मुख्य समाचार :


लगानीकर्ताहरू पैसा फर्किने आशामा

युनिपेले लुटेको पैसा फर्काउन गठित कमिटीको बैठक


मनोज वोगटी
कालेबुङ,1 जुलाई।
सुनाखरीले कालेबुङमा ठगार कम्पनीहरूले करोड़ौ धन लुटेको समाचार प्रकाशित गर्ने वित्तिकै युनिपे नामक कम्पनीले लुटेको पैसा फिर्ता गर्न गठन गरिएको कमिटीले लगानीकर्ताहरूलाई लिएर आज बैठक गर्‍यो। जगन्नाथ भवनमा कमिटीका अध्यक्ष शान्ति शर्मा, उपाध्यक्ष महेश छेत्री लगायत लगभग 40 जना लगानीकर्ताहरूको उपस्थितिमा बसेको बैठकमा डुबेको राशि फिर्ता गर्न के गर्नुपर्ने भन्नेबारे छलफल गरिएको जनाइएको छ। हिजो धेरै लगानीकर्ताहरूले टेलिफोनद्वारा यो संवाददातासित आफ्नो धन लुट्‌ने कम्पनी युनिपे अनि यसका एजेन्टहरू सम्बन्धमा व्यापक जानकारी उपलब्ध गराएका थिए।

आज कमिटीका अध्यक्ष शान्ति शर्माले लगभग युनिपेले लगानीकर्ताहरूलाई 4 करोड़ 67 लाख फर्काउनुपर्ने रहेको जनाएका छन्‌। तिनले कम्पनीका एजेन्ट अल्विन लामासित अहिलेसम्म कुनै जोगाजोग हुन नसकेको खुलासा गर्दै तिनकी श्रीमति अनुपमा लामासित भने जोगाजोग भइरहेको जनाए। जोगाजोग कै क्रममा कमिटीलाई अनुपमा लामाले एक्लैले यत्रो रुपियॉं फर्काउन नसक्ने भएपछि पैसा फिर्ता गराउन एउटा प्रकल्प तयार पारेको आफूहरूलाई जनाएको जनाए। प्रकल्प कस्तो हो? के हो? भनेर प्रश्न गर्दा आफूहरूलाई केही थाहा नभएको अनि अनुपमा लामा प्रकल्पका श्रोत व्यक्तिहरू लिएर आउने भएको जनाएका छन्‌।

स्मरणीय छ, एजेन्टहरूले लगानीकर्ताहरूलाई जुन महिनादेखि पैसा फिर्ता गर्ने जनाएको भए पनि कसैको पैसा फिर्ता गरिएको थिएन। एजेन्टहरू पैसा लिएर चम्पट कसेपछि अहिलेसम्म नै लगानीकर्ताहरूसित उनीहरूको सम्पर्क छैन। कमिटीले जसोतसो अनुपमासित सम्पर्क स्थापित गरेपनि उनी अहिलेसम्म कालेबुङ आएकी छैनन्‌। पैसा डुबेको रन्कोमा लगानीकर्ताहरूले विभिन्न माध्यमबाट पत्रकारहरूसित सम्पर्क स्थापित गर्दै, नाम नै ढॉंट्‌दै भए पनि एजेन्टहरूलाई तातो लगाउने काम शुरू गरिरहेका छन्‌।

हिजो ती लगानीकर्ताहरूले युनिपेकाण्डको पर्दाफास गरेपछि कमिटीले आज नै बैठक गर्‍यो। मीडियामा लगानीकर्ताहरूले एजेन्टहरूको पोल खोलेपछि एजेन्टहरूलाई तातो लाग्न सक्नेे अनि आफ्नो बद्नामी मेटाउन आफूहरुको पैसा फिर्ता गर्नेपक्षमा एजेन्टहरू आउनसक्ने आशामा रहेको केही लगानीकर्ताहरू आज पनि जनाएका छन्‌।

0 comments: on "लगानीकर्ताहरू पैसा फर्किने आशामा"