मुख्य समाचार :


एउटै दलको मूल सङ्गठन जीटीएमा युवा मोर्चा छुट्टै

 राज्यमा बाहिरकाले सोधे के जवाब दिने?- छत्र सुब्बा
कालेबुङ, 15 दिसम्बर।
वर्तमान राजनैतिक चलखेललाई धेरै नजिकबाट हेरिरहेका छत्र सुब्बालाई पनि गोर्खा जनमुक्ति मोर्चाको युवा सङ्गठनले छुट्टै राज्यको आन्दोलन गर्ने कुरा अनौठो लागेको छ। छुट्टै राज्यको आन्दोलन गर्ने दलले कुनै पनि निकृष्ट व्यवस्थाको निम्ति हस्ताक्षर गर्नु भनेको छुट्टै राज्यको मुद्दा छोड्‌नु रहेको छत्र सुब्बाको मान्यता छ। छुट्टै राज्यको आन्दोलन लामो समयसम्म लैजान नसक्ने भएपछि नै दलहरूलाई सिँडी चाहिने गरेको अनि सिँडी भनेको त्यस दलको राजनैतिक अस्तित्वको सवाल रहेको बुझ्ने छत्र सुब्बाले घिसिङले आन्दोलन तन्काउन नसक्ने अनि आन्दोलनको रुपरेखा जनपीडक रहेकोले नै दागोपाप थाप्नु परेको बुझेका छन्‌। तिनले बारम्बार के भनेका छन्‌ भने सम्झौता भने मुद्दा अघि बढाउनको निम्ति हुँदैन। बरु मुद्दालाई केही समयकालसम्म थन्काउनुको निम्ति हुन्छ। कुनै पनि प्राप्तिको निम्ति आन्दोलनलाई निरन्तर गर्ने बौद्धिक कार्यक्रमको खॉंचो पर्छ। छत्र सुब्बालाई जीटीए पनि मुद्दालाई केही समयसम्म थन्को लगाउने एउटा सरकारी षडयन्त्र नै लागेको छ। अहिले मोर्चा जीटीएमा अनि मोर्चाको भातृ सङ्गठन भने छुट्टै राज्यको आन्दोलनमा रहेको कुरा अत्यन्तै अनौठो र अनावश्यक लागेको छत्र सुब्बाले भनिसकेका छन्‌। तिनले पत्रकारहरूलाई सोद्धै थिए, युवा मोर्चा भनेको अर्कै पार्टी हो? सम्झौता गर्ने दलले छुट्टै राज्यको निम्ति आन्दोलन गर्न सक्दैन भन्ने तिनको दाबीको प्रमाण नै युवा मोर्चाको कार्यक्रम रहेको छत्र सुब्बाले बताइरहेका थिए। तिनले भने, मोर्चाले किन आन्दोलन गर्दैन, किन युवा मोर्चाले आन्दोलन गर्ने? मोर्चाले आन्दोलन गर्न नसकेको कारण नै सम्झौता हो तर युवा मोर्चाले आन्दोलन गर्नु मान्छे हँसाउने कुरा हो। तिनले अझ भनेका छन्‌, बाहिरकाहरूले सोधे युवा मोर्चाले के जवाब दिने? जब मुख्य बडी भने जीटीए भन्दैछ। केन्द्रिय समितिको निर्देशनमा चल्ने भातृ सङ्गठनले कसरी छुट्टै राज्यको आन्दोलन गर्छ? तिनले मोर्चा र युवा मोर्चासित प्रशस्त प्रश्नहरू उठाएका छन्‌। दलको केन्द्रिय समितिले मुद्दा छोडेपछि भातृ सङ्गठनले मुद्दाको उठान गर्नुको कुनै अर्थ रहँदैन। तिनले युवा मोर्चालाई के सुझाव दिएका छन्‌ भने यदि सॉंच्ची नै युवा मोर्चाले छुट्टै राज्य भन्छ भने पार्टी छोडेर अघि बढ्‌नुपर्छ। यदि यस्तो हुँदैन भने युवा मोर्चाको आन्दोलन इतिहासमा अर्को कलङ्‌क नै हुने छ। यता युवा मोर्चाले भने युवा मोर्चाको आन्दोलनमाथि आलोचना गर्नेहरूलाई खबरदारी गरेको छ। जसले पनि युवा मोर्चाको आन्दोलनलाई आलोचना गर्छ उसलाई जनताले कालो मोसो पोत्ने छ। तर आलोचकहरुले युवा मोर्चाको यस्ता खाले धम्कीको कुनै आधार नरहेको बताइरहेका छन्‌। युवा मोर्चाले उनीहरूमाथि उठिरहेको अनेकौं प्रश्नहरूको उत्तर नदिएर आलोचना गर्नेहरूप्रति खनिनु युवा मानसिकता नरहेको स्पष्ट रहेको आलोचकहरूको अडान छ। छत्र सुब्बाले उठाएको प्रश्न नै अहिले आम प्रश्न बनेको छ। मूल सङ्गठनले जीटीएको निम्ति आन्दोलन गरिरहेको छ अनि त्यसको भातृ सङ्गठनले भने छुट्टै राज्यको आन्दोलन गरिरहेकोले उनीहरूको आन्दोलनलाई जो कोहीले पनि मूल सङ्गठनको जीटीएसित जोडेर हेर्नु स्वाभाविक हो। छुट्टै राज्यको सिँडीकोरुपमा जीटीएमा सम्झौता गर्ने मोर्चा आफै भने अहिले छुट्टै राज्यमाथि केन्द्रित नरहेको बताइसकेको छ। कालेबुङमा नै आएर विमल गुरूङले जीटीए गठनमा ढिलाई भएकोले युवा मोर्चाले आन्दोलन गरेको स्पष्ट पारेकोले युवा मोर्चाको आन्दोलन जीटीएको बार्गेनिङ मात्र हो भन्ने कुरा पनि स्पष्ट पारिएको छ। यस्तोमा युवा मोर्चाको आन्दोलन आलोचनाको शिकार भइरहको छ। कुनै पनि कुरामा आलोचना हुनु भनेको नै त्यो सर्वमान्य नरहेको हो भन्ने बौद्धिक कुरा बुझ्ननसक्ने युवा मोर्चाले देखाएको मोसो दल्ने डरले आलोचकहरू मौन बस्ला भन्न निक्कै गाह्रो कुरा रहेको छ।
 


0 comments: on "एउटै दलको मूल सङ्गठन जीटीएमा युवा मोर्चा छुट्टै"