मुख्य समाचार :


मोर्चा र आविपबीच बैठकःअब जीटीए होइन गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशन


मनोज वोगटी
कालेबुङ,30 अक्टोबर।
सम्झौता भइसकेको गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशन होइन अब गोर्खा जनमुक्ति मोर्चाले आदिवासी विकास परिषदसित मिलेर गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशनको दाबी गर्ने भएको छ। शनिवार गोर्खा जनमुक्ति मोर्चा अनि आदिवासी विकास परिषदका प्रतिनिधिहरूबीच कालेबुङमा बसेको बैठकमा लिएका सहमति अनि सम्झौता अनुसार आज मोर्चा अनि आविप दुवैले मङपङ फरेष्ट बङ्गलोको प्राङ्गनमा राखेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष विमल गुरूङ अनि आविप क्षेत्रीय समितिका अध्यक्ष जोहन बार्लाले आजैको दिनदेखि गोर्खा र आदिवासीबीच ऐतिहासिक मित्रता कायम भएको घोषणा गर्दै दुवै दलको पक्षमा जीएटीए (गोर्खाल्याण्ड अनि आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशन)को माग गरिने दाबी गरेका हुन्‌। मोर्चा अध्यक्ष विमल गुरूङले आविपसित धेरै कुरामा सहमति बनेको बताए पनि सबै कुरा आज घोषणा नगर्ने बताए। तिनले भने, पहाड, तराई अनि डुवर्समा रहेका समुदाय शोषित छन्‌। शोषित समुदायबीच अहिलेसम्म फुट थियो। आजको दिनदेखि आदिवासी र गोर्खाबीच जुन मित्रता गॉंसियो, यो केवल राजनैतिक प्राप्तिको निम्ति मात्र होइन। मुख्यमन्त्री ममता व्यानर्जीले पहाड, तराई र डुवर्समा शान्ति चहाने भएकोले शान्ति र विकासको निम्ति सधैँभरिलाई यो मित्रता गॉंसिएको हो। तिनले शीघ्र नै मुख्यमन्त्री ममता व्यानर्जी अनि गृहमन्त्रीसित मोर्चा र परिषदका संयुक्त टोलीले संयुक्त प्रस्ताव राख्ने बताए। नयॉं नाम अनि यसको क्षमताबारे जीटीएको निम्ति गठित हाइपावर कमिटीलाई पनि बुझाइने बताउँदै तिनले जीएटीए(गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशन)मा तराई र डुवर्सका सम्पूर्ण मौजाहरू (सम्पूर्ण तराई र डुवर्स)अन्तरभुक्त हुनुपर्ने बताउँदै जबसम्म अन्तरभुक्त हुँदैन तबसम्म जीएटीएको चुनाउ नहुने पनि घोषणा गरे। विमल गुरूङले तराई र डुवर्सका जनतालाई नयॉं रणनीतिबारे जनसभा गरेर बुझाउने बताउँदै जीटीएको सम्झौतामा नाम परिवर्तन गर्ने प्रावधान रहेको बताउँदै जीटीएको चुनाउपछि जीएटीए बनाइने पनि बताए। यता जोहन बार्लाले मोर्चासित भएको सहमतिबारे शीघ्र नै आविपको राज्य समितिलाई बुझाउने अनि संयुक्त रणनीति तयार पारेर राज्य अनि केन्द्रलाई संयुक्त टोलीले भेट गर्ने अनि प्रस्ताव राख्ने जनाएका छन्‌। जीएटीए भएपछि यसको सञ्चालनको निम्ति हुनुपर्ने धनराशि अनि जीटीएको निम्ति तय गरिएको 45 सीटमा पनि वृद्धि हुने विमल गुरूङले जनाएका छन्‌। आदिवासी मात्र होइन, तराई र डुवर्समा रहेका सबै समुदाय अनि गोर्खाहरूलाई वामफ्रण्ट सरकारले शोषण गर्‍यो। तराई, डुवर्स र पहाडबीच विभेदको परिस्थिति बनाइयो। अहिले ममता व्यानर्जीको सरकार आएको छ, जो राज्यमा शान्ति र विकास चहान्छन्‌। हामीले अहिले आएर बुझ्यौं आदिवासी र गोर्खाहरूबीच एकता नभएसम्म विकास र शान्ति सम्भव छैन। अब शान्तिको प्रक्रिया हामीले शुरू गर्‍यौं, विकासको प्रक्रिया सरकारले गर्नेछ, यसबारे मुख्यमन्त्री ममता व्यानर्जीलाई हामी अनुरोध गर्नेछौं-विमल गुरूङले भने।

0 comments: on "मोर्चा र आविपबीच बैठकःअब जीटीए होइन गोर्खाल्याण्ड एण्ड आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशन"