मुख्य समाचार :


स्टालिनका शब्दमा ऐतिहासिक भौतिकवाद

– चन्द्र सापकोटा

द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरूलाई समाज वा इतिहासको क्षेत्रमा प्रयोग गरिनु नै ऐतिहासिक भौतिकवाद हो। मानिसलाई जीवन निर्वाहका लागि साधनहरूको आवश्यकता पर्छ। ती चीजहरू प्रकृतिमा पाइन्छन्। मानिसले प्रकृतिमा जीवननिर्वाहका लागि संघर्ष गर्दछ। प्रकृतिसँग संघर्ष गरेर मानिसले उत्पादनमा भाग लिन्छ। उत्पादन गर्ने मानिस र उसको कार्य कुशलतालाई उत्पादन शक्ति भनिन्छ। उत्पादनका दौरानमा मानिसहरूका बीचमा सम्बन्ध कायम हुन्छ। त्यसलाई हामी उत्पादनसम्बन्ध भन्दछौं। उत्पादन शक्ति र उत्पादन सम्बन्ध दुवै मिलेर उत्पादन प्रणाली बन्छ।
उत्पादनका लागि जमिन, कारखाना वा उत्पादनका औजारहरूको पनि आवश्यकता पर्दछ। तिनीहरूलाई उत्पादनका साधन वा बस्तुहरू भनिन्छ। जसमाथि परिश्रम वा उत्पादन गरिन्छ।

उत्पादन प्रणालीमा सधै परिवर्तन हुन्छ। उत्पादन प्रणालीको आधारमा समाज, सामाजिक विचार, दृष्टिकोण वा राजनैतिक व्यवस्था आदिको निर्माण हुन्छ। अर्को शब्दमा उत्पादन प्रणाली वा मानिसको जीवन निर्वाहको तरिका जस्तो हुन्छ त्यही अनुसार सामाजिक संरचनाको पनि विकास हुन्छ। यसरी उत्पादन प्रणालीमा सामाजिक संरचना वा राजनैतिक दृष्टिकोण अडेको हुन्छ। उत्पादन प्रणाली जग हो भने राजनैतिक दृष्टिकोण वा संस्था उपरी संरचना हो। उत्पादन प्रणालीमा परिवर्तन भएपछि उपरी संरचनामा पनि परिवर्तन हुन्छ। तर उत्पादन प्रणाली र त्यसको उपरी संरचनामा हुने परिवर्तन सरल, सिधा र सामान्य प्रकारले हुँदैन। कतिपय समस्या, द्वन्द्व र अन्तरविरोध वा जटिलताको बीचबाट गुज्रेर मात्र उत्पादन प्रणाली र उपरी संरचनामा परिवर्तन हुने गर्छ। उत्पादन प्रणालीमा परिवर्तन वा विकास हुँदा पहिले उत्पादन शक्तिमा परिवर्तन हुन्छ र पछाडि मात्र उत्पादन सम्बन्धमा परिवर्तन हुने गर्छ।

उत्पादन शक्तिमा परिवर्तन वा विकास भएपछि उत्पादन सम्बन्धमा पनि त्यही अनुसार परिवर्तन वा विकास भएमा समाजको गति अगाडि बढ्छ। तर उत्पादन शक्तिमा परिवर्तन हुने र उत्पादन सम्बन्धमा तुरून्तै परिवर्तन नहुँदा समाजमा गत्यावरोध सिर्जना हुन्छ।
समाजवादी समाजमा सामाजिक उत्पादन र सामाजिक वितरण हुने हुँदा समाजको विकास तीब्र हुन्छ। तर पूंजीवादी समाजमा उत्पादन सामाजिक र उत्पादनका साधन वा बस्तुहरू पूंजीपतिको स्वामित्वमा हुने हुँदा उत्पादक शक्तिको तुलनामा उत्पादन सम्बन्धको परिवर्तन वा विकास पछाडि पर्दछ। उत्पादन शक्ति र उत्पादन सम्बन्धको बीचमा अन्तरविरोध सिर्जना भएर सामाजिक संरचनामा गत्यावरोध पैदा हुन्छ।

मानिसहरू कुनै नयाँ उत्पादनशक्ति वा उत्पादन सम्बन्ध छान्न स्वतन्त्र हुँदैनन्। त्यस्को विपरीत उत्पादन शक्ति वा उत्पादन सम्बन्धमा हुने परिवर्तन अनुसार नै उनीहरू नयाँ व्यवस्थालाई स्वीकार गर्न बाध्य हुन्छन्। नयाँ प्रकारको उत्पादक शक्तिहरूको विकास भएपछि पुरानो प्रकारको उत्पादन सम्बन्धमाथि टिकेको पुरानो सामाजिक उपरी ढाँचाले नयाँ उत्पादक शक्तिहरू वा तिनीहरूमाथि टिकेका नयाँ विचार वा शक्तिहरूको विकासलाई रोक्ने प्रयत्न गर्दछ।

त्यो अवस्थामा नयाँ र पुराना शक्तिहरूको बीचमा संघर्षको स्थिति पैदा हुन्छ। अन्तमा नयाँ उत्पादक शक्तिहरूसित मेल नखाने पुरानो समाज व्यवस्थाको पराजय हुन्छ र त्यसका ठाउँमा नयाँ उत्पादक शक्तिहरू अनुसार बनेको नयाँ सामाजिक उपरी ढाँचाको निर्माण हुन्छ।
पूंजीवादी समाजमा उत्पादक शक्तिहरूको सामाजिक स्वरूप र उत्पादनका साधनहरू माथिको व्यक्तिगत स्वामित्वको बीचको अन्तरविरोध नै आधारभूत अन्तरविरोध हो।यो अन्तरविरोधको समाधान पूंजीवादी व्यवस्थाभित्र हुन सक्दैन र समाजवादी क्रान्तिद्वारा नै त्यो अन्तरविरोधको समाधान हुन्छ। तर पुरानो प्रकारको उत्पादन सम्बन्धमाथि टिकेको पुरानो प्रकारको सामाजिक संरचनालाई समाप्त पारेर नयाँ माजव्यवस्थाको निर्माण गर्ने काम शान्तिपूर्ण किसिमले हुन सक्दैन।

कतिपय अवथामा ती दुवै पक्षका बीचको संघर्ष सामान्य वा शान्तिपूर्ण तरिकाले पनि हुन्छ। त्यसरी मात्रात्मक परिवर्तन मात्र हुन्छ। तर त्यो मात्रात्मक परिवर्तन कुनै खास विन्दुमा पुगेपछि क्रान्तिकारी विस्फोटमा बदलिन्छ र विद्यमान व्यवस्थामा गुणात्मक परिवर्तन हुन्छ। त्यसपछि नयाँ उत्पादक शक्तिहरूको स्वरूपअनुसार नयाँ सामाजिक व्यवस्थाको निर्माण हुन्छ।
सामाजिक जीवनमा समाजको इतिहासमा प्रयोग गरिएको मार्क्सवादी भौतिकवाद यही हो, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका मुख्य स्वरूपहरू यिनै हुन्।

0 comments: on "स्टालिनका शब्दमा ऐतिहासिक भौतिकवाद"