मुख्य समाचार :


आविप-मोर्चा एकै ठाउँ विकासको निम्ति आन्दोलन गर्ने

कालेबुङ, २६ नोभेम्बर|
छुट्टैराज्यको निम्ति होइन पहाड, तराई र डुवर्सको निम्ति गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन गर्ने भएको छ| आज डुवर्सको नगरकट्टामा आदिवासी विकास परिषद नगरकट्टा खण्डले आयोजना गरेको विरसा मुण्डा जन्म दिवसमा पुगेका गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले आदिवासी विकास परिषदसित मिलेर तराई, डुवर्स र पहाडको विकासको निम्ति संयुक्तरुपले आन्दोलन गर्ने बताए| यस अवसरमा मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्री अनि आदिवासी विकास परिषद्का निलम्बित अध्यक्ष जोन बारला, शुक्र मुण्डा अनि मिल्लते इस्लामियाका सचिव अब्दुल रजाकको पनि उपस्थिति रहेको थियो|
  नगरकट्टाको युरोपियन मैदनामा सम्पन्न कार्यक्रममा विरसा मुण्डाको तस्बीर अघि मोर्चा महासचिव रोशन गिरी, डा.हर्कबहादुर छेत्री, जोन बारला अनि अन्यले दीप प्रज्ज्वलन गर्दै शालिगमा माल्यार्पण गरे| युरोपियन मैदानमा मोर्चा अनि आदिवासी समर्थकहरूको व्यापक उपस्थिति रहेको थियो| यसै कार्यक्रमलाई सम्बोधन गर्दै रोशन गिरीले स्पष्ट पारे कि मोर्चाले आदिवासी विकास परिषद्सित सम्झौता गरेको छुट्टैराज्य गोर्खाल्याण्डको निम्ति होइन|
 माकपा सरकारले दुवै जातिबीच फाटो ल्याएर भीडाएको बताउँदै तिनले अहिलेको सरकारले आदिवासी र गोर्खाबीच भाइचारा र मित्रताको परिस्थिति ल्याएको बताए| तिनले जीएटीएले तराई र डुवर्सको प्रशस्त विकास हुने बताउँदै अहिलेसम्म माकपाको सरकारले दुवै जातिलाई शोषण गरेर राखेको बताए| तिनले मुख्यमन्त्री ममता व्यानर्जी तराई, डुवर्स र पहाडको विकास चहाने भएकोले यस्तोबेला दुइ जातिबीच फाटो हुनु नहुने अनि राज्यले गर्ने विकास कार्यलाई सहयोग गर्दै पहाड तराई अनि पहाडको विकासको निम्ति सबै अघि आउनुपर्ने बताए| तिनले आविप र मोर्चाबीचको मित्रतालाई भङ्ग गर्नेहरू सक्रिय रहेको बताउँदै कुनै पनि परिस्थितिमा यस्ता शक्तिलाई सफल बन्न दिनु नहुने बताए| तिनले गृहमन्त्रीसित शीघ्र नै आविप र मोर्चाको टोलीले भेट गर्ने पनि बताए| अर्कोतिर आविपका निलम्बित अध्यक्ष जोन बारलाले आविपले अनेकौं लडाई गरेको भए पनि कुनै पनि सफल हुन नदिएको अनि अहिले मुख्य मन्त्रीले तराई र डुवर्सको विकासको निम्ति कुरा गर्न सकिने बताएकोले तराई र डुवर्सको निम्ति एक हुनु अनिवार्य रहेको बताए| तिनले आविपको केन्द्रिय राज्य समितिले तराई र डुवर्सको परिस्थिति नबुझ्ने पनि बताए| स्मरणीय कुरो के छ भने मङपङ सम्झौतापछि मोर्चा र आविपले संयुक्तरुपले जनसभा गरेको यही प्रथम रहेको छ| यस अघि सानोरुपमा बैठकहरू गरेको भए पनि आज विरसा मुण्डाको १३६ औं जन्म दिवसलाई अवसर पारेर विराटरुपले जनसभा गरेको थियो| यसै कार्यक्रमपछि डुवर्समा आविपले आगामी दिनमा आफ्ना कार्यक्रमहरू अघि राख्ने देखिएको छ|
एउटा चाखलाग्दो कुरा के देखिएको छ भने मोर्चाको भातृ सङ्गठन युवा मोर्चाले पहाडमा छुट्टैराज्यको आन्दोलन गर्ने घोषणा गरिसकेको छ भने उता जीटीएमा हस्ताक्षर गर्ने मोर्चा महासचिव रोशन गिरी अनि प्रवक्ता डा. हर्कबहादुर छेत्री भने छुट्टैराज्यको निम्ति होइन विकासको निम्ति आन्दोलन गर्ने बताइरहेका थिए| यता हिजो मात्र हाइपावर कमिटीको रिपोर्ट राम्रो हुने बताउँदै त्यही रिपोर्टपछि जीटीएको गठनको प्रक्रिया शुरू हुने प्रवक्ता डा. छेत्रीले बताएका थिए भने आज आविपसित संयुक्तरुपले विकासको निम्ति लडाईं गर्ने बताइरहेका थिए| वास्तवमा नै मोर्चाले के गरिरहेको छ भन्ने कुरा नै अन्योलमा परेको छ|
आविपसित मिलेर सम्पूर्ण तराई र डुवर्स नै जीएटीएभित्र समावेश गर्ने हो कि हाइपावर कमिटीले दिएको रिपोर्टको आधारमा जीटीएमा भुभागहरू अन्तरभुक्ति हुने हो केही निश्‍चित र स्पष्ट कुरा मोर्चाको छैन| यता भातृ सङ्गठनले छुट्टैराज्यको आन्दोलन गरिरहेको छ भने उता विकासको मुद्दाको निम्ति मोर्चा अघि बढिरहेको तराई र डुवर्सका जनतालाई बताइरहेको छ| यता राज्य कमिटीले जोन बारलालाई सङ्गठन र पदको दुरुपयोग नगर्ने निर्देश गरिरहेको भए पनि तिनी आविप तराई डुवर्स क्षेत्रको प्रतिनिधिकोरुपमा नै कार्यक्रममा उपस्थिति थिए|

0 comments: on "आविप-मोर्चा एकै ठाउँ विकासको निम्ति आन्दोलन गर्ने"