मुख्य समाचार :


मिरिकमा सुवास घिसिङको चहल पहल शुरु

दिवस राई
सिलगढी, 7 फरवरी।
26 फरवरीमा मिरिकबाटै फेरि बौरी उठने तरखरमा लागेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को जनसभा अघि आज गोरामुमो प्रमुख सुवास घिसिङ जलपाइगढीबाट सोझै यहॉंको पानीट्याङ्‌की छेउ गलगलिया पुगे।
गोरामुमो प्रमुख आज तराईको पानीट्याङ्‌कीको बतासिया पुगेको पहिला अपुष्ट समाचार पाइयो। यस सम्बन्धी गोरामुमो मिरिक शाखा प्रमुख अर्जुन राईसॅंग सम्पर्क गर्दा घिसिङ के कारणले त्यहॉं गएका हुन्‌ भन्नेबारे भने आफूलाई थाहा नभएको बताए। तथापि, घिसिङ गलगलिया पुगेको भने उनले पुष्टि गरे।

26 फरवरीको जनसभामा भने पार्टी प्रमुख सुवास घिसिङ मिरिकमा उपस्थित हुने पनि उनले जनाए। 26 फरवरीको मिरिकमा आयोजन हुने गोरामुमोको जनसभामा पार्टी प्रमुख घिसिङको उपस्थिति निश्चित रहेको छ भने यसअघि उनले आज गलगलिया पुगेर पहाड प्रवेशको सम्भावनालाई अझ तीव्र पारिदिए। मिरिकको जनसभा अघि घिसिङको यस आकस्मिक भ्रमणले विभिन्न राजनैतिक अड्‌कलबाजी शुरु भएको छ। विज्ञजनअनुसार, छत्र सुब्बाको पहाड-तराई-डुवर्स भ्रमणपछि घिसिङले पनि तराई क्षेत्रबाटै आफ्नो भ्रमण शुरु गर्ने सङ्‌केत दिएका छन्‌। 26 जनवरी अघि नै घिसिङको राजनैतिक चहल-पहल शुरु भएको राजनैतिक पर्यवेक्षकहरू बताउँछन्‌। विधानसभामा गोरामुमोको हारपछि जलपाइगढी झरेका घिसिङ त्यसपछि कुनै पनि परिस्थितिमा पहाड चढेका छैनन्‌। तर आज अचानक तराई क्षेत्रको नेपाली रहेको क्षेत्र गलगलिया पुगेर पहाडको राजनीतिमा आफू सक्रिय हुने सङ्‌केत दिएका छन्‌।

राजनैतिक पर्यवेक्षकहरूअनुसार, पहाडमा गोजमुमोको प्रभुत्व रहेको समयमा पनि गोरामुमोले मिरिकबाट बौरी उठने प्रयास गरेको थियो भने यसपल्ट पनि 26 फरवरीको दिन मिरिकमा नै गोरामुमोले जनसभा गर्ने भएको छ। उक्त जनसभामा गोरामुमो प्रमुख सुवास घिसिङ उपस्थित हुने भएका छन्‌। 26 फरवरीको गोरामुमोको जनसभा अघि घिसिङको यो भ्रमणले राजनैतिक केही कारण बोकेको हुनसक्ने बताइन्छ। अर्कोतिर, प्राय: 11 वर्ष बन्दी जीवन बिताएर हालै दोषमुक्त भएर घर फर्किआएका गोर्खा लिबरेशन अर्गनाइजेशनका प्रमुख छत्र सुब्बाले पनि हालै पहाडको राजनीतिमा सक्रिय रूपले फर्किआउने सङ्‌केत दिँदै गोर्खाल्याण्डको आन्दोलन पुन: चर्काउने सङ्‌केत दिइसकेका छन्‌। सुब्बाले हालै पहाड-तराई अनि डुवर्स भ्रमण गरी जनभावना बुझ्ने काम गरिसकेका छन्‌।

जनताकै कार्यक्रमअनुसार पृथक राज्य गोर्खाल्याण्डको आन्दोलन पुन: चर्काउने सुब्बाले बताइसकेका छन्‌। यस्तो क्रममा गोरामुमोले पनि मिरिकमा 26 फरवरीको दिन जनसभा गरी पहाडमा आफ्नो प्रभुत्व पुन: फर्काइल्याउन आफ्नो पुरानै छैटौं अनुसूचीको मार्ग नै अपनाएको छ। यस्तो अवस्थामा आज गोरामुमो प्रमुखको गलगलिया भ्रमणले पहाडको राजनीतिमा नौलो मोड ल्याउने सङ्‌केत देखिएको छ। 2007-मा गोजमुमो स्थापनासॅंगै पृथक राज्य गोर्खाल्याण्डको आवाज उच्च गरिएपछि छैटौं अनुसूची बोकेका घिसिङ त्यस समय कतिपय कारणवश पहाड छोडेर जलपाइगढीमा बसाईं सरेका थिए। त्यस समयदेखि नै तिनी जलपाइगढीमा बस्दै आइरहेका छन्‌ भने हालै विधानसभा चुनाउमा उनी पुन: पहाड चढेर जनाधार हत्याउने प्रयास गरे।

तथापि, विधानसभामा गोरामुमोले हारपछि उनी रातारात पहाडबाट फेरि तराई झरेका थिए। विज्ञजनअनुसार, जनताको सपना पृथक राज्यकै हो अनि सबै पार्टीहरूले पनि गोर्खा जातिको अस्तित्व अनि चिन्हारीकै प्रश्न रहेको बताइरहेकै छ। हाल पहाडको शक्तिशाली पार्टी गोजमुमोले पृथक राज्यको मागलाई एकातिर राखेर पहिला गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) गठन चॉंडो हुनपर्ने मागमा लागिपरेको छ भने जीएलओ प्रमुख छत्र सुब्बा फेरि पुरानै रङ्‌गमा पृथक राज्य गोर्खाल्याण्डको माग लिएर पुन: पहाडको राजनीतिमा सक्रिय हुने छॉंट देखिँदैछ। यस्तोमा घिसिङको छैटौं अनुसूचीको पुरानै हतियारले कस्तो काम गर्नेछ, त्यो समयले नै बताउने राजनैतिक पर्यवेक्षकहरू बताउँछन्‌।

26-देखि गोरामुमोले राजनैतिक विगुल फुक्ने

दीपमिलन प्रधान
मिरिक,7 फरवरी।

दार्जीलिङ पहाडको सुनिश्चित भविष्य निर्माणको दाबी गर्दै गोरामुमोले 26 फरवरीको दिन मिरिकबाट राजनैतिक विगुल फुक्ने भएको छ। जीटीएभन्दा राम्रो छैटौं अनुसूची रहेको र यसले गोर्खा जातिको राष्ट्रिय पहिचान र अस्मिताको समस्यालाई पार लगाउने दाबी गोरामुमोले गर्दै आएपछि मिरिकमा 26 फरवरीको दिन विराट जनसभाको आयोजना गर्ने निश्चित भएको छ। गोरामुमोले मिरिकलाई जनसाभाको निम्ति अनुकूल स्थान समेत बताएको छ। यहॉंबाट 80-को दशकमा सुवास घिसिङले गोरामुमो गठन गरी गोर्खाल्याण्डको आन्दोलन गरेका थिए।

आज मिरिकमा गोरामुमो संयोजक अर्जुन राईले 26 फरवरीको दिन पार्टी प्रमुख सुवास घिसिङ स्वंय उपस्थित हुने र जनसभााबाट दार्जीलिङ पहाडको सुनिश्चित भविष्य निर्माण बारे गहन वक्तव्य दिने जानकारी दिए। मिरिकको मञ्जुचियाबारीअन्तर्गत लाप्चेखोप गाउँ पैतृक गाउँमा जन्मिएका सुवास घिसिङको तन जलपाइगढीमा भए पनि मन दार्जीलिङ पहाडतर्फै नै रहेको बताउँदै राईले सुवास घिसिङले छैटौं अनुसुचीको वकालत गरेर राम्रो काम गरेको दावी गरे।

मिरिकमा 2007 देखि यता गोरामुमो पूर्ण वर्सच्व रहे तापनि पछि मोर्चाले जीटीएमा सम्झौता गरेकै कारण गोरामुमोले मोर्चाको 40 महिना लामो आन्दोलनबाट कुनै फलदायक परिणाम प्राप्त नगरेको दाबी गरेको छ। राईले जीटीए र छैटौं अनुसुचीमाझ आकास पातलको फरक रहेको बारे वर्तमानमा प्रत्येक भिलेज कमिटीले जनतालाई वास्ताविकता बुझाउन सक्रिय भूमिका खेल्दै आईरहेको बताए। यसघरि पहाड तराईका प्रत्येक भिलेज कमिटीले 26 फरवरीको विराट जनसभालाई सफल तुल्याउन पार्टीगत सक्रियता तीव्र गरेको राईले अघि बताए।

0 comments: on "मिरिकमा सुवास घिसिङको चहल पहल शुरु"