मुख्य समाचार :


कोलकातामा सबैको एकैस्वरः ‘जीटीएले गोर्खाहरूको समस्या समाधान गर्दैन’

 
कोलकाता ,12 जनवरी।
आकाश छोइरहेको महङ्गाई, राज्यमा भूमि अतिक्रमण अनि देशमा बढिरहेको अगणतान्त्रिक क्रियाकलापको विरूद्धमा कोलकातामा सीपीआइएमएल (लिबरेशन) को विराट जुलूस अनि जनसभा सम्पन्न भयो। यसै जनसभमा दार्जीलिङबाट क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको पनि सहभागिता रहेको थियो। क्रामाकपाबाट महासचिव तारामाणि राई अनि कालेबुङ आञ्चलिक समिति सचिव मोहन पोड्यालले  सहभागिता जनाएका थिए। विशाल जनसमुद्रको महाजुलूस धरमतलामा थामिएपछि तीन धण्टासम्म राजमार्ग नै ठप्प गरेर जनसभामा परिणत भएको थियो। सीपीआइएमएल राज्य सचिव पार्थ बसुको अध्यक्षतामा सम्पन्न जनसभामा पोलित व्युरो सदस्य कार्तिक काल, अभिजित मजुमदार, बासुदेव वर्मा, क्रामाकपा महासचिव तारामणि राई आदिले जनसभालाई सम्बोधन गरेका थिए भने सीपीआईएमएल राज्य समिति महसचिव दिपङ्‌कर भट्टचार्य प्रमुख वक्तको रूपमा उपस्थित थिए। अन्य मुद्दाहरूसँगै गोर्खाहरूको प्रसङ्गमा सबैको एउटै स्वर निस्कियो-'जीटीएले सर्वभारतीय गोर्खाहरूको चिन्हारी पूर्ण गर्न सक्तैन, जीटीए देशभरिका गोर्खाहरूको मूल समस्याको समाधान होइन।' ममता व्यानर्जीले जीटीएले गोर्खाहरूको समस्या समाधान भयो भनेर जुन ढोल पिटिरहेकी छन्‌ त्यो असत्य रहेको प्रमुख वक्ता दिपङ्‌कर भट्टचार्यले बताए। तिनले भने, जीटीएले गोर्खाहरूको समस्या समाधान भएको छैन। उनीहरूको चिन्हारी र अस्तित्वको समस्या अझ आलै छ। त्यसैले नै आज क्रामाकपा हामीसँग छ। हामीले एक अर्कामा सहयोगका हात बढाएर कार्य गरिरहेका छौं। हामी गोर्खाहरूको साथमा छौं। यदि कुनै पनि आन्दोलन गर्नपरे हाम्रो सहभागिता रहनेछ। आवश्यक परे यस जससभामा जति भेला भएका छन्‌ त्यसको चौगुणा मानिसहरू हामी भेला गरेको हुन्छौं। यसरी नै अभिजित मजुमदारले पनि गोर्खाहरूको छुट्टै राज्य हुनपर्ने कुरामा जोड दिए।  यसरी नै तारामाणि राईले भने, बङ्गाल सरकारले अहिले जीटीएले गोर्खाहरूको समस्या समाधान भयो भने झुटो प्रचार गरिरहेको छ। घरी चिया अनि पर्यटन उत्सव त घरी कृषि मेला गरेर जनतालाई अहिले भुल्याउने कार्य भइरहेको छ। दार्जीलिङको एउटा शक्ति भएको पार्टीसँग मिलेर सरकारले पैसाको दुरूपयोग गरिरहेको छ, जबकी बन्द चियाकमानमा लाखौं कृषक अनि मजदुरहरू गॉंस र बाससँग जुझिरहेका छन्‌। मेला र उत्सव गर्ने सरकारले किन बगान खोलाउनमा चासो देखाउँदैन, किन आवाज उठाउँदैन? तिनले प्रश्न तेर्साए। जीटीएले गोर्खाहरूको समस्या समाधान नहुने बताउँदै गोर्खाहरूको निम्ति छुट्टै राज्य हुनपर्ने कुरामा नै तिनले अधिक जोड दिए। बङ्गालमा नारी मुख्यमन्त्री आएपछि दिनौं नारीहरूमाथि हुने गरेको अन्याय अत्याचार, उत्पीडन शोषण, बलात्कार, अपहरण अनि नारी तस्करीमाथि पहल गरिने आशा गरेको भएपनि तृणमूल सरकार पनि पुरानै सरकारसरह बनेको सीपीआईएमएल प्रतिनिधिहरूले जनसभालाई सम्बोधन गर्दै भने। यसबाहेक राज्यमा भइरहेको भूमि अतिक्रमण, अगणतान्त्रिक क्रियाकलाप अनि महङ्गाईको पनि प्रतिनिधिहरूले जमेर विरोध गरे। 


0 comments: on "कोलकातामा सबैको एकैस्वरः ‘जीटीएले गोर्खाहरूको समस्या समाधान गर्दैन’"