मुख्य समाचार :


जीटीए गठन नभई हुने नगरपालिका चुनाउ विपक्षका दलहरू लड्‌ने कि नलड्‌ने त?

प्रज्ज्वल छेत्री
कालेबुङ, 18 अक्टोबर।
जीटीएमा त्रिपक्षीय सम्झौता भएपछि अब चाड़ै नै दार्जीलिङ जिल्लाको चारै नगरपालिका क्षेत्रमा नगरपालिका चुनाव  हुने आधिकारिक घोषणा भइसकेको छ। तर नोटिफिकेशन भने आउन बाकीँ नै छ। तराई-डुवर्सको अन्तर्भुक्ति अघि नै चुनाव सम्पन्न हने भनिएपछि विपक्षी शिविरबाट पनि निक्कै विरोध भएको थियो। विपक्षका दलहरूले गरेको विरोधको कुनै असर भएन अनि अन्तमा तराइ-डुवर्सको अन्तर्भुक्ति अघि नै नगरपालिका चुनाव हुनै नै भयो। 11 दिसम्बर चुनावको मिति पनि तय भइसकेको छ। नगरपालिका चुनाव हुने नै भएपछि मोर्चा अध्यक्ष गुरूङले चुनावमा मोर्चा नेताहरू नलड्‌ने घोषणा गरेपछि मोर्चा खेमामा पनि अहिलेसम्म नै निक्कै उथुलुपुथुल मच्चिएको छ।
पार्टीगत तौरमा मोर्चा चुनाव लड्‌छ नै यसबारे दुइमत छैन। तर पहाडमा रहेका विपक्षी दलहरू चुनाव लड्‌छ लड्‌दैन यो पनि अहिलेको परिस्थिमा निक्कै महत्वपूर्ण विषय हो। विधानसभा चुनावमा मोर्चाले भारी मतले पहाडको तीनैवटा महकुमामा जीत हासिल गरेपनि अन्य विपक्षी दलहरूको तुलनामा गोरामुमोलेे पनि निक्कै मत आफ्नो पक्षमा पाएको थियो। यसर्थ नगरपालिका चुनावमा गोरामुमोको निर्णय पनि महत्वपूर्ण रहन्छ।
गोरामुमोले चुनाव सम्बन्धि अहिले नै कुनै टिप्पणी गर्न नचाहे पनि  पहाडका अन्य राजनैतिक दलका नेताहरूले भने नगरपालिका चुनावलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्‌। समय दैनिकसँगको भेटअवधी अखिल भारतीय गोर्खा लीग नेता प्रताप खातीले जीटीए नै मोर्चा अनि सरकारको षडयन्त्र रहेको बताएपनि यसपल्टको नगरपालिका चुनाव राजनैतिक दलहरूले भन्दा सामाजिक सङ्घसंस्थाहरूले मिलेर लडे उचित हुने विचार व्यक्त गरे। कालेबुङको नागरिक अधिकार मञ्च अनि संरक्षण समिति लगायत अन्य सामाजिक सङ्गसंस्थाहरूले चुनाव लडे असल हुने खाती बताउँछन्‌। तिनीअनुसार पार्टीले होइन तर यी अराजनैतिक संस्थाहरू मिलेर चुनाव लडे आफ्नो अनुभवको आधारमा उनीहरूले नगरका मानिसहरूको निम्ति केही गर्नसक्ने तिनको विचार छ। यद्यपि पार्टीगत तौरमा भने अहिले नै गोर्खा लिगले चुनाव लड्‌ने मन बनाएको छैन। अर्कोतिर क्रामाकपाले भने अहिले नै नगरपालिका चुनाव लड्‌ने नलड्‌ने सम्बन्धी कुनै निर्णय नलिएको मोहन पौड्याल बताउँछन्‌। तिनी भन्छन्‌, तराई डुवर्सको अर्न्तभुक्ति नभइकन कुनै पनि चुनाव नलड्‌ने भनेर मोर्चाले भन्यो। त्रिस्तरीय पञ्चायत चुनाव हुनुपर्छ भनेको थियो। के यो सब भयो त? सिलगड़ी महकुमा परिषद भङ्ग भयो? प्रश्न राखे। तिनले अझ भने, यदि चुनाव हुन्छ नै भने नगरपालिकासँगै पञ्चायत चुनाव पनि हुनपर्छ। विकास केवल शहर केन्द्रित हुनुहुँदैन। तिनले पहिले नगरपालिकाको समयमा धेरै धॉंधली भएको बताउँदै जनता अहिले नै नगरपालिका चुनावको निम्ति राजी छ छैन सो पनि जान्न अनिवार्य रहेको बताउँदै नगरपालिका चुनाव सम्बन्धी क्रामाकपाले पछिबाट निर्णय लिने जनाए। यता माकपाका तारा सुन्दासको भनाइअनुसार चुनावलाई लिएर माकपाको कुनै आपत्ती छैन। माकपा नगरपालिका चुनाव लड्‌न त लड्‌ने तर चुनाव सही ढङ्गमा हुनुपर्ने बताउँदै तिनले भने, चुनाव लड्‌नु अनि भोट हाल्नु भनेको गणतान्त्रिक अधिकार हो। हामी नरपारलिका चुनावको विरोधमा छैनौं। तर चुनाव निष्पक्ष हुनुपर्छ। भोट जब्बरजस्ती चिन्ह देखाएर हाल्न लाउने किसिमको हुनुहुँदैन। पहिला जसरी मानिसहरूलाई चिन्ह देखाएर भोट लगाउन लगाइन्थ्यो यसपल्ट यस्तो हुनुहुँदैन। चुनाव आयोगले निष्पक्ष चुनाव गरे हामी लड्‌न तयार छौं। कांग्रेस पनि चुनाव नै नलड्‌ने भन्ने पक्षमा भने छैन। कांग्रेस जिल्ला कमिटिका सचिव दिलिप प्रधानले नगरपालिका चुनावको निम्ति अहिले नै पार्टीले कुनै निर्णय नलिएको बताउँदै जिल्ला कमिटिको बैठकपछि नै चुनाव लड्‌ने नलड्‌ने तय हुने बताए।   

0 comments: on "जीटीए गठन नभई हुने नगरपालिका चुनाउ विपक्षका दलहरू लड्‌ने कि नलड्‌ने त?"