मुख्य समाचार :


26 मईमा पहाड़का विधायकहरूले जातीय वेशभूषासहित मातृभाषामा शपथ लिने

प्रज्ज्वल वोगटी
कालेबुङ, 23 मई। आगामी 26 मईको दिन पहाड़का तीनैजना विधायकहरूले राजभवनमा जातीय वेशभूषासहित शपथ ग्रहण गर्ने भएका छन्‌। तृणमूल कांग्रेसको नवगठित मन्त्रीमण्डलको शपथ ग्रहण कार्यक्रममा भाग लिन कलकत्ता गएका पहाड़का तीन विधायकहरूको 23 मईमा शपथ लिने अघिबाटै तय भएको भएपनि त्यससमय कतिपय आधिकारीक कागजहरूको कमिले गर्दा शपथ लिने कार्य 26 मईमा हुने मोर्चा प्रवक्ता डा. छेत्रीले बताये
तृणमूल कांग्रेस नेतृ ममता ब्यानर्जीले वामफ्रण्ट सरकार सत्तामा हुँदा अनि अहिले आफै सरकारमा आएर पनि पहाड़को समस्या तीन महीना भित्रमा नै समाधान गरिदिने भनिरहेकी छन्‌। तिनको भनाइको सोझो अर्थ पहाड़मा विकास नै रहेको भएपनि पहाड़को जनआकंक्षा भने छुट्टै राज्य रहेको छ। यस सम्बन्धमा यता मोर्चा प्रवक्ता डा. छेत्रीले भने, विकास भनेको स्वतःस्फूर्त हुने विषय हो। पहाड़मा विकास गर्नु सरकारको बाध्यता अनि जिम्मेवारी हो।
तर, ममताले चाहेको खण्डमा चॉंड़ै पहाड़ समस्याको स्थायी समाधान गर्नसक्छिन्‌। तीन महीना किन? नागाल्याण्ड राज्य बनिँदा 15 मिनट पनि लगाएनन्‌ नेहरूले। खाजाको समयमा छुरीले भारतको मानचित्रमा दाग लगाएर नागाल्यण्ड भारतको 16 औं राज्य बन्नेछ भन्ने घोषणा गरे, अनि बनियो पनि। यसको निम्ति राजनैतिक इच्छा हुनपर्छ। जो विगतको वामफ्रण्ट सरकारसँग थिएन। आशा छ यो तृणमूलसँग छ। यदि तृणमूलसँग यो राजनैतिक इच्छा भए तीन महीना भित्रमा पहाड़को आकंक्षा पूर्ण हुनसक्ने बताए। यो समय आफूहरूले नदिएको बताउँदै यो ममताले नै दिएको समय बताए।
गोजमुमोलाई भन्दा धेर पहाड़ समस्या समाधानको हतार ममतालाई रहेको बताउँदै तिनले भने, वामफ्रण्टकै समयदेखि तिनले पहाड़को समस्याको समाधान तीन महीनाभित्रमा गर्छु भन्दै आएकी हुन्‌। अहिले यो वक्तव्य तिनको इज्जतको सवाल पनि हो यसर्थ तिनले चाहे पहाड़को स्थायी समाधान चाड़ै पनि हुनसक्छ।

मोर्चाको भावी रणनीतिबारे प्रश्न गर्दा तिनले नयॉं सरकार पूर्णरूपले गठन भएपछि नै सरकारको गोर्खाहरूप्रतिको नीति हेरेर आन्दोलन गर्ने बताए। तर अबको आन्दोलन केवल दस्तावेजहरूको आन्दोलन हुने पनि तिनले बताएका छन्‌।

0 comments: on "26 मईमा पहाड़का विधायकहरूले जातीय वेशभूषासहित मातृभाषामा शपथ लिने"