मुख्य समाचार :


डुवर्सले विरोध गर्नु राजनैतिक अपरिपक्वता हो-डा.हर्कबहादुर छेत्री

मनोज वोगटी कालेबुङ,11 जुलाई।
केन्द्रले गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशनमा तराई डुवर्सको अन्तरभुक्तिबारे अस्वीकृति जनाइसकेको केही दिन अघि हिल युवा कंग्रेसका सचिव दिलिप प्रधानले एक अन्तरक्रियात्मक कार्यक्रममा स्पष्ट पारेका थिए, तर अहिलेसम्म आधिकारिकरूपले यो कुरा सार्वजनिक भएको छैन। यता गोर्खा जनमुक्ति मोर्चाले जबसम्म तराई-डुवर्स व्यवस्थामा पस्दैन तबसम्म हस्ताक्षर नगर्ने बचन दिइसकेको भए पनि अहिले आएर हस्ताक्षर गर्ने अनि जोइन्ट भेेरिफिकेशन कमिटीले 6 महिनापछि बुझाएको रिपोर्टको आधारमा व्यवस्थाको चुनाउ तय गर्ने बताइरहेको छ। उता तराई डुवर्सको मोर्चा शाखा-प्रशाखाहरूले मोर्चाको घोषणामा विश्वासयोग्य आधार खोज्न थालेका छन्‌। अहिले आन्तरिकरूपले मोर्चाका तराई डुवर्स शाखामा छलफल र चर्चा भइरहेको अनि सबै चर्चामा तराई-डुवर्सले यसपल्ट पनि धोका पाइसकेको निष्कर्षहरू निस्किरहेको समाचार पनि छापामा आइसकेको छ। मोर्चाले घरिघरि परिवर्तन गरेको टिप्पणीको कारण अझसम्म स्पष्ट थिएन कि वास्तविकता के हो। अन्तमा हस्ताक्षर गर्ने अनि कमिटीले 6 महिनापछि रिपोर्ट बुझाएपछि व्यवस्थामा तराई डुवर्सका मौजा हाल्ने कुरा अघि आएपछि परिस्थिति नै शंकास्पद बनेको छ। तराई-डुवर्सका जनताले मोर्चालाई शंका गर्दै धोका भइरहेको अनुभव गरेको अनि व्यवस्थाको विरोध गरिरहेको समाचार आएपछि आज मोर्चा प्रवक्ता तथा विधायक डा.हर्कबहादुर छेत्रीसित प्रश्न गर्दा तिनले भने, विरोध कसले गर्दैछ, हामीलाई थाहा छैन। तराई डुवर्सका भातृसङ्गठन, केन्द्रिय समिति हामीसितै छन्‌। हाम्रो मान्छे हामीसित नै छन्‌। त्यहॉं मोर्चाको नाममा अरू पार्टीहरू पनि चल्मलाउँछ। एउटा कुरा उनीहरूले याद राख्नुपर्छ, अहिलेसम्म यो व्यवस्थाको निम्ति ढिलो भएको कारण नै तराई र डुवर्स हो। हामीले यो व्यवस्थामा तराई-डुवर्सका गोर्खाबाहुल मौजाहरूको अन्तरभुक्तिको निम्ति जोइन्ट भेेरिफिकेशन कमिटी मागेका हौं। सरकार पनि मानेको छ। अब यसको मेम्बर बनाउने र जॉंच प्रक्रिया शुरू हुने बेला भएको छ। नोटिफिकेशन हुनु छ। यस्तो बेला विरोध हुनु भनेको राजनैतिक अपरिपक्वता मात्र हो। तिनले राजनीति गर्नेले जॉंच प्रक्रियालाई पर्खिने बताउँदै भने, जुन जुन क्षेत्रको दाबी गरिएको छ, त्यो व्यवस्थामा पस्नेछ। जॉंचको निम्ति तीनवटा आधारहरू राखिएको छ। कन्टिव्यूटी,होमोजिनिटी अनि ग्राउण्ड रियालिटी। जुनजुन क्षेत्र दार्जीलिङसित सम्बन्धित छ, त्यो क्षेत्र पस्छ, जुनजुन क्षेत्रले पस्न मान्दैन, त्यो पस्ने छैन। आदिवासीहरू नै पनि व्यवस्थामा पस्न राजी छन्‌ भने उनीहरूलाई पनि हालिनेछ। डुवर्सका मानिसहरू सुर्ताउनु हुँदैन। कमिटीको रिपोर्ट पर्खिनुपर्छ।

0 comments: on "डुवर्सले विरोध गर्नु राजनैतिक अपरिपक्वता हो-डा.हर्कबहादुर छेत्री"