मुख्य समाचार :


कालेबुङमा 26 देखि 29 सम्म टी एण्ड टुरिष्ट फेस्ट पर्यटकको निम्ति श्रृङ्गारिने कालेबुङ

कालेबुङ, 15 दिसम्बर।
दार्जीलिङलाई विश्वबजारमा प्रख्यात बनाउन अनि चिया र पर्यटनको बजारलाई अझ विकसित पार्न आठ वर्षपछि यसपल्ट कालेबुङमा पनि 26 देखि 29 दिसम्बरसम्म चार दिवसीय दार्जीलिङ चिया अनि पर्यटन उत्सव पालन गरिने  भएको छ। यसभन्दा अघि 2002 सालमा विन्टर फेस्ट नाम दिएर कालेबुङमा पर्यटन उत्सव पालन गरिएको थियो। 20 दिसम्बरदेखि 5 जनवरीसम्म दार्जीलिङ जिल्लाभरि नै पालन गरिने चिया अनि पर्यटन उत्सव कालेबुङमा चार दिन भव्यतासाथ सम्पन्न हुने भएको छ। दार्जीलिङ पहाडको सौन्दर्यप्रति देशी-विदेशी पर्यटकहरूलाई बेमौसममा पनि दार्जीलिङ पहाड चड्‌न लोभ्याउने उदेश्यले जिल्ला प्रशासनको तत्परतामा नै यस चिया अनि पर्यटन उत्सव पालन गरिने निधो भएको हो। चिया अनि पर्यटन उत्सवमा 26 देखि 29 सम्म चार दिन कालेबुङमा पर्यटकहरूको निम्ति विविध कार्यक्रमहरूको आयोजना गरिने भएको छ। जसबाट अहिले कालेबुङ आएका पर्यटकहरूले चार दिन भरपूर आनन्द लिन सक्नेछन्‌ अनि कालेबुङको अविष्मरणीय छाप सँधै मस्तिष्कमा राख्नेछन्‌। पर्यटन उत्सवको पहिलो दिन यहॉंका सबै समाजका मानिसहरूले आ-आफ्नै भेषभूषामा सजिएर विभिन्न साजबाजहरू लिएर नगरमा झॉंकी प्रस्तुत गर्नेछन्‌। विहान झॉंकी लिएर नगरमा निक्सेका मानिसहरूलाई हवाइजहाजबाट फूल वर्साएर अझ रौनकता ल्याउने पनि आयोजकपक्षले योजना बनाइरहेको छ। कालेबुङ मेन रोड, पुस्तकालय, जनमुक्ति पार्क, कन्या उच्चत्तर माध्यमिक विद्यालय आदि स्थानहरूमा सोही दिन विभिन्न प्रदर्शनीहरूको विधिवत उद्घाटन गरिनेछ। फोटो प्रतियोगिता, चित्र प्रदर्शनी, काष्टकला प्रदर्शनीसँगै जनमुक्ति पार्कमा राखिने पुष्प प्रदर्शनी पर्यटन उत्सवको मुख्य आकर्षण रहनेछ। नगरभित्र रहेको सडकको दुइ किनारमा जातीय पारम्परिक खानपानहरू राखिनेछ। स्थानीय त्रिकोण पार्क भने त्यस दिन गुन्द्रीबाजारमा परिणत हुनेछ। डोको, नाम्लो, गन्द्री, फलैँचा, खोसेलाको पिरा आदि जातीय समाग्रीहरू गुन्द्री बजारमा प्रदर्शनी अनि बिक्रिको निम्ति राखिनेछ। अपह्रान्न 3 बजेदेखि 4 बजेसम्म नगरमा आर्मीले पाइप व्याण्ड प्रस्तुत गरेर पर्यटन उत्सवमा अझ थप रौनकता प्रदान गर्नेछ। व्याण्ड प्रस्तुतिपछि 4 देखि 6 बजेसम्म सांस्कृतिक कार्यक्रम सम्पन्न हुनेछ भने त्यसपछि आठ बजेसम्म धुमधामसँग भव्य साङ्गीतिक कार्यक्रम सम्पन्न हुनेछ। चिया अनि पर्यटन उत्सवको दोस्रो दिन झनै पर्यटकहरूको निम्ति नयॉं आकर्षकीय विषयवस्तुहरू रहने भएको छ। पहाडमा रिक्सा कुद्नेछ, नानीहरूलाई रिक्सामा चडेर कालेबुङको परिभ्रमण गराइनेछ। अहिले नारीहरूको रूचि बाइकप्रति औधी हुनथालेकोले  नगरमा नारीहरूको ब्यापक र्‍याली निस्कनेछ। पर्यटकहरूलाई अझ आकर्षण गराउन पाराग्लाइडिङ लाई मेलाग्राउण्डमा नै ल्याण्ड गराउने पनि योजना बनाएको छ। पर्यटक अनि स्थानीय मानिसहरूको निम्ति हवाइजहाजमा कालेबुङको परिदर्शन गराउने पनि आयोजकपक्षले मन बनाएको छ। यसरी नै लेप्चा हाउसको भ्रमणअवधी पर्यटकहरूले लेप्चाहरूको जातीय हतियार धनुकॉंड चलाउनेछन्‌। पहाड भित्रिएका पर्यटकहरूबीच वाद्य वादन प्रतियोगिता हुनेछ जो हेर्नलायकको विषय रहनेछ। यति मात्र होइन आसाम, मणिपूर, नागाल्याण्ड आदि भारतको अन्य राज्यकाहरूले कालेबुङमा सांस्कृतिक प्रदर्शनी गरेर पहाडसँग सांस्कृतिक विनिमय गर्नेछन्‌। आर्मीहरू मार्च पास, सांस्कृतिक कार्यक्रम अनि साङ्गीतिक कार्यक्रम नयॉं कलाकारहरूको साथमा दैनिक रूपमा चल्नेछ। पर्यटन उत्सवको तेस्रो दिन 28 दिसम्बरमा गल्फ खेललाई पहाडमा लोकप्रतियता दिन दुर्पिनमा गल्फ टुर्नामेन्ट सम्पन्न हुनेछ। सँधै टेलिभिजनमा हर्ने गरेको बालुवामा खेलिने वीच भलिबल कालेबुङ मेलाटारमा हुने भएको छ। गाउँ-बस्तीहरूका मानिसहरू कालेबुङ मेनरोडमा  धान नाचँ नाच्नेछन्‌ , पर्यटकसँगै शहरियाहरूले हेर्नेछन्‌ वस्तीका मानिसहरू धान बोकेर पारम्परिक नृत्य नॉंचेको। कसले के कस्तो जन्तुहरू रूचाएर घरमा पालेका छन्‌ ती  जन्तुहरूको प्रदर्शनी पनि सोही दिन हुनेछ। कार्यक्रमको अन्तिम दिन खेलकुदलाई प्रोत्साहित गर्दै कालेबुङभित्र दौडने प्रतियोगिता रन फर कालेबुङ सम्पन्न हुनेछ। जसमा बुढापाकाहरू, तन्नेरीहरू अनि नानीहरूबीच अलग-अगल दौड सम्पन्न हुनेछ। होटलका कुकहरू कस्तो खाना बनाउँछन्‌ त? उनीहरूबीच अनि होटल कुक अनि सर्भ प्रतियोगिता सम्पन्न हुनेछ। यसबाहेक पनि कालेबुङ नगर राती भएपछि बेहुलीझैँ शृङ्गारिएको हुनेछ। कार्यक्रमको समापन पनि बढो भव्यतापूर्व हुने भएको छ। कालेबुङमा सम्पन्न चिया अनि पर्यटन उत्सवको अन्तिम रात मेलाटार बलिउड   नाइटमा परिणत हुनेछ। इण्डियन आइडल प्रतियागीहरू कपिल थापा, चारू लगायत नामी-नामी बलिउड हस्तीहरूले चिया अनि पर्यटन उत्सवको अन्तिम दिनको रौनकता प्रदान गर्ने भएको छ। यसबाहेक पनि अन्य थुप्रै योजनाहरू आयोजकपक्षले बनाइरहेको बताइएको छ। महकुमा अधिकारी एलएन शेर्पाको विशेष देखरेखमा सम्पन्न हुने चारदिवसीय पर्यटन उत्सवलाई क्षेत्रिय युवाहरूले भरपूर सहयोग पुर्‍याइरहेका छन्‌। चिया अनि पर्यटन उत्सवलाई कालेबुङमा पालन गर्न  आयोजक पक्षसँग सम्बन्धित स्थानीय जमात सिद्धार्थ सुद अनि छरिङ दोर्जेको उपस्थिबीच आज एक पत्रकार सम्मेलनको आयोजना समशेर अलिले पर्यटन उत्सवलाई सफलीफूत पार्न सबैलाई सहयोग पुर्‍याइदिने आह्वान गर्दै अन्य विविध उत्सवमा हुने अझ थप कार्यक्रमहरूको पछिबाट खुलासा गर्ने बताएका छन्‌। कालेबुङमा 26 देखि 29 दिसम्बरसम्म सम्पन्न हुनलागेको पर्यटन उत्सवले पक्कै पनि देशी अनि विदेशी पर्यटकहरूलाई पहाड भित्राउनमा निक्कै ठूलो टेवा प्रदान गर्ने सम्भावना देखा परेको छ। 20 दिसम्बदेखि 5 जनवरीसम्म दार्जीलिङ पहाडमा चल्ने चिया अनि पर्यटन उत्सवले दार्जीलिङ पहाडको पुरानो विश्वप्रसिद्ध गौरवलाई फेरि फर्काल्याउनमा उर्जा दिने काम गर्नेछ।
 


0 comments: on "कालेबुङमा 26 देखि 29 सम्म टी एण्ड टुरिष्ट फेस्ट पर्यटकको निम्ति श्रृङ्गारिने कालेबुङ"