मुख्य समाचार :


जीना हत्याकाण्डः अब रहस्योद्घाटनतिर

 
पेदोङबाट फर्किएर
मनोज वोगटी
पुलिस प्रशासनले केही दिनभित्रमा नै जीना हत्याकाण्डको रहस्योद्घाटन गर्नेे संकेत दिएको छ| अहिलेसम्म पुलिस प्रशासनले हत्याकाण्डलाई सुल्झाउन वा हत्याराहरूको खोजी गर्न चालिरहेको पहलबारे खुलासा गरेको थिएन| तर आज पेदोङमा यसै काण्डलाई दिएर हत्यारा पक्राउ हुनुपर्ने माग गर्दै पेदोङ पुलिस पोष्टमा धर्ना र जुलूस भएपछि कालेबुङ थाना प्रभारी प्रसाद प्रधानले पुलिस प्रशासनबाट भइरहेको पहलबारे जानकारी दिए| तिनी अनुसार जीनाको हत्या बलात्कार गरेर आफ्नो कुकृत्य जीनाले पर्दाफास गर्ने डरले हत्याराले गरेकोे होइन|
 जीनाको हत्या सुनियोजित तरिकाले भएको छ| तोपखानास्थित जीनाको घरदेखि केवल चालीस फीट परको खोल्सामा जीनालाई फ्यॉंकिएको थियो| खोल्सामा जीनाको प्राण गइहालेको भने थिएन तर अस्पताल ल्याउँदा ल्याउँदै तिनको मृत्यु भएको थियो| जब जीनालाई खोल्सामा पाइयो त्यसबेला जीनाको कम्मरमुनीको लुगा थिएन| खोल्साबाट केवल दस फीट परको खेतमा तीनको लूगा पाइएको थियो| त्यहीँ नै तिनका मोबाइल फोन र जीनाले बोकिल्याएको स्कूसको झोला पाइएको थियो| पुलिस प्रशासनको जॉंचले खेतमा पाइएको जीनाको कम्मरमुनीको लूगा अनि त्यहॉं पाइएका अन्य सामानहरू हत्याराले हत्याको कारणबाट ध्यानभङ्ग गर्ने खेल मात्र मानेको छ|
 जीनाको शवको फोरेन्सिक रिपोर्टले जीनाको बलात्कार नभएको पुष्टि गरेपछि पुलिसलाई यस्तो शंका भएको थाहा लागेको छ| पुलिसले फोरेन्सिक जॉंचको रिपोर्ट पनि दोहोरो जॉंचको निम्ति पठाएको छ| पुलिसले गरेको जॉंचले संकेत गरे अनुसार जीनाको हत्या खोल्सामा नै गरिएको थियो| जीनाको शरीरमा चोट पाइएको थिएन| केवल टाउकोमा चोट पाइएकोले कुनै धारिलो हतियारले सुनियोजितरुपले प्रहार गरेर जीनालाई मारेर फ्यॉंकिएको  हो|
 घटनास्थलबाट पुलिसले धेरैवटा तथ्यहरू संग्रह गरेको छ| जसको अध्ययन भइरहेको छ| खोल्सामा नै मारेर फ्यॉंक्न अघि जीनाको कम्मरमुनीको लुगा खेतमा फ्यॉंकिएको हो|
 हत्या बलात्कार गरेर गरिएको बुझाउन नै यसो गरिएको भए पनि हत्या बलात्कारको कारण नभएको पुष्टि भएकोले हत्याको अन्य कारण खोज्न पुलिसले आन्तरिकरुपले जॉंच तीब्र पारेको छ| यता जीनाको परिवारले पुलिसले सही जॉंच नगरिरहेको आरोप लगाएका छन् भने पुलिस पक्षले परिवारले केवल आरोप लगाइरहेको तर सहयोग भने नगरिरहेको पनि खुलासा गरेको छ| परिवारपक्षले पुलिसलाई हत्यारा खोज्न सबैप्रकारको सहयोग नगरेसम्म पुलिसले हत्यारालाई सहीरुपले चिन्हित गर्न ढिलो हुने आईसी प्रसाद प्रधानले बताएका छन्| केवल परिवारपक्षले मात्र होइन वरिपरिका छरछिमेकीले पनि अहिलेसम्म हत्यारासम्म पुग्न सक्ने कुनै पनि 'क्लू' देखापर्ने सम्मको सुराक पुलिसलाई दिइरहेको छैन| अहिले पुलिसले जीनाको फेसबुकलाई पनि अध्ययन गरिरहेको छ भने जीनाका साथीहरू, गाउँमा तिनको सामाजिक कार्यशैली, कतिपय गोप्यपक्ष अनि मोबाइल फोनलाई अघि राखेर पनि अध्ययन गर्ने कार्य पुलिसले गरिरहेको छ| थाहा लागे अनुसार जीनाको पिताको छ महिना अघि मृत्यु भएको थियो| तिनको बद्लीमा तिनको कान्छा छोरा बोनीले नोकरी पाउनेवाला थियो| भुमिसुधार विभागबाट बोलाइएको अन्तरवार्तामा तर बोनी बस्न सकेन| त्यही नोकरी जीनालाई दिइने कुरा पनि चलिरहेको थियो|  अहिलेसम्म नै परिवारको कसैैले पनि त्यो नोकरी पाएको छैन| त्यसदिनभरि जीनासित भएका घटनाहरूबारे पनि पुलिसले अध्ययन गरिरहेको छ| पुलिसले जुटाएका प्रामणहरूले अबको साता दिनभित्रमा नै हत्यारालाई पक्राउ गर्न सकिने आशा पुलिस प्रशासनले गरेको छ| तर यसको निम्ति पुलिसलाई परिवार अनि छरछिमेकीको सहयोगको खॉंचो रहेको छ| यता जीनाका परिवारले पुलिस प्रशासनले भनेजस्तो जॉंच नगरिरहेको गुनासो अझ पनि जारी राखेको छ| आज पेदोङमा सोसियल फोरम, पेदोङ युथ स्पोट्र्स एसोसिएसन, खाम्दोङ समाज कल्याण सङ्घ, पेदोङ संरक्षण र सुन्दरीकरण समिति, पेदोङ चालक सङ्घ, एकता परिवार तथा अन्य संस्थाहरूले संयुक्तरुपले नगरमा जीनाका हत्याराहरू पक्राउ गर्नुपर्ने सम्बन्धमा पुलिसलाई चाप दिन र्‍याली निकालेको थियो| नगरपरिक्रममा गरेपछि प्रत्येक संस्थाले पेदोङ पुलिस पोष्टमा ज्ञापन पनि चढायो| चालक सङ्घले तीन घण्टा चक्काजाम पनि गर्‍यो|
 पुलिसले हत्या कुनै खप्पिस हत्याराले नै गरेको हुनसक्ने शंका गरेको छ| बलात्कारको कारण हत्या नभएको स्पष्ट बेपछि हत्या अरु कुन कुन कारणले हुनसक्छ भन्ने सम्बन्धमा पुलिसले गहिरोरुपले छानबिन गर्ने कार्य गरिरहेको छ|

 'पीपी होइन पेदोङमा थाना चाहिन्छ'
जीना हत्याकाण्डको कारण नै पेदोङ पुलिस पोष्टलाई थाना बनाइनुपर्ने माग चर्किएको छ| पेदोङमा केवल पुलिस पोष्ट मात्र रहेकोले पेदोङमा भइरहेका अपराधिक घटनाहरू चर्किएर गएको संघसंस्थाहरूले आज कालेबुङ थाना प्रभारीलाई बताए| फादर पिटर लिङदामोले पेदोङमा थाना हुनुपर्ने माग पनि गरे| अघिदेखि नै पेदोङवासीले पेदोङमा थाना बसाइनुपर्ने माग गरिरहेको छ तर अहिलेसम्म यहॉं थाना बसाइएको छैन| के थाहा लागेको छ भने पेदोङमा जीना हत्याकाण्ड पॉंचौं हत्याकाण्ड हो| यस अघि पनि चारवटा हत्याकाण्ड भइसकेको छ तर यस्ताकाण्ड पेदोङभित्र नै सीमित बनिसकेको छ| जीना हत्याकाण्डपछि पेदोङवासीले पेदोङमा थाना बसाउनुपर्ने माग जोरसित उठाएको छ| थाना बसाइए यस्ता अपराधिक घटनाहरू निर्मूल हुने पेदोङवासीको भनाइरहेको छ|


जीना मामिला राज्यको गृह विभागमा
जीना हत्याकाण्डलाई केवल नागरिक समाजले मात्र महत्वपूर्ण मानेर हत्यारा पक्राउ पर्ने माग गरिरहेको छैन, कालेबुङका विधायकसम्मले यो मामिलाको अन्त गराउन राज्यको गृह विभागसम्म पत्रचार गरेका छन्|
 अब जीना हत्याकाण्डको मामिलालाई केवल संघसंस्थाहरूले मात्र सम्बोधन गर्ने छैन राज्यको गृह विभागले पनि यसलाई सम्बोधन गर्नेछ| रहस्यमय तरिकाले जीनाको हत्या गरिएको थियो भने हत्यारा अझसम्म पक्रा परेका छैनन्| यस मामिलालाई प्रशासनले गम्भीररुपमा लिनुपर्ने सम्बन्धमा नै कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले आज राज्यको गृहविभागलाई पत्रचार गरेको छेत्रीले बताएका छन्| यो विभागको मुखिया भने राज्यको मुख्यमन्त्री नै रहेकी छन् भने विधायक अनि मुख्यमन्त्रीले हत्यारा खोजिनिकाल्न कुनै महत्वपूर्ण पदक्षेप गर्ने देखिएको छ|


0 comments: on "जीना हत्याकाण्डः अब रहस्योद्घाटनतिर"