मुख्य समाचार :


रोटी

सी.के.श्रेष्ठ


धेरै वर्षहरु बितिसके
रोटीका चक्का लगाएका बेशरम गाडीहरुले
मान्छेको भावनालाई किल्चिंदै-किल्चिंदै हिंडेको पनि
धेरै वर्षहरु बितिसके---

रोटीको सिंहासनमा, रोटीकै मुकुट लगाएर
‘रोटी-सम्राट ‘ –हरु गर्जिन्छन् ----
जनाकांक्षाका कथा कथ्नेहरु सब सिल्लीहरु !
भावनाका गीत गाउनेहरु सब महामूर्ख !
अस्तित्वका कुराहरु सब पांग्दुरे गफ !
आदर्श भनेको त हावा मिठाई !!
सब वाहियात् – सब वाहियात् !
मान-इज्जत कमाएर के हुन्छ !
रोटी कमाऊ !! --- रोटी !!!

यसरी लक्ष्य र अभियान
संघर्ष र आन्दोलन
भावना र जनाकांक्षाको अध्यायले लिन्छ
एउटा छोटो ‘कमर्शियल-ब्रेक ‘
अनि शुरु हुन्छ विज्ञापन रोटीको --------
“ न सुन ठूलो न चांदी – न हीरा न त मोती
सबभन्दा ठूलो पेट – पेटभन्दा ठूलो रोटी !!! “
(प्रदर्शनोन्मुख नाटक “ दैलो “– बाट )

0 comments: on "रोटी"