मुख्य समाचार :


आविपभित्र कलहः ड्रामा कि वास्तविकता?

कालेबुङ,10 दिसम्बर।
अहिले आदिवासी विकास परिषदभित्र नै कलह देखापरेको छ। अहिले तीन पक्षमा आविपभित्र अन्तरविरोध देखापरेको छ। गोर्खा जनमुक्ति मोर्चासित आदिवासी विकास परिषद्बीच भएको सम्झौता वास्तवमा के हो, त्यो आविप र मोर्चा दुवैले लुकाएर राखेको छ। सम्झौताको धेरैदिनपछि अहिले मोर्चा र आविपबाट जीएटीएको गठनबारे स्पष्टिकरण आइरहेको छ। सम्झौता गरेको दिन आविप र मोर्चाका प्रतिनिधिहरूले अब जीटीए होइन जीएटीए गठन हुने  घोषणा गरेका थिए। त्यसबेला मोर्चाको पक्षबाट के पनि भनिएको थियो भने अब जीटीएको कुरा सकियो अनि जीएटीएको कुरा शुरू भयो। किन भने जीटीए केवल पहाडको निम्ति थियो अनि अब तराई, डुवर्स र पहाडको निम्ति जीएटीए गठन हुनेछ। अहिले भर्खरको कुरा जीटीए पनि होइन, जीएटीए पनि होइन जीएमएटीए गठन हुनेसम्ममा पुगेको छ। गठन के हुने हो निश्चित छैन तर मोर्चा र आविप नेता जोन बारलाले स्पष्ट पारेका छन्‌ कि पहिले जीटीए नै गठन हुनेछ। जुन सम्झौता भएको छ, त्यही अनुसार जीटीए तीन महकुमा खरसाङ, दार्जीलिङ र कालेबुङलाई लिएर गठन हुनेछ। यसले के स्पष्ट पारेको छ भने अब जीटीए गठनको निम्ति हाइपावरको रिपोर्टको अनिवार्यता रहने छैन। विमल गुरूङ अनि जोन बारला अनुसार जीटीए गठन हनेछ( सीमाङ्‌कनबिना नै)  अनि जीटीएसभाले जीएटीएको नामाकरण गर्नेछ। जीटीएसभाले नै तराई र डुवर्सलाई अन्तरभुक्त गर्दै जीएटीए बनाउने छ। तर उनीहरूको कुराभित्र धेरै अन्योलता देखिएको छ। बङ्गाल सरकार र केन्द्रले नै जीटीएलाई खारेज गरेर जीएटीए गठन गर्नुपर्ने भएपनि विमल गुरूङ अनि बारला अनुसार यसो हुने छैन। किन भने जीटीएलाई नै केवल नाम परिवर्तन गरिने छ, प्रशाशनिक क्षमता भने जीटीएको नै रहनेछ। अथवा जीटीएलाई दिएको क्षमताले नै जीएटीए चलाउने छ। तर जीटीएलाई दिइएको क्षमता भने पहाडको तीनवटा महकुमालाई नै तोकेर दिइएको छ भने यसको प्रयोग पनि सम्झौता अनुसार तीन महकुमामा नै गर्नुपर्ने छ। यसो हुँदा तराई र डुवर्स कुन क्षमता र पैसाले चल्ने हो, स्पष्ट छैन।  जोन बारला पनि वास्तवमा मोर्चाको यस्तो अनयोलपूर्ण कुरामा अल्झिएको र आविपलाई नै धोका दिने कार्य भइरहेको आविप राज्य कमिटीको आरोप छ। आविपको बदनाम गराएकोले बारलाबाट साङ्गठानिक क्षमता नै खोस्ने पक्षमा राज्य समिति रहेको छ। यता मोर्चासितको सम्झौताको दिन राज्य कमिटीको पक्षबाट आएको अनि राज्य कमिटीको पक्षबाट टिप्पणी दिएको भन्दै राज्य कमिटी सचिव तेजकुमार टोप्पोले जीएटीएको औचित्यबारे स्पष्ट पारेका थिए। तिनले भनेका थिए, अब जीटीएलाई खारेज गरिनेछ अनि त्यसको साटो तराई, डुवर्स र पहाडलाई मिलाएर उच्च क्षमताशील जीएण्डएटीए गठन हुनेछ। यही कुरा जोन बारला, रोशन गिरी अनि विमल गुरूङले पनि बताएका थिए। तर जोन बारला, रोशन गिरी अनि विमल गुरूङले अहिले भाका फेर्दै पहिले जीटीए गठन हुने अनि जीटीए सभाले नै व्यस्थाको नाम जीएणडएटीए बनाउने कुरा गरिरहेका छन्‌। बारलालाई तेजकुमार टोप्पोले सम्झौताको बेला गरेका कुरालाई सम्झना गराउँदा तिनले टोप्पोको टिप्पणीलाई भर्त्सना गर्दै पहिले जीटीए नै गठन हुने अनि त्यसपछि त्यो जीटीएको सभाले(विधानसभा जस्तै) केवल नाम परिवर्तन गर्ने बताएका छन्‌। उसो भए यसलाई कस्तो खाले प्राप्ति मानु पर्ने जब की जीटीएको मात्र नाम परिवर्तन हुनेछ अनि क्षमता परिवर्तन हुने छैन भन्ने विषयमा बारलाले क्षमताको निम्ति नै मोर्चा र आविपको कमिटीले मुख्यमन्त्री र गृहमन्त्रीलाई भेटेर अपील गरने बताएका छन्‌। तेज कुमार टोप्पो भने अहिले विलखबन्दमा परेका छन्‌। टोप्पोको विलखबन्दले आविप र मोर्चाबीचको सम्झौता नै शंकाको घेरोमा परेको छ। यो त स्पष्ट छ कि जोन बारलालाई तराई र डुवर्सको बागडोर दिने प्रलोभन देखाएर सम्झौता गराइएको छ, यसैकारण हो कि बारलाले राज्य कमिटीको कुनै पनि आदेशलाई पत्तो दिइरहेका छैनन्‌। यता आविपको राज्य कमिटीले बारलाले तराई र डुवर्सलाई धोका दिने कार्य गरिरहेको बताउँदै बारलालाई सङ्गठनबाट निकाल्ने मन बनाइसकेको विरसा तिर्कीले बताएका छन्‌। विरसा तिर्कीले के भनेका छन्‌ भने वास्तवमा मोर्चाले जोन बारलालाई जीएण्डएटीएको बागडोर दिने लोभ देखाएकोले बारला अन्धो भएका छन्‌। तिनलाई मोर्चाको कुटनीतिको पत्तो छैन। वास्तवमा मोर्चाले जीटीएमा तराई डुवर्सको भूभाग नपस्ने भएपछि बारलालाई लोभ देखाएर तराई डुवर्स नगाभी जीटीए गठन गर्ने बाटो मोर्चाले बनाएको हो। मोर्चाले जीटीए गठन गर्छ भने गठन गरोस्‌ तर तराई र डुवर्सलाई नछुओस्‌-तिर्कीले भनेका छन्‌। तर मोर्चा यसो गर्न सक्दैन किन भने मोर्चाले जनतामा बाचा गरेको छ तराई र डुवर्सको एक इञ्च भूभाग पनि नछोड्‌ने। आफ्नो बाचाको कारण ऐठनमा परेको मोर्चाले जीटीए गठन गर्न अनि तराई र डुवर्सलाई पछिबाट गाभ्ने आश्वासन देखाएर जीटीए गठन गरिहाल्ने कुटनीति खेलिरहेको तिर्कीको भनाइ रहेको छ।
 


0 comments: on "आविपभित्र कलहः ड्रामा कि वास्तविकता?"