केवलचन्द्र लामाजीवनको उकालोमा
जीवन ठेल्छ ऊ
गीतले।
बोलसित मन खोलेर नबोले पनि हरहम्मेसी
शब्दहरू गुटुटु आइहाल्छन् उसको जिब्रोमा
उसले धुन छुनेबित्तिकै।
जीवनको कुरूपता
आँखाकै सामुम्मे छ्याङ्गै हुँदा धरि
ऊ भुल्दैन
गीतको अग्लो सौन्दर्य।
गीतैले बनाउँछ ऊ जीवनको नक्सा।
सपनाको पाखातिर आक्कालझुक्कुल भेटहुने
जीवनको इन्द्रेणी नक्सा।
उसको मनभित्र कतै
एउटा गीत बास्नुखोजिरहन्छ
उसको बाबुको मनभित्रजस्तै
त्यही गीत
जुन उसको बाजेको मनभित्र बास्नु खोज्थ्यो।
त्यो गीत उसलाई छोरीको रिबिनजस्तो लाग्छ।
त्यो गीतले भनेको - ‘ए नि लै लै!’
उसलाई सुट्ठिसारै मनपर्छ।
सारङ्गीको हुरुक्कै हुने खोकी
उसलाई आफ्नै घरजस्तो लाग्छ,
रङ्ग पचेराको फेरफारे नपाई
वानप्रस्थ हुनआँटेको घरजस्तै।
सारङ्गीको खुइय्य उसलाई
आमाको अनुहारजस्तो लाग्छ,
शिरबाट चिप्लिझरेर भूइँभरि
धूलामैलाले टेकिएको अनुहारजस्तै।
सारङ्गीको रगताम्मे सुस्केरा उसलाई
आफ्नै गाउँको हावाजस्तो लाग्छ,
आन्द्रा चुट्टिनआँटेको हावाजस्तै।
भूत पिशाचसँग मन नतर्सेको दिन
निकै भॉंति पुर्याएर गाउँछ ऊ
प्रार्थनाजस्तो पाराले
गीतका गेड़ा गेड़ा फड़कालेर
र गीतको रङ्गले घरको भित्ता टाल्छ सपनामा
र गीतको फूलले आमाको मुस्कान बनाउँछ सपनामा
र गीतको रसिलो हात समात्नुलाएर
छोरीलाई भव्य स्कूल पठाउँछ सपनामा
र ठूलो सॉंझछेक
खाली पन्नाजस्तो सपना भुल्न
त्यही गीत डोर्याउँदै फर्कन्छ
र मर्केको कुहिनामा अड़ेसिएर पर्खिरहने
आफ्नो दुब्लो घरलाई
गीतकै आँखाले हेरिरहन्छ।
त्यतिखेर, हो त्यतिखेर
आफूलाई खोलखाल पारेर गीतले उसलाई खोतल्छ।
त्यतिखेर हतार हतार बन्द गर्छ ऊ गीतको ढकनी
र दिनैपिच्छे मर्छ ऊ
किल्किलेमै अड्केर गीतको आधी जून।
एकफेरा फेरि गीतबाटै शुरू गर्छ ऊ
भोलिपल्टको दिन।
उसको बारीमा मर्दैन
गीतको बिजन,
गीतको बियॉं।
गीतकै रङ्गीन कागजमा बेह्रिएर आउँछ
हावाको कोशेली र बिहान...
...कहिले गाउँछ होला नि उसले
डल्लै गीत?
0 comments: on "गाइने"
Post a Comment