मुख्य समाचार :


कोपिलायो ब्राइनको सपना

मनोज वोगटी
कालेबुङ,१५ मई।

अब कालेबुङका सङ्गीतकार गायक ब्राइन मोक्तानले देखेको सपना तिनको विद्यार्थी किरण छेत्रीबाट पुरा हुने भएको छ। किरणले मोक्तानलाई नै समर्पण गर्दै आज एक स्टुडियोको उद्घाटन गरेका छन, जसले ब्राइनको सपना कोपिलाएको स्पष्ट पारेको छ।
ब्राइन मोक्तानलाई समर्पण गरेर एउटा स्टुडियो नै खोल्नु जस्तो ठूलो काम अरू के हुन सक्छ? आफ्नो दाजुको नाममा जिल्लाभरिमा नै महङ्गो लागतमा निर्माण गरिएको स्टुडियोको उद्घाटन कार्यक्रममा प्रशान्त वाइबा भनिरहेका थिए। तिनी प्रफुल्लित मुद्रामा भनिरहेका थिए, किरण छेत्रीको यो समर्पण नै वास्तवमा ऐतिहासिक पदक्षेप हो।

अनलाईन नै अमेरिकाबाट सङ्गीतको सक्दो ज्ञान बटुलेका कालेबुङका चम्किलो सङ्गीत संयोजक किरण छेत्रीले भर्खरै दिवङ्गत चर्चित सङ्गीतकार ब्राइन मोक्तानलाई समर्पण गर्दै १६ लाख रूपियॉं खर्च गरेर निर्माण गरेको म्युजिक स्टुडियोको उद्घाटन गर्दा जिल्लाभरिबाट उपस्थिति बनेका प्रशिद्ध गायक-सङ्गीतकारहरू दङ्ग परिरहेका थिए।
किरण छेत्रीको एक त एकजना सङ्गीतकारप्रतिको समर्पणको भावना अनि अर्को तिनले यत्रो लागतमा अन्य स्टुडियोको तुलनामा सम्पूर्ण सुविधा उपलब्ध गर्न सक्ने स्टुडियो खोल्नु सबैको निम्ति ताज्जुबको कुरा रहेको थियो। कालेबुङका प्रशिद्ध सङ्गीतकार योगेन्द्र् घतानीले रिबन काटेपछि कालेबुङमा नयॉं र भरपर्दो स्टुडियो खोलिएको खुशीमा सबैले थप्पडी मारिरहेका थिए।

किरण छेत्रीले भने, आफ्नो स्टुडियोबारे आफै भन्नु राम्रो होइन, तर सङ्गीत जगतमा यो स्टुडियो धेरै मानेमा सुविधाजनक रहनेछ। ब्राइन मोक्तान मेरो निम्ति यस्तो प्रेरणाका स्रोत हुन्‌, जसको देहावसानले मलाई धेरै आघात पुर्‍याएको छ। यो स्टुडियोबाट तिनै सङ्गीतकारका सबै गीतहरूको एउटा एल्बम प्रथममा निकाल्ने छु, जो १३ अगस्तको दिन रिलिज हुनेछ। यसको निम्ति काम शुरू भइसकेको छ।

कार्यक्रमलाई सञ्चालन गरिरहेका चर्चित गीतकार विपिन स्याङ्‌देनले भनिरहेका थिए, ब्राइन मोक्तान आफ्ना चर्चित गीतहरूको एल्बम निकाल्नमा जुटेका थिए, तीनको यो सपनालाई किरण छेत्रीले पुरा गर्ने भएका छन्‌। तिनले गायक अमर योञ्जनलाई अपील नै गर्दै ब्राइन मोक्तानको गीत गाउन लगाए। अमर योञ्जन भनिरहेका थिए, ब्राइन मोक्तानका गीतहरू म नै गाइरहेको थिएँ। यसको निम्ति कॉंचो रेकर्डिङको काम पनि भइरहेको थियो। तर उनी आफ्नो सपना पूर्ण गर्न नपाइ गए। अब यही स्टुडियोबाट तिनको सपना पुरा हुने छ अनि तिनका गीतहरू म नै गाउने छु।

निक्कै विह्वल जस्तै देखिएका तिनले गिटार हातमा लिएर गाईरहेका थिए, सपनीहरूमा धेरै देखे पनि विपनीमा टाड़ै रह्यौ, चहानाहरूमा धेरै भए पनि सम्झना केवल छाडिदियौं। तिनले शहीदहरूको निम्ति ब्राइन मोक्तानले तयार पारेको गीत आज ब्राइनकै सम्झनामा गाउन ुपरिरहेको पीड़ा पनि सुनाइरहेका थिए। उद्घाटन कार्यक्रममा दार्जीलिङ, खर्साङ अनि कालेबुङका दिग्गज सङ्गीतकर्मीहरू ब्राइन मोक्तानकै कुरा गर्दै ब्राइन बिते पनि तिनले जिल्लाभरिका सङ्गीतकर्मीहरूलाई एक पारेको बताइरहेका थिए। कालेबुङका सङ्गीतकार मधुसुदन लामाले भनिरहेका थिए, यो क्षउ ऐतिहासिक बनेको छ। किन भने यसअघि कहिल्यै यसरी जिल्लाभरिका सङ्गीतकर्मीहहरू भेला हुन सकेका थिएनन्‌। यो ऐतिहासिकतासित ब्राइन मोक्तानको सम्झना गॉंसिएको छ।

खरसाङका चर्चित सङ्गीतकार महेश्वर लामाले त्यसैमा थपिरहेका थिए, अब यो जमघट र उच्च कार्यसम्पादनको क्रम जारी रहोस्‌। थुपदेन भोटिया, सञ्जय प्रसाद, लमु भोटिया मात्र होइन दार्जीलिङका चर्चित सङ्गीतकार जीवन प्रकाश प्रधान अनि गीतकार पुरण गिरीले पनि उनीहरूको कुरामा हॉं-मा होस्टे थपिरहेका थिए।

0 comments: on "कोपिलायो ब्राइनको सपना"