गोर्जमान गुरूङ,
सिलगढ़ी।
केही दिन अघि गोर्खा जनमुक्ति मोर्चाको हाइवे शाखामा भर्खर चयनित एक नेता विशाल राईले भोको पेटले आन्दोलन नहुने कुरा गरेका छन्। तिनले त्यसो भनेको समाचार प्रकाशित हुने वित्तिकै फेसबुकमा सयौंले टिप्पणी गरेको पाइयो। ती नेताको वास्तवमा कुनै गल्ती थिएन। राजनीतिमा भोक लागेन भने बॉंच्न सकिन्न। सुबास घिसिङलाई भोक नलागेको भए दागोपाप आउने थिएन। तिनले आफ्नो भोक जनताको पेट काटेरै भरे। कसकोमा हिसाब छ कि घिसिङकोमा यति सम्पति छ। कसले आवाज उठाउँछ कि घिसिङले यति घोटला गरेको छ।
देशलाई अहिले एउटा अन्ना हजारे र अर्को रामदेवले तिरिखिरी पारिरहेको छ। तिरीखिरि उनीहरू भइरहेका छन्, जो भ्रष्टचारी छन्। नत्र कालोधन फर्काउ र गरीब देशमा खनाउ भन्ने अनि देशलाई खोक्रो पार्ने भ्रष्टचारीहरूलाई जेल ठोक्ने लोकपाल बील ल्याउ भन्दा नराम्रो कतै भनिएको छैन। देशहीतको यो संवादलाई निमोठ्न देश चलाउने भ्रष्टचारीहरूले देशको सम्पूर्ण सामरिक खर्च गरिरहेको छ। नाथे दार्जीलिङ त यसको तुलनामा भुसुना मात्र हो। सबैभन्दा पहिला घिसिङले जतिपनि घोटला गरेर कालोधन थुपारेका छन्, तिनका चेलाहरूले जतिपनि हिनामिना गरेका छन्, त्यसो गर्न जति पनि विभागका अधिकारीहरूको संलग्नता छ, यसको हिसाब किताब कसकोमा छ?
जो जो मोर्चाका कार्यकर्ता हुन् अनि उनीहरूको नाकमा अलिकति पनि रगत छ भने नेताहरूलाई सोध्नु, दागोपाप भ्रष्टचारको मूल दस्तावेज जो मोर्चाका नेताहरूले सबै कार्यालयबाट जफ्त गरे, त्यो कहॉं छ अनि किन लुकाइएको हो। निक्कै ज्ञानी र बुद्धिमानी आफै मान्ने डा. हर्कबहादुर छेत्रीलाई नै सोधे पनि हुन्छ। जुन कागजलाई अघि राखेर गोरामुमोका भ्रष्टचारी नेताहरूलाई जेल ठोक्न सकिन्थ्यो, त्यही कागजहरू लुकाएपछि नेताहरूलाई पहाड़बाट लखेटेर उनीहरूलाई सुरक्षित गर्ने काम गरिएको होइन भन्ने पुख्ता प्रमाण नेताहरूसित मागियोस्। कागज लुकाएपछि अघिल्ला घोटलाबाजहरूले दण्ड पाउने नै भएनन्। त्यसपछि खोलियो फाटक। कुनै पनि ज्ञानी कार्यकर्ता छन् भने दागोपापको अहिलेसम्मको राशि कुन कुन काममा कसरी प्रयोग गरिएको छ, सूचनाको अधिकारलाई प्रयोग गर्दै माग्न सक्छन्।
एउटा प्रश्न सोझो छ-गोरामुमोका नेताहरूले त्यही दागोपापमा भ्रष्टचार गरे भने गोजमुमोका नेताहरूले गरे कि गरेनन्? धेरैलाई नै यो थाहा छ कि कुन नेतालाई कति पर्सन्टेज हो। ठीक छ, मोर्चाले पार्टी चलाउन यसो गर्नै पर्छ। यदि यस्तो संस्कार हो भने त्यो पार्टी चलाउनु नै किन? तर पार्टी चलाउनु पर्छ किन भने पार्टी चलाएर लान सकेमात्र परिषद् आउँछ। अहिले त्यही आइरहेको छ। उसो भए किन भोक लाग्दैन त विशाल राईहरूलाई?
उनीहरूलाई भोक लाग्नु स्वाभाविक नै हो।
भोक लाग्नुको कारण खोज्नु हो भने एउटा जवाब आउँदो रहेछ,आन्दोलन नै छुट्टैराज्यको निम्ति गरिएको होइन। विशाल राईहरू गठ्ठे होइन्, जसलाई राज्य कसरी बनाइनुपर्छ भन्ने ज्ञान नहोस्। तिनले पुर्वोत्तर राज्यको भ्रमण गरेको तिनकै लेखहरूले बताएको हो। गोर्खा जनमुक्ति मोर्चाले एकैसाथ जुलूस, भोक हड़ताल, जीएल नम्बर, सरकारी कार्यालयहरूमा असहयोग आन्दोलन गरेका हुन्। विशाल राईहरूले बुझे, अहिले नै गोर्खाल्याण्ड होला जस्तो जुन कार्यक्रमहरू भइरहेका छन्, त्यसले छुट्टैराज्यलाई कतैबाट पनि इङ्गीत गरेको छैन। अनि किन नलागोस् त भोेक?
शुरूबाट नै मोर्चाका नेताहरूले भट्टाभट पैसा कमाउन थाले। किन? किन भने उनीहरूलाई थाहा थियो, आन्दोलन गोर्खाल्याण्डको निम्ति होइन। पार्टीले सस्पेन गरेकाहरू, सम्पति थुपारी सकेपछि मज्जाले दलमा नै छन्। उनीहरूको काम सकियो अब अर्कोको पालो। यो कुरा थाहा हुने विशाल राईहरूलाई किन लाग्दैन त भोक?
एकदिन विमल गुरूङले भने-घिसिङले 100 त बनाए मैले त 5000 कन्ट्रयाक्टर बनाएँ। मानौ मोर्चा कन्ट्रयाक्टरको कारखाना भयो। जति कन्ट्रयाक्टर उति कमिशन। सजिलो। जसको भुँड़ी छ, उसलाई किन लाग्दैन त भोक?
गोरामुमो कालदेखि नै गोर्खाल्याण्डले मात्र देशभरिका गोर्खाहरूको चिह्नारीको संकट समाधान हुन्छ भनेर बताउने डा. हर्कबहादुर छेत्रीले गोजमुमो कालमा आइपुगेर पैसा नै चिन्हारी भन्छन् भने तिनको यो भोकमाथि आश्चर्य हुने कुरै छैन। मैले त सुनेको डा. छेत्रीले त ठाड़ै भन्छन् रे, टाउको ठोक्काउँदा पनि गोर्खाल्याण्ड हुँदैन भनेर। मलाई आश्चर्य लाग्दैन यस्तो सुन्दा, किन भने मलाई थाहा छ कि भोक लाग्दा मान्छेले आँखा देख्दैन, त्यसैकारण उ जतासुकै कुद्छ।
यो भोकको कारखानालाई बङ्गाल सरकारले बन्द गर्न सक्दैन। बरू चिया कारखाना र कुलैन कारखाना बन्द गर्न सक्छ। एउटा कारखाना काम लागेन कि अर्को कारखाना बनाउन सक्छ तर दार्जीलिङको निम्ति पानीको पाइप बनाउन सक्दैन। घिसिङ कारखानाले 20 वर्ष सक्यो, यो गोर्खाहरूको जोश र इच्छाशक्तिलाई मार्नलाई कतिवर्ष चाहिन्छ? बङ्गालको पोलितव्यूरोहरूसित राम्रै हिसाब छ। अहिले जुन कारखाना छ, त्यसले लामो भनेको पॉंचवर्ष, अझ लामो गयो भने 10 वर्ष त ठेल्छ नै। एउटा कुनै पनि मूल मुद्दालाई 10वर्ष पर सार्नु सानो सफलता होइन। यति ठूलो सफलताको उपहार पनि सानो हुँदैन।
बुझेका विशाल राईहरूलाई किन लाग्दैन त भोक?
वास्तवमा नै भोक नलागेको भए गोर्खा जनमुक्ति मोर्चा जन्मिने थिएन। नजिककालाई थाहा छ हेर्दाहेर्दै नेताको चालामाला फरकिएको। चालामाला फरकिनुमा गर्व गर्ने संस्कार नै पार्टीमा छ भने, गुनासो गर्ने ठाउँ नै कहॉं छ?
गोरामुमोका नेता सुबास घिसिङ जसले अहिलेसम्म पनि दागोपापबाट राजिनामा लेखेका छैनन्। हस्ताक्षर गर्ने तिनलाई जेड क्याटागोरीको सुरक्षा माकपाले मात्र होइन तृणमूलले पनि दिएरै राखेको छ। तिनको राजनैतिक महत्व जसले धेरै बुझेका छन् उसैले मात्र तिनको कदर गर्छ। घिसिङले दागोपाप किन थापेका हुन्? तिनी कहॉं बेचिए? किन बेचिए? कसरी बेचिए? त्यो जान्नको निम्ति अहिलेको गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता डा.हर्कबहादुर छेत्रीका गोजमुमोमा नलाग्दाअघिका तोड़का लेखहरू पढ्दा हुन्छ। त्यसबेलाका तिनैलाई सोद्धा पनि हुन्छ। गोरूको फल हेरेर कुद्ने घिसिङलाई खिल्ली उडाउँदै लेख्ने तिनी नै अहिले त्यही गोरूको फलको पछि छ भने बुझ्नेले एउटै कुरा बुझ्छ -त्यो हो भोक। तिनको वर्षौंको भोक अब मेटिनेवाला छ। कहॉं त्यसै छोड्छ त? तिनले भोक मेट्ने प्रयास कहॉं कहॉं कहिले कहिले गर्ने कोशिष गरेका छन्, तिनलाई पढ्नेहरूले थाहा पाइहाल्छन्। सोबर...होइन म केही भन्दिन। बुझ्नेले नै बुझनु्। भोक लागेपछि गोरूको होस् कि गाईको फल होस् चिन्न सक्दैन। मलाई त लाग्छ केहीपछि तिनले घिसिङमाथि लेखेका लेखहरू पुरानो पत्रिकाबाट साभार भनेर कुनै पनि पत्रिकाले छाप्न थाले त्यो लेखले तिनैलाई ठ्याकठ्याक लाग्न थाल्छ। नपत्याए कसैले त्यो पहल गरेर हेर्दा पनि हुन्छ।
जो राम्रोसित हिन्दी बोल्न सक्दैनन्, तिनले बोलेको सम्झना गरिहेर्नुस् न अहिले। रोशन गिरीले जतिवटा प्रश्न गर्दा पनि राष्ट्रिय मिडियामा एउटै जवाब दिन्थे, हम लोगोको सिर्फ गोर्खाल्याण्ड चाहिए, बस्। तिनले कहॉंदेखि यो डाइलग भन्न छाड़े, लु त मेसो पक्रिनुहोस्। जब तिनलाई गज्जबले भोक लाग्न थाल्यो तिनले त्यो डाइलग नै बिर्सिए। विधायकहरूले शपथ लिनुपर्ने बेला तिनी नै साथ लागेर गए अनि वार्ताको निम्ति ममतासित गुहार लगाए।
त्यसको नतिजा अहिले हेर्दा हुन्छ। ममताले उनीहरूसित नै उभिएर भनिन्, अब पहाड़को समस्याको स्थायी समाधान भयो। विपक्षले प्रश्न गर्दा एउटा वार्ताको रेकर्ड मोबाइलमा छ भन्ने एक नेताले त्यो सम्वादलाई पनि रेकर्ड गरे गरेनन् बेग्लै कुरा हो, तर भारतभरिका गोर्खाहरूले त्यो समाचार प्रसारण राष्ट्रिय च्यालनहरूमा हेरेकै हुन्। अहिले पो दार्जीलिङ बाहिरका (डुवर्स लगायत) गोर्खाहरूले थाहा पाएछन्, वास्तवमा मोर्चाले गोर्खाहरूको समस्याको समाधान होइन केवल दार्जीलिङको समस्याको समाधानको निम्ति आन्दोलन गरिरहेको थिएछ भन्ने कुरा। गिरीले ममताले त्यसो भनेकै छैनन् भनेर ढिप्पी गरिरहेका छन्। ममताले दार्जीलिङका समस्या समाधानको निम्ति चुक्ति भयो भनेर पनि भनेकी थिइन्, ती नेताले होइन भनेर ढिप्पी नै गरिरहेका छन्। किन? किन भने पत्याउनेहरूको जनमत उनीहरूसितै छ। घिसिङले हल्लने ढुङ्गाभन्दा पनि पत्याउने, संसारको उमेर घोषणा गर्दा पनि पत्याउने त्यही जनता त छन् नी तिनीसित। सिकिएकै छन् घिसिङबाट कि यो जनता नामको जन्तुलाई कसरी जोत्नुपर्छ। खै यी नेताहहरू के खाएर हुर्किएका हुन्छन् उनीहरू नै जानुन् तर तिनलाई च्यानलहरूले प्रसारण गरेको कुरा र त्यसलाई गोर्खाहरूले हेरेको, सुनेको कुरा थाहा पनि छ कि छैन। छ भने पनि छैन भने पनि फरक पर्नेवाला नै कहॉं छ?
विचरा दार्जीलिङ बाहिरकाहरूलाई अहिले हुनसम्मको पीर छ। मोर्चाले झुक्काउन सम्म झुक्काएकोमा साह्रै वेस्वाद मानिरहेका छन्। दार्जीलिङकाहरूलाई चिलाई न कनाई। जब पेटभरि खाने कुरा अघि आउँदैछ तब भोकाहरूलाई के कुनै कुराको पर्वाह हुन्छ त? पहिले भोक मेटौं अनि चिन्हारी। त्यसो पनि होइन, चिह्नारीको कुरा त पैसाले नै समाधान गरिहाल्छ। भुत्रोको चिन्हारी?
डा. हर्कहबहादुर छेत्रीलाई त जसले गोर्खाल्याण्ड भन्छ उसलाई देखेर माया पो लाग्छ अरे, भन्छन्-मोरोहरूलाई के थाहा गोर्खाल्याण्ड कसरी बनिन्छ भनेर। के थाहा राज्य र केन्द्रको परिस्थिति कस्तो छ भनेर, मोरोहरूलाई के थाहा कि त्यत्रा नेताहरूको सामु हाम्रो उपस्थिति कत्रो छ भनेर। तिनलाई यो ज्ञान पनि भोक कै कारण आएको हो। राज्य र केन्द्रमा राज्य बनिने परिस्थिति नै छैन भनेर त उनीहरूले पो प्रचार गरिरहेका छन्, जबकि संविधानले त्यसो भनेकै छैनन्। बङ्गालका संविधान भन्दा पनि ठूला नेताहरूसित मित्रता बसेपछि के लाग्छ? दिँदैन भने किन माग्नु? मोर्चाको कुरा साह्रै सोझो छ। राज्य हुँदैन भने एउटा बलियो व्यवस्था किन नथाप्नु? यो पनि सोझो कुरा छ मोर्चाको। पैसा र काम पायो भने दार्जीलिङका जनताले गोर्खाल्याण्ड भन्नै विर्सन्छ-यो झन कति सजिलो कुरा छ मोर्चाको। जब कि उनीहरूलाई थाहा छ कि उनीहरूसित भोको पेटले मात्र आन्दोलन हुन सक्दैन भन्ने(विशाल)हरूको जमात छ। जब कि उनीहरूलाई थाहा छ कि मोर्चा अध्यक्षलाई कामको निम्ति मेमोरेण्डम चढ़ाउनेहरूको घुँइचो छ। जब कि उनीहरूलाई थाहा छ कि बाटो नबनिएको, पानी पिउन नपाएको समस्या बोल्नेहरूले कार्यालयमा हल्लाखल्ला गर्नेहरू छन्। एउटै कुरा उनीहरूलाई थाहा छैन कि जति पनि जे छन्, दार्जीलिङमा मात्र छैनन्। दार्जीलिङलाई नै सर्वज्ञ मान्ने नेतालाई, जो परेकोबेला भोट दार्जीलिङका जनताबाट मात्र पाउँछ भन्ने कुरा थाहा छ, उसलाई भारतभरिका गोर्खाहरू कुन चराको नाम? हो। दार्जीलिङका जनता जसलाई विकास र राज्यको परिभाषा थाहा छैन, त्यहॉं राजनीति गरेर आफ्नो वर्चस्व बनाउने ठाउँ छ ती नेतालाई ढॉंट्न कति समय लाग्छ? जुन भोक बोकेर राजनीतिमा उनीहरू छन्, जब त्यो पुरा हुँदैछ भने, उनीहरूलाई बइमान हुन कति समय लाग्छ?
अब उनीहरूको भोक मेट्न दिनुपर्ने पनि गोर्खाल्याण्ड राज्य चहानेहरू सामु एउटा बाध्यता आएको छ जुन घिसिङको बेला पनि थियो। विमल गुरूङ जसलाई तिनकै नेताहरूले गरेको राजनैतिक चलखेलबारे ज्ञान छैन अनि ज्ञान हुने क्षमता पनि छैन, तिनलाई दोष्याउनु भनेको देवतालाई गाली गर्नु जस्तो हो। मदन तामङ काण्डपछि मरेरै विमल गुरूङले बँचाएको गोजमुमोलाई त्यहॉंदेखि यता कसले आजसम्म चलाइरहेको छ भन्ने कुरा विमल गुरूङ आऱैलाई त थाहा छँदै छैन, यो कुराको ज्ञान यदि अरू कसैलाई पनि छैन भने त्यो ज्ञान त्यतिबेला मात्र आउने छ जब भोकाहरूको भोक मेटिने छ। पर्खौं न त उनीहरूको भोक कहिलेसम्म मेटिने हो। तर एउटा कुरा, उनीहरूले भोक मेटिरहेकै बेला नै हो, उनीहरूले जङ्गलबीच ल्याएर छोड़ेको गोर्खाल्याण्ड पुग्ने ट्रेन हॉंक्ने बेला। यसपल्ट रुट निक्कै बलियो बनाऔं। भोकमरीहरूको देशमा जसरी बॉंच्नपर्छु र चिन्हारीको सवाललाई पनि बँचाउनुपर्छ, त्यसरी नै बँचाउने काम हामी यो लेख पढेर बुझ्नेहरु कै हो।
पग्ला कुकुर
12 years ago
0 comments: on "भोकमरीहरूको देशमा"
Post a Comment