मनोज वोगटी
कालेबुङ, 26 जुलाई।
जेलेप्लाले नै कालेबुङ बनाएको हो। यसैकारण कालेबुङ सुनियोजित छैन। व्यापार केन्द्र भएकोले कालेबुङ व्यापारको निम्ति बनियो। बाटो, घरहरूको निर्माण पनि व्यापारिकरूपले नै बनियो पछि त्यसैलाई विकास गरेर वर्तमान कालेबुङ बनाइयो-चीन-भारतको युद्ध हुन अघि पुर्खासित व्यापार गर्न कालेबुङ आएका टिवेट ट्रेडका साक्षी बज्रङ अग्रवालले यसो भने। तिनले भने, फेरि यो मार्ग खोलियो भने कालेबुङ र सिक्किमलाई व्यापारिक र आर्थिक फाइदा प्रचुर हुनेछ। तिनले जनाए अनुसार जेलेप्ला मार्गबाट व्यापारीहरूले ल्याउने कॉंचो माल राख्ने गोदामकोरूपमा कालेबुङ स्थापित भयो। कालेबुङमा दुइदर्जन भन्दा धेर यस्ता गोदामहरू थिए जहॉं ऊन लगायत अन्य व्यापारका सामाग्रीहरू राख्ने अनि यहॉंबाट भारत र भारतबाहिर निर्यात गरिन्थे। तिनले फरर गोदामहरूको नाम लिँदै भने, नन्दुराम, भाजुरत्न, छोगमल, कोडामल, जेठमल, श्रीराम अर्जुन दास, श्रीराम नन्दलाल, लिखिमचन्द, कालूराम...यिनीहरू मुख्य गोदाम थिए। ऊनको कारोबार हुन्थ्यो। घोड़ामा नै लादेर सामान ल्याइन्थ्यो। पछि मार्ग बन्द भयो। व्यापारमा घाटा हुने देखेर 60 प्रतिशत व्यापारीहरूले कालेबुङ छोड़े। नेपाली, भोटे, टिवेटन,मारवाडी, विहारीले व्यापार गर्थे। ती गोदामहरू अझ पनि कतिवटा छन्। जो कसैलाई स्कूल बनाइयो कतिलाई अन्य दोकान र कतिलाई घर बनाइयो। जेलेप्ला मार्ग खोलिए अनि पहिले जस्तै मार्ग बाधारहित बनाइए कालेबुङको रूप नै परिवर्तन हुने अनि कालेबुङ, सिक्किम, सिलगढ़ी अनि भुटानसम्म नै आर्थिक बहाली हुने अनुभवी अग्रवालले जनाए। तिनले भने, रोलेक्स घड़ी बोरामा हालेर लगिन्थ्यो, केजीको हिसाबमा बेचिन्थ्यो। अहिले परिस्थिति अर्कै भयो व्यापारको तरिका बद्लिनु सक्छ तर फाइदा भने उस्तै नै रहने छ।
एकपल्ट ज्योतिबसुले नरसिंह रावलाई जेलेप्लाले कालेबुङ सिक्किम लगायत भारतलाई पुर्याउने व्यापारिक फाइदाबारे सम्झाउँदै यो मार्ग खोल्न पत्र लेखे पनि अझसम्म खोलिन्छ, खोलिन्छ बन्ने हल्ला नै चलिरहेको छ। माकपा नेता तारा सुन्दास अनुसार यो मार्ग खोलिए साना-ठूला व्यापारीहरूलाई मात्र फाइदा नपुगेर यहॉंको पर्यटनलाई पनि चुलीमा पुर्याउनेछ। जेलेप्ला मार्गले नै कालेबुङको निर्माण गर्यो। कालेबुङको निर्माण व्यापारको निम्ति नै भएकोले यहॉं टिवेटनकला पनि व्यापारसित नै हुर्किएको थियो। आरसी मिन्त्री रोडमा अझसम्म पनि मारवाडीहरू टिवेटन भाषा बोल्न सक्छन्। खदामाला, लुङ्दर, टिवेटन पोषाक, बुद्धका मुर्ति तथा धार्मिक सामाग्रीहरूको निर्माणको पनि कालेबुङ केन्द्र नै बनेको थियो। एक पसलेले भने, कालेबुङमा बनिने भोटे धुप नेपाल, सिक्किम अनि भुटान समेतले अझ पनि यहीँबाट किन्ने गर्छ। तारा सुन्दासले जनाए अनुसार व्यापारिक दृष्टिकोणबाट भारत चीनलाई नै यो मार्गले फाइदा पुर्याउँछ। स्थानीय मात्र होइन राष्ट्रिय अन्तराष्ट्रिय व्यापारीहरूलाई पनि फाइदा पुर्याउँछ। यसको निम्ति डामडिममा रेलमार्ग स्थापित गरेर गोदाम केन्द्र डामडिमलाई नै बनाउन सकिन्छ। कालेबुङमा स्टोर घरहरूको निर्माण हुने मात्र होइन ससाना रोजगारहरूको अवसर पनि निर्माण हुनेछ। विश्वभरिका व्यापारीहरू कालेबुङ- सिक्किम आउने हुनाले यहॉंको पर्यटन र यातायात पनि आर्थिक उन्नयनको राम्रो मेलो हुन सक्नेछ। रिनोक -रङ्लीको पनि विकास हुनेछ। घोडामा होइन वाहनमा नै व्यापार चल्ने भएकोले कालेबुङ र सिक्किम दुवैलाई भारतको व्यापार केन्द्रको प्रावधानले विकास गरिन सकिनेछ।
पग्ला कुकुर
12 years ago
0 comments: on "जेलेप्लाले नै बनायो कालेबुङ"
Post a Comment