मुख्य समाचार :


13 फरवरीदेखि फेरि तात्तिने भयो पहाड

दार्जीलिङ,5 फरवरी।

अब फेरि आगामी 13 फरवरीदेखि शुरु हुने भयो दार्जीलिङमा जुलूस र नाराबाजीको राजनीति।

विशेष गोर्खा जनमुक्ति मोर्चाले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिस्ट्रेशन) गठनको लागि सरकारमाथि चाप दिन अब प्रत्येक आइतबार यहॉं नारा-जुलूस गर्ने तय गरिसकेको छ।

यसको लागि सर्वप्रथम मैदानमा यहॉं गोर्खा जनमुक्ति युवा मोर्चा र नारी मोर्चा ओर्लिने भएका छन्‌। गोजमुमो सहसचिव ज्योतिकुमार राईले बताएअनुसार, आगामी 13 फरवरीदेखि 27 मार्चसम्म अब प्रत्येक आइतबार नारी र युवा मोर्चाले दार्जीलिङ पहाडमा नारा-जुलूसको आयोजना गर्नेछन्‌। किनभने, जीटीएको एमओए (मेमोरेण्डम अव्‌ एग्रीमेण्ट)-मा हस्ताक्षर भएको 6 महिना पूरा भइसक्दा पनि अझसम्म जीटीएको औपचारिक गठन हुनसकेको छैन।

यसैले आगामी 27 मार्चसम्म पनि जीटीएको गठन नभए गोर्खा जनमुक्ति मोर्चा अलग राज्य गोर्खाल्याण्डको आन्दोलननै पुन: चर्काउन बाध्य हुनेछ। गत 17 जनवरी जामुनेमा कृषि मेलाको समापन कार्यक्रमको अवसरमा गोजमुमो अध्यक्ष विमल गुरुङले 27 मार्चभित्र पनि जीटीएको गठन नभए पुन: गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने चेतावनी दिएका थिए। यसका साथै आगामी 17 अप्रेलको दिन पार्टीले सुकुनामा एक जनसभाको आयोजना गरी गोर्खाल्याण्ड आन्दोलनको भावी रणनीति घोषणा गर्ने पनि तय गरिसकेको छ। तर यस अघिदेखिनै सरकारमाथि चाप दिने उद्देश्यले पार्टीले आगामी 13 फरवरीदेखिनै युवा अनि नारी मोर्चा समर्थकहरूलाई मैदानमा उतार्ने पनि निर्णय गरिसकेको छ।

यसबारे आगामी 5 फरवरीको दिन यहॉंको जिमखाना भवनमा पार्टीद्वारा सम्पूर्ण भातृ सङ्‌गठनहरूसित आयोजना गरिने सभामा अझै विस्तृतरूपमा चर्चा-परिचर्चा गरिने पनि तय गरिएको छ। पार्टीले अघिनै भनिसकेको छ-तराई-डुवर्सको गोर्खाबहुल क्षेत्रलाई अन्तर्भुक्त नगरी जीटीएको चुनाउ हुनेछैन। तब के गोजमुमो अध्यक्ष विमल गुरुङले दिएको 27 मार्चसम्मको मियादभित्र भर्खरै मियाद बढेको हाई पावर कमिटीले तराई-डुवर्सको गोर्खाबहुल क्षेत्रलाई जीटीएमा अन्तर्भुक्त गराउने कार्य समाप्त गर्नसक्छ। यो प्रश्न अहिले सबैभन्दा गतिलोप्रकारले गोर्खा जनमुक्ति मोर्चा, राज्य सरकार अनि हाई पावर कमिटीअघि देखा परेको छ।

आफ्नो गठनकालदेखिनै मोठ 6 महिनासम्म अति सुस्त गतिले अघि बढ्‌ने हाई पावर कमिटीले यो बढाइएको 6 महिनाभित्र तराई-डुवर्सको गोर्खाबहुल क्षेत्रलाई जीटीएको सिमानाभित्र अन्तर्भुक्त गराउने कार्यलाई साकार रूप दिनसक्छ? यसमाथि स्वयं गोजमुमोका नेतावर्गलाई विश्वास लाग्न सकेको छैन भने हाई पावर कमिटीको कार्यप्रणालीबाट दार्जीलिङ पहाडका जनतामा पनि बिस्तारै निराशा छाइरहेको छ। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिस्ट्रेशन)-को गठन जति ढिलो हुँदै गइरहेको छ, उति गोर्खा जनमुक्ति मोर्चामाथि चाप बढ्‌दै जॉंदैछ। यसरीनै जति गोजमुमोमाथि बढेको चाप सरकारको टाउको दुखाइमा परिणत हुने छनकले बिस्तारै प्रबलता पाइरहेको छ।

विशेष हाई पावर कमिटीको सुस्त गतिको कारणनै पहाडको राजनैतिक अवस्था पुन: एकपल्ट तात्तिने सम्भावना बढेर गएको छ। गोर्खा जनमुक्ति मोर्चाले गत दिसम्बर महिनामा मात्रै जीटीएको गठनमा बिलम्ब भइरहेको विषयमाथि रूष्ट बन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्नसक्ने छनक दिएको थियो। उक्त समय गोजमुमो अध्यक्ष विमल गुरुङले यस्तै इशारा दिंदै भनेका थिए-जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिस्ट्रेशन)-को गठनमा एकदमै ढिलो भइरहेको छ, दार्जीलिङलाई स्वीट्‌जरल्याण्ड बनाउँछु भनेको वचन पनि अझसम्म पूर्ण भएको छैन। यसैले अधिक ढिलो हुँदै जॉंदा काम पनि बिग्रिँदै जानेछ।

0 comments: on "13 फरवरीदेखि फेरि तात्तिने भयो पहाड"