मुख्य समाचार :


मोर्चालाई विकासको जिम्मा दिएर ममताले आफ्नो बद्नामीको इतिहास बनाउँदैछ-पिपल्स फोरम

मनोज वोगटी
कालेबुङ,10 जुलाई।
पहाड़, तराई अनि डुवर्सका बुद्धिजीवी अनि केही राजनैतिक सङ्गठनहरूलाई लिएर केही दिन अघि औपचारिकरूपले दार्जीलिङ-डुवर्स फोरमको गठन भइसकेको छ। डा.गोकूल सिन्हा अनि प्रवीण गुरूङ वर्तमान संयोजक रहेको यो फोरमले उप्रान्त गोर्खा जनमुक्ति मोर्चाले छोड़ेको मुद्दालाई अघि बढाएर लैजान गैरराजनैतिक अनि राजनैतिक सङ्गठनहरूको सहमति बटुल्ने काम भइरहेको बताइएको छ।

यसैको निम्ति कालेबुङ आइपुगेका फोरमका संयोजक प्रवीण गुरूङले पत्रकारहरूलाई भने, गोर्खा जनमुक्ति मोर्चाले राज्य सरकारसित कतिपय कारणले आत्मसमर्पण गरिसकेको छ। हत्याहिंसामा लिप्त रहेको मोर्चाले लामो आन्दोलन गर्न नसक्ने परिस्थिति बनिएपछि मदन तामङले भनेजस्तै अर्को दागोपाप थापिरहेको छ। जसको क्षमताबारे सबैले बुझिसकेका छन्‌। 86 मा 10 रुपियॉं पर्ने चामल अहिले 40 रुपियॉं पर्छ। यस हिसाबले मोर्चाको व्यवस्था पुरानो दागोपाप भन्दा पनि तलको छ। धेरै मान्छे मारेर, भोकहड़ताल गरेर किड्‌नी बिगारीदिएर, पूर्व सैनिकहरूको टाउको फुटाएर यदि दागोपाप नै थाप्ने हो भने यो भन्दा ठूलो विडम्बना गोर्खाहरूको निम्ति अर्को हुन सक्दैन। यसकारण मोर्चाले मुद्दा छोड़ेको अनि ज्यान जोगाउन आत्मसमर्पण गरिसकेको बुझिसकेपछि यो फोरम गठन गरिएको छ।

अहिले नै यसको अस्तित्व स्पष्ट नदेखिन सक्छ तर यसले आन्तरिकरूपले काम शुरू गरिसकेको छ। तिनले पहाड़को विकासको जिम्मा राज्यको हुँदाहुँदै पनि आन्दोलनकारीले विकासको भार हातमा लिन्छ भने उसको वास्तविक उद्देश्य बुझ्नु पर्ने समय आएकोले गोर्खाहरूको राष्ट्रिय चिह्नारीको सवालको निम्ति फोरमले साङ्गाठानिक मैत्रिकता स्थापित गर्दै भारतभरिबाट मुद्दालाई अघि बढ़ाउने काम शुरू गरिसकेको बताउँदै शीघ्र नै दार्जीलिङ वा कुनै ठाउँमा राष्ट्रिय सम्मेलन गरिने पनि जनाए। तिनले भने, दागोपाप घिसिङको हातमा दिएर वामफ्रण्ट प्रशासनिकरूपले पहाड़मा हारिसकेको इतिहास हुँदा हुँदै पनि ममताले पनि त्यही इतिहास दोहोर्‍याइरहेको छ। आफ्नो दाबीलाई पुष्टि गर्दै गुरूङले अझ भने, यदि ममताले पहाड़लाई स्वीट्‌जरल्याण्ड नै बनाउँछ भने दागोपाप अघिको हिल डेभलोपमेन्ट काउन्सिललाई नै पुनरुत्थान गर्नुपर्छ। यसको चेयरम्यान मुख्यमन्त्री आफै हुने छ अनि केन्द्रबाट नै फण्ड आउने गर्छ। घिसिङले देखाइसकेको छ कि दागोपापले विकास गरेन अनि भ्रष्टचार गर्‍यो। विमललाई पनि दागोपाप प्रशासक बीएल मिनाले भ्रष्टचार उत्पादककोरूपमा आरोप लगाइसकेका छन्‌। घम्कीमा काम गर्न लगाउने अनि भ्रष्टचार गर्ने काम विमलले गरेका छन्‌। यस्तो अवस्थामा जीटीएको भविष्य छर्लङ्ग हुन्छ। जीटीए सफल नबने ममता बद्नाम हुनेछिन्‌।

वामफ्रण्ट सरकारले दोहोर्‍याएको भूल ममताले दोहोर्‍याइरहेको आरोप लगाउँदै तिनले अझ भने, मोर्चालाई विकासमा भुल्याएर छुट्टैराज्यको निम्ति आवाज उठ्‌दैन भन्नु ममताको गलत हिसाब हो। ममताले मोर्चालाई विकासको काम जिम्मा लगाएर देशभरिका गोर्खालाई छुट्टाराज्यको निम्ति सङ्गठित हुने प्रेरणा दिएकी छन्‌। अर्कोतिर मोर्चाले संवैधानिक व्यवस्थापछि राज्य हुँदैन भनेर जनतालाई बोरामा सुताइरहेको बताउँदै भने,एकपाखे इतिहास बोकेर वर्तमान स्वार्थको निम्ति मोर्चाले गरेको राजनीतिको परिणाम आउन अब 20 वर्ष लाग्दैन। मिजोराम,अरुमाचल प्रदेश, नागाल्याण्ड, त्रिपुराहरू संवैधानिक व्यवस्थापछि नै राज्य भएको हो। गोर्खाहरूले राज्य चलाउन सक्दैन भनेर मोर्चाका नेताहरूले गोर्खाल्याण्डको निम्ति आन्दोलन नगरेर दागोपापको निम्ति नै आन्दोलन गरेको स्पष्ट छ। जनताले याद राखुन्‌ यो व्यवस्थामा तराई र डुवर्स पस्दैन। तराई र डुवर्सलाई फेरि धोका भइसकेको छ।

तिनले मोर्चाले गरेको तौजीको कुरा पनि हास्यपद् रहेको बताउँदै भने,लोकसभामा बील नल्याइ जमीनको पर्चापट्टा दिन सक्ने क्षमता राज्य समेतको छैन भने जीटीएको कसरी हुन्छ जब कि यो व्यवस्था नै असंवैधानिक हो। जनताले अहिलेदेखि नै कुरा केलाउने अनि बुझ्ने काम शुरू गर्नुपर्छ।

0 comments: on "मोर्चालाई विकासको जिम्मा दिएर ममताले आफ्नो बद्नामीको इतिहास बनाउँदैछ-पिपल्स फोरम"