मुख्य समाचार :


ममताको पहाड़ आगमनमा माकपालाई असुविधा छैन-तारा

मनोज वोगटी
कालेबुङ,14 जुलाई।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड राज्यको कुरालाई छोेड़ेर गोर्खाल्याण्ड टेरिटोरी एड्‌मिनिष्ट्रेशनमा हस्ताक्षर गर्ने भए पछि ममताले मुख्यमन्त्रीको शपथ लिँदै गरेको घोषणा पुरा हुने देखिएको छ। तिनले तीन महिनामा पहाड़को समस्या समाधान गर्छु भनेकी थिइन्‌, जो पुरा गरिन्‌। पहाड़को समस्याकोरूपमा तिनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई नलिएको कुरा मोर्चाले जीटीएमा सहमति दिएकोले छर्लङ्ग छ।

जीटीएको विरोध पहाड़मा मात्र होइन तराई र डुवर्समा पनि भइरहेको छ। दार्जीलिङ बाहिरका गोर्खाहरूले जीटीएले चिन्हारीको सवालको जवाब दिन नसक्ने भन्दै असन्तुष्टी जाहेर गरिरहेको छ भने तराई र डुवर्सको मोर्चा शाखाहरूले पनि असन्तष्टी जाहेर गरिनै रहेको छ। यी असन्तुष्टीहरूलाई त अनदेखा गरिएकै छ अर्कोतिर गोर्खाल्याण्ड आन्दोलनको विरोधी शक्तिहरूले ममताको पहाड़ आगमनको विरोधमा बन्द नै डाकेको भए पनि न त मोर्चालाई फरक परेको छ न त राज्य सरकारलाई। अर्कोतिर ममताको विरुद्धमा डाकिएको बन्द माकपा प्रायोजित रहेको आरोप चलिरहेको बेलामा आज माकपाको पक्षबाट तारा सन्दासले ममताको पहाड़ आगमनसित माकपालाई कुनै आपत्ति नरहेको जनाएका छन्‌। बङ्गला ओ बङ्गला भाषा बचाओ समिति जस्ता गोर्खा विरोधी सङ्गठनहरूसित माकपाको सॉंटगॉंठ नै नरहेको अनि बन्दको कुरा माकपासित सरोकृत नरहेको समेत बताउँदै तिनले भने, पहाड़को समस्या समाधान हुनुपर्छ भनेर त माकपाले नै भनेको। माकपाले खनेकै बाटो हिँड़ेर ममता यो व्यवस्थामा आइपुगिन्‌। तर ममता र माकपाको नीति र दुरदर्शितामा आकाश पतालको फरक छ।

किन भने स्वायत्ता शासनकै कुरा गर्नु हो भने आनन्द पाठकले जुन दाबी गरेर प्राइबेट बील ल्याइएको थियो त्यो संवैधानिक थियो, मोर्चाले ममताबाट थापेको चिज संवैधानिक होइन। पहाड़को समस्याको समाधान अस्थायीरूपले गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो। हतारले घर बनिँदैन। यसमा राजनैतिक सोंच दुरदर्शी हुनुपर्छ। तिनले माकपालाई लगाइएका आरोपहरू निराधार नरहेको बताउँदै बन्द गर्ने वा वाधा उत्पन्न गर्ने सङ्गठनहरूसित माकपाको कुनै सरोकार नरहेको स्पष्ट पारे।

0 comments: on "ममताको पहाड़ आगमनमा माकपालाई असुविधा छैन-तारा"