मुख्य समाचार :


घिसिङ र विमलको मालिक एकै हुन्‌-लिग

कालेबुङ,17 जनवरी।
अहिले चलिरहेको छैटौं अनुसूची र जीटीएबीचको खिचातानीप्रति प्रतिक्रिया गर्दै गोर्खालिग महासचिव प्रताप खातीले सुबास घिसिङ अनि विमल गुरूङ गुरुचेला रहेको अनि एउटै स्कूलका व्याकबेञ्चरहरू रहेको बताएका छन्‌। तिनले भने, दुवैको हेडमास्टर एउटै हुन्‌। अथवा दुवैको मालिक एकै हुन्‌। दुवैले वकालत गरिरहेको छैटौं अनुसूची अनि जीटीए बङ्गालको दासत्व हो। जब कि आन्दोलन बङ्गालको दासत्वको विरोधमा भइरहेको छ तर त्यही आन्दोलनका नाइकेहरू भने बङ्गालको दासत्वकै निम्ति झगडा गरिरहेका छन्‌। तिनले अझ भने, जनताले याद राखोस्‌, सुबास घिसिङ पनि गोर्खाल्याण्डको घोडा  चडेर आएका हुन्‌ अनि विमल गुरूङ पनि आङ बॉंधेर गोर्खाल्याण्डको घोडामा नै चडेर आएका हुन्‌। सुवास घिसिङले महाकालबाबाको कसम खॉंदै गोर्खाल्याण्ड ल्याउने घोषणा गरेका थिए तर ल्याए दागोपाप। विमल गुरूङले पनि 10 मार्च 2010मा गोर्खाल्याण्ड ल्याउने, नल्याए आफै गोली ठोकेर मर्ने बताए पनि तिनी जिउँदै छन्‌। तिनले पनि ल्याए जीटीए।
 अब जनताले उनीहरूको कार्य चरित्रबाट के बुझ्ने त? खाती अनुसार घिसिङ अनि विमल दुवै सरकारका एजेन्ट हुन्‌। दुवै सरकारी तन्त्रद्वारा चल्ने मिसिन भएकोले छुट्टै राज्य पाउन नसकिएको हो। छुट्टै राज्यको निम्ति आन्दोलन निरन्तर हुनुपर्छ। आन्दोलन भने मारकाट, घर जलाउनु, गाडी फुटाउनु होइन। न कि मर्नेगरी भोक हडाताल बस्नु र किड्‌नी विगार्नु हो। आन्दोलन भनेको जीएल नम्बर टास्नु पनि होइन ,न कि भित्तामा गोर्खाल्याण्ड लेख्नु हो। छुट्टै राज्यको निम्ति संसदमा लडाईं गर्नुपर्छ। सांसद कम्ति भए त के भोे, सहमतिमा ल्याउने आन्दोलन गर्नुपर्छ। भाषाले मान्यता प्राप्त गर्दा पनि सांसद त कम्ती नै थिए तर सांसदहरूबीच ल्याइएको सहमतिको आन्दोलनले भाषाले मान्यता प्राप्त गर्‍यो। आन्दोलन दिल्लीमा गर्नुपर्छ अनि आवश्यक परे जनतालाई सहभागिता गराइनुपर्छ। कोही पनि छुट्टै राज्यको विरोधमा छैनन्‌। भूल राजनैतिक क्रियाकलापको हो। कार्यक्रम र नेताहरूको सोंचको हो। खातीले भने, घिसिङ अनि विमल गुरूङ दुवैले छुट्टै राज्य ल्याउन सक्दैनन्‌। दुवै सरकारी मान्छे हुन्‌। छुट्टै राज्य ल्याउनुको निम्ति सरकारमा विद्रोह गर्नुपर्छ। चाप्लुसी होइन। तिनले अझ थपे, घिसिङले मिरिकबाट आन्दोलन गर्न सक्दैनन्‌। घिसिङ बेसी बोल्यो कि दागोपाप भ्र्रष्टचारको कारण खोरमा पस्छन्‌। विमल गुरूङ पनि बेसी बोल्यो कि मदन तामङ काण्डमा खोरमा पस्छन्‌। छुट्टै राज्यको आन्दोलन दुवैले यसै कारण गर्न सक्दैनन्‌। तिनले छैटौं अनुसूची अनि जीटीएप्रति प्रतिक्रिया गर्दै भने, दुवै बङ्गाल अधिनस्त व्यवस्था हो।
 जनताको आकांक्षा भने बङ्गालबाटको मुक्ति हो। खिचडीमा जति नै घिउ हाले पनि त्यो खिर बन्न सक्दैन। खातीले बताए अनुसार घिसिङ अनि विमल गुरूङको मिलिभगतमा नै छुट्टै राज्यको मुद्दालाई दबाउने कार्य भइरहेको छ। गोजमुमो र गोरामुमो एकै सिक्काको दुइपाटो हो, विस्तारै जनताले बुझ्दै जानेछन्‌। तिनले भने, दुवै नै गोर्खाल्याण्डको घोडामा चडेर आएका राजनैतिक ठगारहरू हुन्‌। लीगले छैटौं अनुसूची र जीटीए दुवैको विरोध गर्छ। मदन तामङले छैटौं अनुसूची र जीटीए दुवै धोका हो भनिसकेका छन्‌। छुट्टै राज्यले मात्र सम्पूर्ण गोर्खाहरूको राजनैतिक सुरक्षा हुनेछ।

0 comments: on "घिसिङ र विमलको मालिक एकै हुन्‌-लिग"