मुख्य समाचार :


बलिउडको समस्या पातलेबॉंसमा समाधान?

बलिउडमा दार्जीलिङ बदनाम

कालिमन्युज
पहाड़की रानी दार्जीलिङमा बर्फी फिल्मको शुटिङ रद्द भएपछि यस क्षेत्रको सुनाममा एउटा अमेट धब्बा लागेको छ|

कतिजना नाम कमाएर प्रसिद्ध बन्छन् कति बदनाम बनेर चिनिन्छन्‌| भनिन्छ दूध दिने गाईको लात्ती पनि सहनुपर्छ तर यहॉं यस्तो भएन यहॉं त उल्टो गौमातालाई लात्तीले हिर्काउने काम भयो अनि अन्त्यमा त्यही भयो जो नहुनुपर्ने थियो| गत १६ जूनको बिहान ५ बजीदेखि दार्जीलिङको चौरस्तामा प्रख्यात चलचित्र निर्देशक अनुराग बासुको निर्माणाधीन फिल्म बर्फी-को शुटिङको तयारी चटलिरहेको बेला गाउँ-बस्ती-कमान-टाउन सर्वत्रबाट चलचित्रका नायक अथवा चकलेटी हिरो रणवीर कपुरका प्रशंसकहरूको ओइरो लाग्न थाल्यो - जो स्वाभाविक हो| यसपालि दार्जीलिङलाई आधार गरेर शुरु भइरहेको सिनेमाका प्रमुख कलाकारहरू हुन् नायक रणवीर कपुर, नायिका प्रियङ्‌का चोपड़ा अनि सह-अभिनेता इलिना डिक्रुज|

घटनाअनुसार, १६ जूनको बिहान घमाइलो वातावरणमा विशेष गरी स्कूले छात्र-छात्राहरूको हिँड़डुलको कारण शुटिङमा बाधा उत्पन्न हुन थाल्यो| क्यामेराको फ्रेमभित्र अनावश्यक मानिसहरूको प्रवेशले शुटिङ कर्मीहरू दिक्क भएर भीड़लाई नियन्त्रण गर्ने प्रयास गर्न थाल्दा मुखामुखी द्वन्द्व चल्न थाल्यो जसको परिणामस्वरुप बलिउडका चर्चित सिनेमाहरू मर्डर, ग्याङस्टर्स, लाइफ इन ए मेट्रो, काइट्‌स -को निर्देशन गरिसकेका युवा निर्देशक अनुराग बासु पुग्नुपर्‍यो पातलेबॉंस जहॉं उनले राजनीतिक दलका नेताको शरण लिनुपर्‍यो| शिर्ष राजनीतिक नेता अनि उनका सहायकहरुको प्रतिश्रुति पाएर अघि बाधित बनेको शुटिङ कार्य पुनः शुरु भए तापनि फेरि अनियन्त्रित भीड़ -को नाममा आम-मानिसहरूले शुटिङ कार्यमा दखल दिन थालेको कारण दिनभरिको तालिका नै रद्द गर्नुपर्‍यो| यति मात्रै होइन बासुले शुटिङ तालिकालाई पुनः विचार गरेर यसलाई छोट्याउने निर्णय लिँदै दार्जीलिङको नमिठो छाप आफ्नो हृदयमा रोप्नुपर्‍यो| जुन ठाउँमा अघि घुम्न आउँदा उनी मोहित बनेका थिए अनि यहीँ बसेर बर्फी -को कथानक तयार गरेका थिए त्यसै ठाउँमा आफ्नो सपना साकार तुल्याउन आउने लब्धप्रतिष्ठ युवा फिल्मकार लज्जित हुनुपर्‍यो| यसैले उनले मुम्बईको फिल्म सिटी स्टुडियोमा नक्कली दार्जीलिङको निर्माण गरेर रहल शुटिङ कार्य उतै सिध्याउने आफैलाई चित्त नपर्ने निर्णय लिनुपर्‍यो| पहाड़ी मानिसहरू अथवा नेपालीभाषीहरूको परिचय मृदुभाषी, सहयोगी, मिलनसार, हँसमुख, उत्साही, जोशिला, इमानदार, बफादार भनेर दिइन्छ| यति मात्रै होइन अतिथि देवः भवः भनेर पाहुनापातलाई ससम्मान स्वागत जनाउँदै चिया-चमेना खुवाउने परम्पराको धनी यो जाति हो| आफू भोको पेट बसेर अतिथिलाई पहिले ज्यूनार गराउने यो समुदाय| तर दार्जीलिङले आफ्नो गरिमा र मर्यादामा चोट पुर्‍याउने जुन काम गर्‍यो यसपालि सो आजको सभ्य, सचेत अनि शिक्षित समाजलाई कदापि शोभा दिँदैन| हिन्दी सिनेमामा नेपालीभाषीहरूलाई दरबान र चौकीदारको रुपमा मात्र प्रदर्शित गरिएको घटनामाथि विचलित अनि मर्माहत भएर चौरस्ता र डम्बरचोकमा फिल्म सिताराहरूको पुत्ला जलाउने जातिप्रेमी र संस्कृतिप्रेमीहरूका लागि एउटा सुनौलो मौका थियो आफूहरू चौकीदार र दरबानभन्दा धेरै माथि शिक्षित, सुसभ्य र सुसंस्कृत रहेको प्रमाणित गर्ने भारतभरिका गोर्खाहरूको राजधानी दार्जीलिङमा यसपालि| तर होइन यो सम्प्रदायलाई जुन दृश्यमा, जुन मानसिकता बोकेको रुपमा हिन्दी सिनेमामा प्रदर्शित गरिन्छ त्योभन्दा उच्च स्थानमा यो जातिलाई प्रतिनिधित्व गराउने व्यवहार छैन भनी सोह्र आना आश्‍वस्त बने यसपालि बलिउडका कर्मीहरू| होला, शुटिङको समय युनिटका कर्मीहरूबाट भूलचुक भयो होला अवश्यै| दूरदराजबाट आएका, तकनिकी जञ्जालमा फँसेको बेला युनिटकर्मीहरूबाट अपशब्द निस्के होलान् तर यसको भुक्तानस्वरुप मुम्बईबाट आएकी महिला कर्मीमाथि हातापाइको रुपमा गरिएको घटना यदि सत्य हो भने सो भूलको मूल्य दार्जीलिङले सदैव नकारात्मक रुपमै चुकाउनुपर्नेछ| शुटिङ शान्तिको प्रतिक हो| दार्जीलिङभन्दा मनोरम प्राकृतिक दृश्यले सजिएको काश्मिरमा आज शुटिङ हुँदैन किनभने त्यहॉं शान्ति छैन| दार्जीलिङको पर्यटकीय विकासमा बलिउड फिल्मको योगदान अविस्मरणीय छ| दार्जीलिङ आज विश्‍वमा परिचित बन्नमा मेरी सपनों की रानी कब आओगी तू.. जस्ता गीतहरूको पनि भूमिका उल्लेखयोग्य रहेको छ| कञ्चनजङ्‌घा त नेपाल र सिक्किमबाट पनि देखिन्छ तर किन पर्यटकहरू मोहित बन्छन् यस पहाड़की रानीको एकैपल्ट भए पनि दर्शन गरेरै मर्नका लागि | यहॉंका मानिसहरूको सुव्यवहार र अनुशासनबद्ध हावभावकै कारण देश-विदेशका पर्यटकहरू यहॉं ओइरिने गर्छन्‌ | विगतमा यहॉं शुटिङ भएका सुप्रसिद्ध बलिउड फिल्महरूले दार्जीलिङे प्राकृतिक सौन्दर्य र स्थानीय आममानिसहरूको सोझोपनलाई जुन प्रकारले फिल्माएका छन् त्यसले यहॉंको सुवासना विश्‍वव्यापी रुपमा छरिनमा खूब मद्दत मिलेको सत्यलाई कसैले नकार्न सक्तैन|

दार्जीलिङ-कालेबुङमा आजसम्म छायाङ्‌कन गरिएका प्रख्यात हिन्दी चलचित्रहरू हुन्-

कलाकार सिनेमाको नाम
देव आनन्द, आशा पारेख जब प्यार किसीसे होता है (१९६१)
मनोज कुमार, माला सिन्हा हरियाली और रास्ता (१९६२)
शम्मी कपुर, कल्पना प्रोफेसर(१९६२)
धर्मेन्द्र, आशा पारेख आये दिन बहार के (१९६६)
राजकुमार, सुनील दत्त हमराज (१९६७)
राजेन्द्र कुमार, सायरा बानो झुक गया आसमान (१९६८)
बिनोद खन्ना, लिना चन्द्रावकर मन का मीत (१९६८)
देव आनन्द, आशा पारेख महल (१९६९)
राजेश खन्ना, शर्मिला टैगोर आराधना (१९६९)
दिलिप कुमार, सायरा बानो सगिना महतो (१९७१)
रिसी कपुर, सिम्मी मेरा नाम जोकर (१९७१)
देव आनन्द, जाहिदा गैम्बलर (१९७१)
देव आनन्द, हेमा मालिनी, राखी जोशिला (१९७३)
सञ्जीव कुमार, शर्मिला टैगोर चरित्रहीन (१९७४)
देव आनन्द, जीनत अमान, कबिर वेदी इश्क, इश्क, इश्क (१९७४)
सञ्जीव कुमार, शर्मिला टैगोर मौसम (१९७५)
अमिताभ बच्चन, रेखा दो अञ्जाने (१९७६)
राजेश खन्ना, सिम्पल कपाड़िया अनुरोध (१९७७)
बिनोद खन्ना, शबाना आजमी, डैनी लहू के दो रंग (१९७९)
नवीन निश्‍चल, शबाना, अनील कपूर एक बार कहो (१९८०)
अमिताभ बच्चन, राखी, अमजद खान बरसात की एक रात (१९८१)
शाहरुख खान, जुही चावला राजु बन गया जेन्टलम्यान (१९९२)
आदित्य पञ्चोली, पूजा भट्ट चोर और चांद (१९९३)
शाहरुख खान, सुष्मिता सेन,सुनील सेट्टी मैं हूँ ना (२००४)
सइफ अली, विद्या बालन, सञ्जय दत्त परिणिता (२००५)



दार्जीलिङ पहाड़मा शुटिङ भएका बक्स अफिस हिट चलचित्रहरूले यहॉंको प्राकृतिक छटालाई त उजागर गरेकै छन् त्यसका साथै स्थानीय कलाकारहरूलाई पनि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेका छन्‌| कस्तो मजा है रेलैमा जस्तो नेपाली शब्दले सजिएको प्रख्यात गीत, दिवाना मुझसा नहीं जस्तो ए कान्छा मलाई सूनको तारा -को नेपाली धुनमा रचित गीत, राजेश खन्नाले पहिरिएको कालो नेपाली टोपी, इत्यादिले पहाड़को संस्कृतिलाई रजत पर्दामा उजागर नगरेका होइनन्‌| आजभोलिको घरिघरिको राजनीतिक उतार-चढ़ाउ, बन्द, भोक हड़ताल, जुलुस, अनसन, गोलीबारी, काटमार, वाक्‌युद्ध, चक्काजाम अनि प्राकृतिक आपदाहरूले वाक्कै-दिक्कै बनेका (नेताहरूको भाषामा भन्नु हो भने थाकेका) जनमानसमाझ झन्नै छ वर्षपछि शुटिङको चहलपहलको माध्यमबाट रौनक फर्कन लागेको दार्जीलिङले ठूलै खतिलाई निम्त्यायो यसपालि| पिता रिसी कपुरले फिल्मी जीवन शुरु गरेको दार्जीलिङमा पुत्र रणवीर कपुरले एकदुइ अभद्र तत्त्वहरूको दुर्व्यवहारको कारण जुन परिस्थितिको सामना गर्नुपर्‍यो त्यसको प्रतिफलनस्वरुप पुरानो गौरव र शान्ति फर्काइल्याउन खोजिरहेको यो पहाड़ले आर्थिक, मानसिक र मनोवैज्ञानिक क्षति खप्नुपरेको छ आज|

दार्जीलिङवासीलाई ईश्‍वरले सद्बुद्धि दिऊन् - यो भन्दा टूलो कामना आजको दिनमा केही गर्न सकिँदैन|

0 comments: on "बलिउडको समस्या पातलेबॉंसमा समाधान?"