मुख्य समाचार :


ममताले खुवाउँदैछ दार्जीलिङलाई हावा मिठाई


कालेबुङ, 13 अक्टोबर।
बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङलाई हावा मिठाई खुवाइरहेको आरोप माकपाले लगाएको छ। माकपा नेता तारा सुन्दासले एक पत्रकार सम्मेलनमा ममता व्यानर्जीले दार्जीलिङको निम्ति धेरै प्याकेजको घोषणा गरेपनि दार्जीलिङको मूल समस्याहरूलाई भने सम्बोधन नै नगरेको बताए। तिनले भने, 27 सितम्बर 2010 को दिन जब ममता वन्यनर्जी रेल मन्त्री थिइन्‌, त्यसबेला पनि दार्जीलिङमा रेल रिक्रुटिङ बोर्ड बसाइने बाचा गरेकी थिइन्‌, तिनी मुख्यमन्त्री भएर दार्जीलिङ आइन्‌ अनि त्यही कुरा दोहोराइन्‌।
 अझ तिनले त्यसबेला दार्जीलिङमा नै बोर्ड राख्ने कुरा गरेकी थिइन्‌, यसपल्ट सिलगढीमा झारिन्‌। जुलाई महिनामा नै तिनले भानुभक्त एकाडेमी मङ्‌पूमा बनाइने घोषणा गरेकी थिइन्‌, अहिले आएर त्यही कुरा दोहोराइन्‌। तिनले त रेलविभागको वेभसाइटमा दार्जीलिङ यति नम्बरमा छ भन्नुपर्ने होइन र? तिनले त 26 हजार ऐकर जमीन सिन्कोनाको निम्ति भए पनि जुन 9 हजार ऐकरमा मात्र खेती भइरहेको छ, खाली ठाउँमा पनि खेती शुरू गर्ने अनि मजदूर वृद्धि गर्ने घोषणा गर्नुपर्ने होइन? पुरानै कुरा दोहोराउँदै दार्जीलिङलाई हावा मिठाइ खुवाउँदा पनि किन थप्पडी मार्न लगाइन्छ सोझा जनतालाई? तिनले ममता व्यानर्जीले प्याकेजहरूको घोषणा गरेपनि 1 लाख 82 जनसंख्या रहेको कालेबुङमा समस्या नै नदखेको बताउँदै भने, महिनादिनदेखि कालेबुङमा पानीको हाहाकार छ, कान्तिपुरमा पाइपहरू भत्किएकोले पानी व्यवस्थित हुन सकेको छैन, खै त जनताको समस्यालाई सम्बोधन गरेको? कालेबुङका एमएलए 2 करोडको योजना बोकेर कोलकाता धाउन ुपरिरहेको छ।
किन? अरू ठाउँका विधायकहरू धाउनु परेन त? उनीहरूलाई घरमा नै आएर प्याकेजको घोषणा गरियो त। पानीको व्यवस्थापन गर्न बाटो छैन, सरसमान पुर्‍याउन सकिएको छैन, पानी छैन भने कालेबुङ बॉंच्न सक्दैन खै त मुख्यमन्त्रीले जनताको दुःख बुझेको? तिनले अझ भने, व्यानर्जीले दार्जीलिङमा पुलिसमा लाग्ने भनेर सोधिन्‌। के दार्जीलिङका 40 वर्ष पुगेकाले पुलिसमा भर्ति पाउँछ? पुलिसमा लाग्ने कि नलाग्ने मुख्यमन्त्रीले भन्नुपर्छ र? लालगढमा माओवादीहरूलाई सोझै एनडीएफ र होमगार्डमा भर्ति गर्ने घोषणा गरिन्‌ खै 10 हजार जीएलपीलाई त्यसरी नै सोझै भर्ति गरेको? भर्खर होमगार्डको भर्ति चल्यो जसमा दार्जीलिङको नाम नै थिएन, मुख्यमन्त्रीले पुलिसमा लाग्ने भन्दा किन थप्पडी मार्नु?  मुख्यमन्त्रीले रेलवे प्रोटेक्सन फोर्समा भर्ति गर्ने किन कुरै गरेनन्‌? तिनले ममताले भानुभक्त रिसर्च एकाडेमीको कुरा गरेपनि यो नेचरल नेश्नल रिसर्च सेन्टरसित जडित छ छैन भन्ने कुरै नगरेको पनि तिनले बताए। तिनले ममताले राजमार्ग बनाउने कुरै नगरेको तथा आवश्यकीय विकास र जनतालाई काम लाग्ने कुनै योजनाबारे कुरा नगरेको बताउँदै भने, 76 हजार बीटी गर्नेहरूको भविष्य अन्धकारमा छ। दार्जीलिङमा मात्र 10 हजार बीटी गर्नेहरू बेरोजगार छन्‌, न त बीएड कलेज छ न त बीटी कलेज। मुख्यमन्त्रीले घोषणा गरेको करोडौको कुरा कुन मन्त्रीसभामा उठाइएको छ। कालेबुङलाई थुकचुक र रेलीको पानीले मनग्गे पुग्छ, खै त फैसा छैन भनेर विभागले मुख्यमन्त्रीलाई बताएको? पानी जनताले चोर्‍यो भनेर आरोप लगाइँदैछ। विभागले नै राम्रो काम गरेको छैन। विधायक र सांसद कहॉं छन्‌? किन पानीको समस्या समाधान गर्ने पहल गर्दैनन्‌? नर्थ इष्टलाई जस्तो पहाडलाई सव्सीडी हुनुपर्छ त भन्दैछन्‌ खै त मुख्यमन्त्रीले विधानसभामा यसको प्रस्ताव ल्याएको? तिनले मुख्यमन्त्रीले आनन्द बजारमा गोर्खाल्याण्ड अघि झुण्डाइदिँदा दार्जीलिङको समस्या नै समाधान भयो भनेर दिएको टिप्पणीमाथि पनि प्रतिक्रिया गर्दै भने, मुख्यमन्त्रीले फुइँयाको डल्ला दिँदा भुलिनु हुँदैन। सबै जना प्याकेजको पछि छैनन्‌, धेरैको स्वाभिमान छ। पहाडका जनता बुद्धु मात्र छैनन्‌ आँटिलो पनि छ।
तिनले ममताले सक्ने भए अनि विकास नै चहान्छ भने पहाडका अस्थायीहरूलाई स्थायी गर्नुपर्ने बताउँदै भने,3472 जनालाई स्थायी गरेर हेरोस्‌, अघिल्लो सरकारले त मन्त्रीसभामा स्थायी गर्ने प्रस्ताव ल्याएको थियो खै ममता व्यानर्जीले त्यसमाथि बोलेको? मुख्यमन्त्रीले प्याकेजहरूको घोषणा मात्र गरेको तर कुनै पनि पुरा नगरेको आरोप सुन्दासले लगाएका छन्‌।

0 comments: on "ममताले खुवाउँदैछ दार्जीलिङलाई हावा मिठाई"