मुख्य समाचार :


हिल कंग्रेसप्रति दलहरू सकरात्मक तर युटीमा पनि सामुहिकता कै प्रश्‍न

मनोज वोगटी
कालेबुङ, २ दिसम्बर|
हिल कंग्रेसको युटी (केन्द्र शाषित प्रदेश) को कुरालाई पहाडका अधिकांश दलहरूले प्रस्तावहीन हल्ला अनि राजनैतिक प्रोपोगाण्डा मात्र मानेको छ| यति मान्दामान्दै पनि कंग्रेसको पहललाई सबै दलले सकरात्मकरुपले लिएको छ| केवल मीडियामा होइन कंग्रेसले आधिकारिकरुपले नै युटीको प्रस्ताव ग्रहण गरिनु कंग्रेसको पहिलो कार्य हुनुपर्ने अनि यसको निम्ति नै हो भने पनि सामुहिकरुपले नै आवाज उठाउनुपर्ने अनिवार्य रहेको दलहरूको कुरा अघि आएको छ| विधानसभाको बेला युटीको कुरा उठाउने कंग्रेस त्यसपछि मौन बस्यो अनि अहिले अन्य दलहरूले संयुक्तरुपले गरिने राष्ट्रियस्तरको आन्दोलन, अर्को राजनैतिक दल स्थापित हुने अनि गोजमुमोको जीटीए, जीएटीए अनि युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनबीच भइरहेको खिचातानीबीच हिल कंग्रेसले दिल्लीबाट उठाएको युटीको कुराले फेरि राजनैतिक परिवेश तताउन शुरू गरेको छ| छुट्टैराज्य हुने कुरामा आशा नरहेपछि कमसेकम युटीसम्म हुनसक्ने कंग्रेसको पूर्वघोषणालाई नै टिपेर हिल कंग्रेसले युटीको कुरा गरेको भए पनि कंग्रेसले यसको प्रस्ताव पारित गरेर राज्य कमिटीमा राख्न अनिवार्य रहेको मानेका छन् अन्य दलहरूले|
 राज्य कमिटीले युटीको प्रस्ताव पारित गरेर दिल्लीको हाइमानमा राखेर, हाइकमानले यस प्रस्तावलाई स्वीकृति दिए कंग्रेसको अडानलाई मान्न सकिने राजनैतिक दलहरूको भनाइ छ| उनीहरू अनुसार हिल कंग्रेसले युटीको प्रस्ताव ग्रहण गरेको छैन| राष्ट्रिय दलले कुनै पनि मुद्दालाई 'नेश्‍नल इन्ट्रेस' ले हेर्ने भएकोले पहिले हिल कंग्रेसको राजनैतिक अडान स्पष्ट हुनुपर्ने छुट्टै राज्य चहाने दलहरू भन्छन्| कतिवटा दलले जुनै कुरा ल्याइए पनि त्यसले गोर्खाहरूको चिह्नारी र बङ्गालबाटको मुक्तिको सवाललाई बलियोगरि बोक्नु पर्ने पनि बताएको छ| भागोपले छुट्टैराज्यको आन्दोलन पहाडका बलिया विपक्षको साथ लिएर गर्ने भएको छ, यता गोर्खा जनमुक्ति मोर्चाको युवा सङ्गठनले केन्द्रिय कमिटीले जीटीए र जीएटीए भनिरहेको भए पनि दलको अध्यक्षको निर्देशनमा नै गोर्खाल्याण्डको आन्दोलन गर्ने भएको छ| अर्कोतिर छुट्टैराज्यको मुद्दालाई नै प्रमुख मुद्दा बनाएर अर्को दल गठन हुने कुरा चलिरहेको छ| यस्तोमा हिल कंग्रेसको जीटीएको मुद्दा पनि थपिएको छ, जसले अहिलेको राजनैतिक विचलनको परिस्थितिमा आलोचित हुने राम्रो आवसर निर्माण गरेको छ| हिल कंग्रेसलाई क्षेत्रीय मुद्दालाई सम्बोधन गर्नुपर्ने बाध्यता देखिएको छ भने यही कंग्रेस सिलगढी झरेपछि हिल कंग्रेसको मुद्दाको विरोधमा उठ्ने गरेको छ| कंग्रेसी सङ्गठनहरूले भिन्ना भिन्नै मुद्दामा राजनीति गर्ने भए पनि राज्य कंग्रेसले भने बारम्बार नै हिल कंग्रेसको मुद्दाको विरोध गर्दै आइरहेको छ| राजिव गान्धीले अघिबाट नै दार्जीलिङलाई युटी दिने कुरा गरेको भए पनि पहाडमा कंग्रेसको दलीय आधार बलियो नरहेकोले हिल कंग्रेसले जनतामा राम्रो छबी बनाउन सकेको छैन| विधानसभा चुनाउमा नराम्रो घतले हारेको हिल कंग्रेसले जनतामा दलीय मुद्दा र कार्यशैलीलाई प्रभावकारीरुपले नराखेकोले नै हिल कंग्रेसको  युटीको मुद्दाले पनि जोर पक्रिन सकेको छैन| तर हिल कंग्रेसले आफ्नो अडान भने स्पष्ट पार्दै आइरहेको छ तर जनताले विश्‍वास गर्न सकेको छैन| हार्ने परिस्थितिमा नै हिल कंग्रेसले विधानसभा चुनाउमा युटीको मुद्दा अघि सार्‍यो| यसलाई जनताले साथ नदिएको गुनालो हिल कंग्रेसले गर्दै आइरहेको छ| अन्य दलहरू अनुसार हिल कंग्रेसले युटीको मुद्दा नै उठाउने हो भने जिल्ला समितिले यसको प्रस्ताव ग्रहण गर्नुपर्नेछ|
    यसै सम्बन्धमा हिल कंग्रेसले उठाएको युटीको मुद्दामाथि प्रतिक्रिया गर्दै गोर्खालिगले पहिले कंग्रेसमा प्रस्ताव ल्याउने सुझाव दिएको छ|
    लिगका महासचिव प्रताप खातीले प्रस्ताव नलिइ गरिएको कुरा अर्थहीन रहनेे बताउँदै सामुहिकरुपले यसको दाबी गरिनुपर्ने बताएका छन्| खातीले हिल कंग्रेसले जिल्लासमितिमा प्रस्ताव ल्याएर राज्य समितिमा पठाउनुपर्ने बताउँदै भने, पेपरमा भनेर हुँदैन, प्रस्ताव ल्याउ| युटी राज्य बराबर हो| दिल्ली पण्डिचेरी, गोवा पनि युटी नै हो| धेरैवटा राज्य युटीपछि नै गठन गरिएको छ| तर कुनै पनि कुराको उठान एक्लै गर्नु ठीक होइन| दिल्लीले कुनै पनि कुराको निम्ति पहाडमा मिलेर आवाज उठाउने कुरा गर्छ| जबसम्म सामुहिकरुपले मुद्दाको दाबी हुँदैन तबसम्म कुनै पनि कुरा सम्भव छैन| एउटा दलले कुनै पनि मुद्दा उठाउनु भनेको बेचिनु हो| दागोपाप र जीटीए नेता र पार्टी बेचिएको ठूलो उदाहरण हो| तिनले कंग्रेसलाई जिल्ला कंग्रेसदेखि राज्य कंग्रेस अनि दिल्लीको हाइकमानलाई नै युटीको प्रस्ताव ग्रहण गरेर आउने सुझाव राखेका छन्|
    अर्कोतिर क्रामाकपा महकुमा सचिव मोहन पौड्यालले हिल कंग्रेसले गरेको पहल सकरात्मक रहेको बताए| तिनले भने, हिल कंग्रेसले त युटी भन्दैछ तर राज्य कमिटीले यो कुरालाई मान्छ के त? पहिले कंग्रेसको जिल्लादेखि दिल्ली कंग्रेससम्म नै मुद्दामाथि स्पष्ट हुनुपर्छ| बङ्गालबाट छुट्टिने कुरालाई हाम्रो समर्थन छ तर हाम्रो दाबी बङ्गालबाट छुट्टिनु मात्र होइन गोर्खाहरूको राष्ट्रिय चिह्नारी र राजनैतिक सुरक्षा पनि हो|
    गोराममोसीका अध्यक्ष कर्णल डीके प्रधानले युटीको कुरालाई तिनको समर्थन रहेको बताए| तिनले भने, युटी छुट्टैराज्यको पहिलो सिँडी हुनसक्छ, यदि कंग्रेस यसको पक्षमा छ भने यसको निम्ति आवाज उठाउनुपर्छ तर कंग्रेसले आफ्नो अडानस्पष्ट पार्नु पर्छ| यसको निम्ति सबै दलहरू एउटै मञ्चमा आउनुपर्छ| सामुहिकरुपले पहल नगरे कुनै पनि मुद्दाले पार पार्नेछैन|
    भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. एनोसदास प्रधानले युटीको कुरा नराम्रो नरहेको बताए| तिनले भने, हामीले यहॉं मात्र युटीको कुरा गरेर हुँदैन| हाम्रो माग बङ्गालबाट छुट्टिनु हो तर बङ्गालबाट छुट्टिनु मात्र समस्याको समाधान होइन| गोर्खाहरूको चिह्नारी सुनिश्‍चितता पनि हाम्रो माग हो| कुनै पनि मुद्दालाई सामुहिकरुपले दाबी गरिनुपर्छ| युटीको निम्ति नै हो भने पनि सामुहिकता अनविार्य छ| यता गोरानिमो अध्यक्ष दावा पाखरिनले भने छुट्टै राज्य गोर्खाल्याण्डको विकल्प नै नरहेको बताएका छन्| तिनले भने, गोरानिमोको गठन छुट्टै राज्यको निम्ति भएको हो| यस कारण गोरानिमोले युटीलाई समर्थन गर्दैन|
    माकपा नेता तारा सुन्दासले हिल कंग्रेसको युटीको पहल पानी धमिलो पारेर माछा मार्ने खेल मात्र रहेको बताएका छन्| कंग्रेसलाई अहिले कालो धन र एफडीआईले नै हैरान बनाएको बताउँदै युटीको कुरा असान्दर्भिक रहेको बताए| तिनले हिल कंग्रेसले जीटीए रोक्न नै युटीको मुद्दा उठाएको सोझो आरोप पनि लगाए| तिनले भने, पहिले जीटीए लागू गरिनुपर्छ| पहाडमा विकास हुनुपर्छ| पहाडमा गणतन्त्रलाई स्थापित गरिनुपर्छ|
 


0 comments: on "हिल कंग्रेसप्रति दलहरू सकरात्मक तर युटीमा पनि सामुहिकता कै प्रश्‍न"