मुख्य समाचार :


प्रतिबन्ध लाग्ने भयो यौनखेलमा

बङ्‌किमचन्द्र पार्कको जीर्णोद्वार गरिने


मनोज वोगटी
कालेबुङ,1 जुलाई।

अब कालेबुङको बङ्‌किमचन्द्र पार्कको जीर्णोद्वार हुने भएको छ। यसको निम्ति विभाग लगायत विभिन्न संस्थाहरू अघि आइरहेको छ। पार्कको जीर्णोद्वार मात्र होइन यहॉं हुने खुल्ला यौनखेलमा पनि अब पूर्णरूपले प्रतिबन्ध लाग्ने देखिएको छ। कालेबुङ महाविद्यालय नजिकको बङि्‌कमचन्द्र पार्कमा हुने खुल्लमखुल्ला अनैतिक खेललासरोकारले उजागर गरिदिएपछि समाजको हरेक तप्काबाट विभिन्न प्रतिक्रियाहरू आइरहेको छ। माया र प्रेमको खुल्ला अनैतिक प्रदर्शनको नाङ्गो रूपबारे पढ़ेेपछि पाठकहरूको मनमा पनि धेरै तर्क उठ्‌नु स्वभाविक हो, तर जुन क्रियाकलाप युवाजोड़ीले त्यहॉं गर्छन्‌ त्यो मर्यादित समाजको निम्ति गतिलो चुनौती रहेको छ। कहॉं जॉंदैछन्‌ त आजका पिँढ़ी प्रेमको बहानामा?

यसै प्रश्नको सोझो जवाब पाइन्छ भने सोही बङि्‌कमचन्द्र पार्कमा नै पाइन्छ।
मुख्यगरी टीनेजर समूहको निम्ति प्रेमको नाममा स्वभाविक बनिसकेको चुम्माचाटी गर्ने गोप्य र एकान्त ठाउँ मात्र होइन हेर्नै नसकिने अवस्थामा अथवा आपत्तिजनक अवस्थामा भेटिने ठाउँ पनि यही पार्क बनेको थियो। प्रेम जोड़ीहरूले रासलीला रच्ने कार्य भने यो पार्कमा नयॉं होइन। एकान्तमा रहेको यो पार्कमा आपत्तिजनक खेल रोक्ने वास्तवमा कोही छैनन्‌। अभिभावकहरूलाई आफ्ना छोरा-छोरी कहॉं जॉंदैछन्‌ भन्ने कुरा पनि थाहा छैन। स्वतन्त्र यो पुस्ताका अच्चाकली मोर्डन लभर्सको निम्ति नितान्तै सुरक्षित ठाउँ यो पार्क नै रहेको पनि धेरैलाई थाहा छैन। सरोकारले प्रेमी-प्रेमिकाको गलत कार्यको पर्दाफास गरेपछि यो पार्कको उपयोगितामाथि मात्र होइन व्यस्त अभिभावकका स्वतन्त्र छोरा छोरीहरू जो यो पार्कमा रङ्गीन खेल रच्न आउँछन्‌ उनीहरूप्रति हुनुपर्ने अभिभावकहरूको हस्तक्षेपमाथि पनि गतिलो प्रश्न बनेर उभिएको छ।

आपत्तिजनक खेल काण्डको उजागरपछि गर्नेले धेरै टिप्पणी गरेको देखिए पनि यो समस्याको निदान के हो भन्नेतिर चिन्ता धेरैले नै नगरेको देखियो। यसै काण्डलाई लिएर सोधखोज गर्न कालेबुङ थानासित सम्पर्क गर्दा थानाका आईसी प्रसाद प्रधानले अहिलेसम्म यस मामिलाको कुनै गुनासोपत्र नआएकोले कार्वाहीपूर्ण पहल गर्न नसकिरहेको जनाएका छन्‌। तिनले जनाए अनुसार यस प्रकारको स्वतन्त्रता युवा पिँढ़ीको भविष्यको निम्ति त खतरा त छँदैछ सभ्य समाजको निम्ति पनि उत्तिकै घातक छ। यस प्रकारको घटना सभ्य समाजको निम्ति उचित नरहेकोले आफ्नो पक्षबाट सक्नेजति पहल शीघ्र नै गर्ने पनि तिनले जनाएका छन्‌। यसको निम्ति बेला बखतमा पार्कमा छापा मार्ने अनि दोषीहरू भेट्टाइए कार्वाही गर्ने तिनले जनाएका छन्‌।

दागोपाप सोसियल फरेस्ट डिभिजन अधिनस्थ रहेको यो पार्क निर्माण गरेर यहॉं कुनै कर्मचारीहरू नराखिएको कारण पनि पार्कको दुरूपयोग भइरहेको गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको आरोप रहेको छ। यहॉं रेञ्ज अफिसर पनि राखिएको छ अनि एकजना चौकीदार र माली पनि नियुक्ति गरिएको छ। तर उनीहरूको कुनै अत्तोपत्तो छैन। कि त यस पार्कको सञ्चालन उचित प्रकारले गर्नुपर्छ कि त बन्द नै गरिनुपर्छ-विद्यार्थी मोर्चाका प्रतिनिधिहरू दीप थापा अनि दिपेन थापाले भने। सोही क्षेत्रका गैर राजनैतिक सङ्गठन सभ्य ग्राम समाज र स्थानीय गोर्खा जनमुक्ति नारी मोर्चा शाखाले पार्कले उत्पन्न गरेको यो समस्याको समाधानको निम्ति पहल शुरू गर्ने भएको छ। विभागसित सम्पर्क स्थापित गरेर पार्कलाई अझ सुन्दर बनाउने अनि पार्कको सही प्रयोजनको निम्ति काम गर्न अपील गरिने जनाइएको छ। पार्कमा भइरहेको नराम्रो कार्यमा प्रतिबन्ध लगाउने सम्बन्धमा विभागसित कुराकानी गरिने लमु छिरिङ भोटियाले जनाएकी छन्‌।

विद्यार्थीहरूलाई नै पार्कमा देखा परेको कारण यस सम्बन्धमा अभिभावक फोरमसित जिज्ञासा राख्दा फोरमका अध्यक्ष कर्णल डी.के. प्रधानले यस मामिलामा अभिभावकहरू नै सचेत हुनुपर्ने जनाएका छन्‌। तिनले भने, पार्कलाई सुन्दर बनाएर पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। पार्क बनाएर लापरवाहीपूर्वक छोड़िएको कारण नै यसको दुरूपयोग भएको हो। युवावर्गले समातेको गलत बाटोप्रति चिन्ता गर्नेहरूले त आफ्नो पक्षबाट सक्नेजति कार्य गर्न अग्रसर बनिरहेका छन्‌। तर ती प्रेमी-प्रेमिकाहरूको गलत मानसिकता र गलत सम्बन्धमाथि कसले रोक लगाउने? अभिभावकवर्गले पनि यस सम्बन्धमा चासो देखाएर उत्पन्न समस्याको समाधानको उपाय सोंच्नु अनिवार्य बनेको छ।

यो पार्कको मात्र होइन कालेबुङमा यस्ता एकान्त ठाउँहरू धेरै छन्‌ जहॉं युवा जोड़ीहरूले खुल्लमखुल्ला रङ्गीन खेल देखाउने गर्छन्‌। जहॉं जहॉं पनि यस प्रकारका अनैतिक घटनाहरू देखा पर्छ त्यहॉंका नागरिकहरूले त्यसैबेला हस्तक्षेप गर्नुपर्ने अनिवार्य रहेको धेरैले जनाएका छन्‌।

पार्कले उत्पन्न गरेको समस्याबारे दागोपाप सोसियल फरेस्ट डिभिजनका डीएफओ टी.टी. भोटियाले आफू अनभिज्ञ रहेको जनाएका छन्‌। तिनले पार्कस्थित ग्लास हाउसभित्र पसेर यस्तै अनैतिक कार्य गरिने कुरा थाहा पाएकोले ग्लास हाउस नै नष्ट गरिएको पनि जनाएका छन्‌। तिनले पार्कलाई व्यवस्थित बनाउने बताउँदै यसको मरम्मतीको निम्ति प्रोजेक्ट बनाएर दागोपापमा पठाइएको तर कुनै पनि राशी अनुमोदन नभएको जनाएका छन्‌। तिनले स्थानीयहरूलाई लिएर एउटा बैठक गर्ने अनि समाधानको बाटोहरू निकाल्ने पक्षमा आफू रहेको पनि तिनले जनाएका छन्‌।

0 comments: on "प्रतिबन्ध लाग्ने भयो यौनखेलमा"