मनोज वोगटी
कालेबुङ, 27 मई।
वामदुर्ग ध्वस्त गरेर आफ्नो सरकारको झण्डा गाड्ने वित्तिकै मुख्यमन्त्री ममता व्यानर्जीले जेलबन्दिहरूलाई शुभ खबर दिइन्। तिनी अनुसार राजनैतिक कारणले जेलबन्दिहरूको निम्ति बन्दिमुक्ति कमिटी बनाइनुपर्छ।

यता पहाड़को क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले ममता व्यानर्जीले 83 जना राजनैतिक बन्दिहरुको मुक्तिको पहल गर्दा छत्रे सुब्बाहरू छोड़िनु नहुने बताएको छ। आज कालेबुङको डम्बरचोकमा पोष्टरिङ गर्दै क्रामाकपाले भनेको छ, वामफ्रण्ट सरकार गोर्खाहरूको निम्ति कहिल्यै हीतचिन्तक हुन सकेन। वामफ्रण्ट सरकारको यस्तै तानाशाहीलाई अन्त गर्दै सरकारमा आएकी ममता व्यानर्जीले निश्चय नै गोर्खाहरूको हीत हेर्नेछिन्। तिनले 83 जना बन्दिहरूसित नै छत्रे सुब्बाहरूलाई पनि बन्दिबाट मुक्त गरेर तिनी सबैको सरकार हो भन्ने परिचय दिनेछिन्। क्रामाकपाका मोहन पौड्यालले भने, छत्र सुब्बाहरूलाई राजनैतिक बन्दिको मर्यादा दिइनुपर्छ। त्यसपछि उनीहरुलाई पनि ममताले अन्यसित नै मुक्त गर्नुपर्छ। आज पोष्टरिङद्वारा क्रामाकपाले छत्रे सुब्बाहरूलाई न्याय हुनुपर्ने माग राखेको छ। क्रामाकपाको युवा इकाई गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले शीघ्र नै यस मागलाई अघि राखेर मुख्यमन्त्रीलाई पत्रचार गर्ने पनि भएको छ। पौड्यालले भने, छत्रे सुब्बा व्यक्तिगत कारणले जेलबन्दि भएका होइनन्। तिनले धोकेबाज सुबास घिसिङलाई दागोपाप त्यागेर केवल गोर्खाल्याण्डको आन्दोलन गरिनुपर्ने सम्बन्धमा दबाव दिएका थिए। राजनैतिक जालझेलको कारण तिनलाई गोर्खाल्याण्ड विरोधी वामफ्रण्ट सरकारले जेलमा षड़ाएर राखेको हो।
क्रामाकपाले तिनको उन्मुक्तिको निम्ति धेरै पहल गरेको भए पनि वामफ्रण्ट सरकारले कानमा तेल हालेकोले केही हुन नसकेको बताउँदै ममता सरकारमा वामफ्रण्ट सरकारको झैं क्रुरता नरहेको विश्वास रहेको जनाए। तिनले भने, विना दोष , विना सुनवाई दसवर्षदेखि जेलयापन गरिरहेका छत्र सुब्बाहरूको न्यायको निम्ति ममताको पहल हुनुपर्छ। यसबारे क्रामाकपाले छुट्टै कार्यक्रमलाई अघि बढ़ाउने छ।
तिनले गोर्खा जनमुक्तिका तीन विधायकहरू पनि गोर्खाल्याण्डकै निम्ति विधानसभामा गएको हो भने ममताले बन्दिहरूको निम्ति पहल गरिरहेको समयमा गोर्खाल्याण्डकै कारण बन्दि बनेका छत्र सुब्बाहरूको मुक्तिको निम्ति शीघ्र्र नै पहल गर्नुपर्ने पनि जनाए। तिनले भने, क्रामाकपाको अपील नै छ उनीहरूलाई कि, ठीक समयमा ठीक कुरा राखेर छत्र सुब्बाहरूको मुक्तिको निम्ति विधायकहरूको पहल होस्।
0 comments: on "83 जना बन्दीहरूसित नै छत्रेहरूको पनि उन्मुक्ति हुनुपर्छ-क्रामाकपा"
Post a Comment