मुख्य समाचार :


गोर्खाल्याण्डको बाटोमा बाधा दिन्छ भने नतिजा पनि भोग्न तयार रहनुपर्छ-छत्र सुब्बा

प्रज्ज्वल छेत्री
कालेबुङ, 31 जनवरी।

दार्जीलिङ पहाडको राजनैतिक खेमामा अहिले सबैभन्दा धेर चर्चामा रहेका व्यक्ति हुन-जीएलओ प्रमुख छत्रे सुब्बा। 11 वर्षपछि जेलमुक्त बनेदेखि नै सबैको नजर छत्र सुब्बामा पुगेर थामिएको छ। जेलमुक्त बनेर केही समय तिनी मौन रहेपनि अहिलेको चलपहलले झनै छत्रे सुब्बाको नामे सबैको मुखमा झुण्डिएको छ। गोरामुमोको शासनकालअवधी सशस्त्र क्रान्तीद्वारा दागोपापको विरोध जनाउने छत्र सुब्बाको वर्तमान क्रियाकलापलाई गुप्तचार विभागले पनि कढा निगरानी राखिरहेको छ। छत्र सुब्बाको भावी रणनीतिमाथि दार्जीलिङ पहाडको साधरण मानिसहरूदेखि लिएर राजनैतिक सचेतकहरूमा व्यापक जिज्ञासा उत्पन्न भइरहेको छ। यस्तो अवस्थामा कृषि पर्यटन महोत्वमा छत्र-विमलको भेट, छत्रकै नेतृत्वमा नयॉं दल गठन हुने हल्ला अनि सुब्बाको जिल्लाव्यापी भ्रमणलेे झनै नयॉं कौतुहुलता सृजना गरिदिएको छ। दार्जीलिङ, खरसाङ अनि सिलगढीको भ्रमण गरेर पुनः कालेबुङ फर्किएका छत्र सुब्बाले आज जनता गोर्खाल्याण्डप्रति अझपनि इमान्दार रहेको कुरा थाहा लागेको बताए। तिनले भने, मलाई चारैतिरबाट चाप आइरहेको थियो।  जनता हुल बॉंधेर मेरो घरमा आउन सक्तैनन्‌। जनताको निम्ति मेरो पनि केही कर्तव्य बन्छ, यसैले म जनताको इच्छा बुझ्न दार्जीलिङ, खरसाङ अनि सिलगढी गएको थिएँ। भ्रमणअवधि गोर्खाल्याण्डप्रति जनता ‘सिरियस’ रहेको कुरा थाहा पाएँ। छत्रको जिल्लाव्यापी भ्रमणले फेरि तिनी आन्दोलनमा उत्रने सङ्‌केत दिइरहेको छ। तर तिनी फेरि जीएलओ का व्यानरमा अघि आउने हुन अथवा कुनै नयॉं दलमा विलय हुने हुन्‌ यस कुरालाई नै राजनैतिक पर्यवेक्षकहरूले धेर महत्व दिइरहेका छन्‌। ‘जनताको समर्थन पाउँदै जान्छ प्लान बनिँदैै जान्छ’-भावी राणनीतिबारे प्रश्न गर्दा तिनले यसो भन्दै जम्मै ‘भिजन’-बताउनसकिने जनाए। देश काल र परिस्थिति हेरेर नै उचित समयमा जनताको समर्थनको आधारमा कुनै कदम उठाउनसक्ने तिनले सङ्‌केत दिए। छत्र अनि बिमलको भेटलाई लिएर आइरहेको विभिन्न प्रतिक्रियाहरूबारे बोल्दै सुब्बाले विलमसितको भेट, संयोगवश अनि नितान्त व्यवहारिक र समान्य भेट रहेको बताए। ‘अन्य कुनै पार्टीलाई बाधा दिने मेरो धारणा छैन। म कसैलाई ‘डिस्ट्रब’ गर्दिनँ। तर गोर्खाल्याण्डको बाटोमा कसैले ‘डिस्ट्रब’ दिन्छ भने उसले नजिता पनि भोग्न तयार रहनुपर्छ’-सुब्बाले भने। ‘जुनसुकै दलले आफूलाई जेसुकै प्रतिक्रिया नगरुन, बुझेर मात्र बोलुन्‌। म बोल्न परे डरलाग्दो हुन्छ।’- छत्र अनि विमलको भेटलाई लिएर आएको  विभिन्न टिप्पणीहरूमाथि बोल्दै तिनलेे भने। अन्तमा तिनले जनतालाई ‘म्यासेज’ दिँदै भने- जनता जाग्नुपर्छ, सतर्क बन्नुपर्छ। माटोको आन्दोलनलाई ‘सपोर्ट’ गर्नुपर्छ। आफैले आफैलाई बेच्न कोशिश नगरौं। गोर्खाल्याण्डको निम्ति आफूले गर्नसक्ने जति जम्मै गरिरहेको बताउँदै भविष्यमा गोर्खाल्याण्डको निम्ति छत्रले केही गरेन भनेर कुनै इतिहासकारले आफूलाई दोश्याउन नसक्ने पनि तिनले जनाए। 

0 comments: on "गोर्खाल्याण्डको बाटोमा बाधा दिन्छ भने नतिजा पनि भोग्न तयार रहनुपर्छ-छत्र सुब्बा"