मुख्य समाचार :


सीआरपीले कालेबुङमा माओवादी पक्रिएको अफवाह

मनोज वोगटी
कालेबुङ, 15 फरवरी।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले घोषणा गरेको ठीक 9 दिनपछि आज कालेबुङमा सीआरपीले गुड्डु नामक व्यक्ति (माओवादी)पक्रिएर लगेको हल्ला दिनभरि नै चल्यो।

यसबारे सोधखोज गर्दा केवल अफवाह मात्र रहेको थाहा लागेको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले 5 फरवरीमा दार्जीलिङबाट अनि 6 फरवरीको दिन कालेबुङबाट कालेबुङमा 15 देखि 20 जनासम्म माओवादी पसेको बताएका थिए। यसबारे समय दैनिकले जिल्ला पुलिस अधिक्षकसित सोधखोज गर्दा यस्तो कुनै पनि खबर नरहेको जनाएका थिए। एसपी अनुसार माओवादी पहाडमा पसेको खबर र सुइँको कतैबाट पनि आएको छैन।
यता विमल गुरूङले गोर्खाल्याण्ड टास्क फोर्सले माओवादी ल्याएर अन्डरग्राउण्ड ट्रेनिङ गरिरहेको सोझो आरोप लगाएको भए पनि तिनले सिब्सुबाट दुइदिनमा नै गोर्खाल्याण्ड टास्क फोर्सलाई लगाएको आरोप फिर्ता गर्दै त्यही आरोप छत्र सुब्बामा खन्याएका छन्‌।

यसको जवाबमा छत्र सुब्बाले माओवादी राखेको कुरा विमल गुरूङले होइन सरकारले बताउनुपर्ने बताउँदै गुरूङको आरोप आधारहीन रहेको बताएका थिए। तरै पनि विमल गुरूङले घोषणा गरेपछि कालेबुङमा माओवादीको कुरालाई लिएर सबै गम्भीर रहेका छन्‌। आज दिनभरि नै गुड्डु नामक व्यक्ति अनि अझ एक जना व्यक्तिलाई माओवादीको आरोपमा सीआरपीले पक्रिएको अफवाह फैलिएको थियो। यता विमल गुरूङले कालेबुङमा माओवादी पसेको कुरा गर्नु अनि आज माओवादी पक्रिएको हल्ला फैलिनु निक्कै गम्भीर कुरा रहेको छ। केही दिन अघि सीआरपी टोली कालेबुङ आएको थियो। सूत्रले बताए अनुसार सीआरपी माओवादी पक्रिन आएको होइन।

आन्दोलनकालमा जफ्त गरिएका लाइसेन्सहीन बन्दुकहरू लिन आएको सूत्रले बताएको छ। ठीक सीआरपी पनि आएको, विमल गुरूङले पनि माओवादी पसेको भनेको अनि सीआरपीले आज माओवादी पनि पक्रिएको अफवाह फैलिनु पनि कुनै राजनैतिक चाल नै रहेको हुनसक्ने क्रामाकपाको युवा सङ्गठन गक्रायुमोका महासचिव अरुण घतानीले बताएका छन्‌। तिनले भने, विमल गुरूङले उट्‌पट्याङ कुरा गरेर जनतालाई दिग्भ्र्रमित गर्ने कार्य गरिरहेको समयमा कालेबुङबाट माओवादी पक्रिएर लगेको अफवाह फैलिनु मात्र पनि निक्कै गम्भीर विषय हो।

अफवाह फैलाउनु अनि सॉंच्चै नै पक्रिएरै लगेको हो भने पनि यो विमल गुरूङको वयानलाई नै प्रमाणित गर्ने राजनैतिक षडयन्त्र मात्र हो। तिनी अनुसार सरकारले विमल गुरूङको बचाउको निम्ति माओवादी पक्रिएर सॉंच्ची नै माओवादी पसेको देखाउने कुचाल चलेको हुनसक्ने पनि तिनले बताएका छन्‌। अर्कोतिर पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले पनि जुन राजनैतिक दलले आर्मीको पोशाक लगाउने जीएलपी पालेका छन्‌ तिनले माओवादीको कुरा गर्नु अचम्म मान्नु पर्ने कुरा नरहेको बताए।

तिनले भने, विमल गुरूङले पालिरहेको जीएलपीमाथि सरकारको नजर कडारुपमा छ के त? नत्र कसैलाई थाहा नभएको कुरा विमल गुरूङले थाहा पाउनुले सरकारको खुफिया विभाग, पुलिसलाई नै निचा देखाउने कार्य भएको छ। कतै माओवादी पसेका छन्‌ भने पहिले विमल गुरूङलाई नै पक्रिनुपर्छ। तिनले कसरी थाहा पाए? सोध्नुपर्छ। तिनलाई यो पनि सोध्नुपर्छ कि जीएलपीलाई कुन पैसाले पालेर राखिएको छ। जीएलपीलाई कसले प्रशिक्षण दिइरहेको छ। समाजिक कार्य गर्ने जीएलपीले किन मिलिटेरीको पोशाक लगाइरहेको छ? कतिवटा क्याम्प छ? जीएलपीलाई दिने करोडौं रुपियॉं कताबाट आउँदैछ? विमल गुरूङले नै माओवादी पहाड छिराउन सक्छ। यस कारण कालेबुङमा माओवादी पक्रिएको अफवाह पनि विमल गुरूङ कै चाल हुनसक्छ। सरकारले विमलको कुरालाई प्रमाणित गरेर अशान्ति उपार्जन गर्न खोजेको हुनसक्छ।

0 comments: on "सीआरपीले कालेबुङमा माओवादी पक्रिएको अफवाह"