपाको हरेक सङ्गठनले वर्तमान राजनैतिक परिस्थितिको विश्‍लेषण अनि समीक्षा गर्दै अघि बढ्नुपर्ने बताए| मोर्चाबाहेक अन्यले गर्ने आन्दोलनलाई बाधा दिन मोर्चाले चालेको हरेक कुटनीतिलाई विफल पार्दै अघि बढ्नुपर्ने पनि तिनले बताए| मोर्चाले गरेको जीटीए सम्झौता संविधान बाहिरको कुरा रहेको अनि मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्न नसकेको कारण नै चौकी, पैसा र हैकमवादको गोरामुमोकै पुरानो सूत्र पक्रिएर छुट्टै राज्यको निम्ति कटिबद्ध रहेका सङ्गठनहरूलाई बाधा खडा गर्ने खेल गरिरहेको बताउँदै क्रामाकपाको हरेक सङ्गठनलाई कदम कदममा होसियार भएर अघि बढिदिने अनुरोध पनि गरे|

0 comments: on "सम्झौताले आन्दोलनलाई रोक्दैन-राई"