मुख्य समाचार :


पहाडमा फेरि गुञ्जियो गोर्खाल्याण्डको आवाज


कालेबुङ, 11 दिसम्बर।
युवा मोर्चाले आजदेखि फेरि पहाडमा गोर्खाल्याण्डको आवाजलाई बुलन्द पार्न शुरू गर्‍यो। विधानसभा चुनाउअघिसम्म गोजमुमोले जोतोडले गोर्खाल्याण्डको आवाज गुञ्जयमान पारेको थियोे। तर जीटीएले गर्दा मोर्चाको स्वर घासिएपछि आजदेखि युवा मोर्चाले गोर्खाल्याण्डको नारा भट्टयाउन शुरू गरेको छ। वी वान्ट गोर्खाल्याण्ड, हाम्रो माटो फर्काइदे, बङ्गालमा हामी बस्दैनौं को नाराले आज फरि पहाड एकचोटि गुञ्जयमान बन्यो। मोर्चा भने बङ्गालमा नै बस्ने जीटीएको मुद्दा बोकेर बसेको छ। छुट्टै राज्यको मागमा आज युवा मोर्चाले नगरमा जुलूस निकाल्यो। सयौं युवाहरूको एउटै स्वर निस्कियो वी वान्ट गोर्खाल्याण्ड। गोर्खाल्याण्डको नारा लगाउँदै सयौं युवाहरूको जुलूसले नगर परिक्रमा गरपछि डम्बरचोकमा आएर जुलूस थामियो। जुलूसमा सहभागी बनेकाहरूलाई युवा कार्यकर्ताहरूले सम्बोधन गरे। युवा मोर्चा महकुमा समितिका प्रचार-प्रसार सचिव विनय घिसिङले भने, अध्यक्ष विमल गुरूङलाई अझपनि हामीले गोर्खाल्याण्डको नेतृत्व सम्हालीदिन अनुरोध गरिरहेका छौं। धेरै भयो हामी हेपिएको, धेरै भयो थिचिएको। आजसम्म हामीले न्याय पाउन सकेका छैनौं। मायावतीको राज्य विभाजन गर्ने निर्णयलाई हामी स्वागत जनाउँछौं। तेलेङ्गनाको परिस्थिलाई पनि हामीले हेरिरहेका छौं। यदि देशमा कुनै पनि नयॉं राज्य गठन हुन्छ भने सर्वप्रथम गोर्खाल्याण्डलाई प्राथमिकता दिएको हुनुपर्छ। 18 दिसम्बरको मङ्‌पुको जनसभाको निम्ति पनि सबैलाई तयारी बसिदिने तिनले आग्रह गरे। अर्कोतिर युवा मोर्चा महकुमा समितिका सह-सचिव बारूद थापाले भने, हामी फेरि एकपल्ट गोर्खाल्याण्डको आन्दोलनमा ओर्लिएका छौं। इतिहासले बताउँछ दार्जीलिङ पहाड कहिले बङ्गालको थिएन। यसैले हामी गोर्खाल्याण्डको निम्ति मर्न पनि तयार छौं।
 पहिलेकाहरूले जस्तो भूल गर्दैनौं, गोर्खाल्याण्ड बनाइछाड्‌छौं। अब गोर्खाल्याण्डको निम्ति युवा मोर्चाले जोडतोडले आन्दोलन गर्ने अनि त्यसअवधी केही पनि हुनसक्ने चेतावनी दिँदै तिनले भागोपले पनि केही भए अन्जाम भोग्न सक्नुपर्ने बताए। यसरी नै युवा मोर्चा केन्द्रिय समिति सदस्य तोपदेन भोटियाले भने, ममतायी भनिने मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङलाई माया गर्छ भने विधानसभामा छुट्टै राज्यको प्रस्ताव पारित गर्नुपर्छ। राज्य बनाउँदा कसैलाई नोक्सान हुँदैन।
 प्रतिनिधिहरूले जनताको इच्छा र आकांशा बुझ्नुपर्छ। छुट्टै राज्य गठनको निम्ति हामीले सयप्रतिशत जनमत संग्रह गर्नुपर्छ। गोर्खाल्याण्डको आवाजलाई बुलन्द गर्न युवा मोर्चालाई कुनै आचार संहिताले नछेक्ने पनि भोटियाले बताए। यदि देशमा छुट्टै राज्य बनिने परिस्थिति आए युवाहरूको भूमिकाबारे विमल गुरूङले मङ्‌पुको जनसभाबाट बताउने पनि तिनले बताए। यसरी नै युवा मोर्चाको जुलूसमा सहभागी बनेका विद्यार्थी मोर्चा केन्द्रिय समितिका सह-सचिव दीप थापाले युवा मोर्चाले थालेको दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनमा विद्यार्थी मोर्चाले पनि अघि आएर सहयोग पुर्‍याउने बताए। युवा मोर्चाले शुुरू गरेको गोर्खाल्याण्ड आन्दोलनलाई सबलै मिलेर सफल पार्नुपर्ने पनि थापाले बताए।


0 comments: on "पहाडमा फेरि गुञ्जियो गोर्खाल्याण्डको आवाज"